जीवन बिमाको नाफा ३८ प्रतिशतले बढ्यो

February 20, 2020

जीपी भण्डारी, नागरिक, फागुन ०८, २०७६ 

काठमाडाैँ - मुलुकमा सञ्चालनमा रहेका जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासमा दुई अर्ब ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। उक्त रकम गत आवको सोही अवधिको तुलनामा करिब ३८ प्रतिशतले बढी हो। १९ वटा जीवन बिमा कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेका थिए।

जीवन बिमा कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी नाफा निजी क्षेत्रको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सबैभन्दा कम सरकारी मातहतको राष्ट्रिय बिमा संस्थानले गरेको छ। सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले करिब ३५ करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त रकम गत आवको तुलनामा करिब २५ प्रतिशतले बढी हो। कम्पनीले गत आवको पुस मसान्तसम्म करिब २८ करोड पाँच लाख रुपैयाँ खुद नाफा गरेको थियो।

त्यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सो अवधिमा ३८ प्रतिशतले नाफा बढाएको छ। गत आवको पुस मसान्तसम्म करिब १७ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु अवाको सो अवधिमा करिब २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो बढी नाफा कमाउने कम्पनीमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले सो अवधिमा ७३ प्रतिशतले नाफा बढाएको छ। चालु आवको ६ महिनाको अवधिमा करिब १५ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ। गत आवको सो अवधिमा कबिर नौ करोड चार लाख रुपैयाँ खुद नाफा गरेको थियो।

त्यसैगरी, सो अवधिमा सबैभन्दा कम राष्ट्रिय बिमा संस्थानले गरेको छ। यो अवधिमा कम्पनीले तीन करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको सोही अवधिमा तुलनामा करिब तीन सय २६ प्रतिशतले बढी हो। कम्पनीले गत आवको पुस मसान्तसम्म करिब ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले करिब तीन करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा करिब ३१ प्रतिशतले बढी हो। कम्पनीले गत आवको पुस मसान्तसम्म करिब दुई करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो।

सो अवधिमा सानिमा लाइफ इन्स्योरेन्सको नाफा घटेको छ। गत आवको पुस मसान्तसम्म करिब चार करोड ८९ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आवको सोही अवधिमा १.८३ प्रतिशतले नाफा घटेको हो। कम्पनीले सो अवधिमा चार करोड ८० लाख रुपैयाँ नाफा गरेको जनाएको छ। त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले सो अवधिमा तीन साय २० प्रतिशतले नाफा बढाएको छ। गत आवको ६ महिनामा दुई करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड १३ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। जीवन बिमा कम्पनीले मुलुकका ७७ जिल्लामा सेवा विस्तार गरेको बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले बताए। ‘केही वर्ष अघिसम्म उच्च वर्गले जीवन बिमा गर्ने गरेको थिए,’ उनले भने, ‘बिमा कम्पनीको शाखा कार्यालय विस्तार भएपछि सबै वर्गले जीवन बिमा गर्न थालेका छन्।

हालसम्म कूल जनसंख्याको करिब २२ प्रतिशतमा बिमा पहुँच पुगेको बताउँदै उनले वैदेशिक रोजगार (म्यादी) बिमासहित करिब २७ प्रतिशतमा बिमा पहुँच पुगेको छ। यी कम्पनीले काठमाडाैँ र भक्तपुर बाहेकका जिल्लामा कृषि बिमासमेत गर्दै आएको सूचना अधिकृत अधिकारीले बताए। किसानको मनोवल बढाउन बढाउने उद्देश्यले विगत दुई वर्षदेखि सम्पूर्ण बिमा कम्पनीलाई कृषि बिमा अनिवार्य गरेको उनले बताए।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/117891/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More