News

जोखिमपूर्ण यात्रा

June 02, 2018

मोहन शाही, वसन्तप्रताप सिंह, कान्तिपुर दैनिक, १९ जेठ २०७५

गत वैशाख ८ मा सवारीचालक अनुमतिपत्र नै नभएका जिप मालिक २४ वर्षीय भीम भूलले डोटीको जोरागाउँमा ग१ज ५२७५ नम्बरको जिप दुर्घटना गराउँदा ४ जनाको ज्यान गयो । भूल कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा फरार भए । कालागाढ–जोरागाउँ साँघुरो र कच्ची सडकको घुम्तीमा जिप मोड्ने क्रममा दुर्घटना भएको थियो ।

  • गत मंगलबार डडेलधुराको गन्यापधुरा–२ गजरौलामा जिप दुर्घटनामा ४ जनाको ज्यान गयो । चालक विष्णु विक निदाउँदा से१ज३३० नम्बरको जिप अढाई सय मिटर तल खसेको थियो । अघिल्लो दिन बोगटान गाउँपालिका–६ पलाडीमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका ४ जनाको शव ओसार्न र १३ जना घाइतेको राति १ बजेसम्म उद्धारमा खटिएका विक बिहानै ४ बजे कोहलपुरका लागि दिपायलबाट हिँडेका थिए । ‘निद्रा छ, चलाउन सक्दिनँ’ भन्दाभन्दै करकाप गरिँदा दुर्घटना निम्तिएको थियो ।
  • २०७३ माघ १५ गते चैनपुरबाट रुवातोला जाँदै गरेको से१ज ५६२ नम्बरको जिप भोपुरको कपडेमा दुर्घटना भयो । चालक अनुमतिपत्र नभएका सुरेन्द्र बोहराले दुर्घटना गराएका थिए । घटनास्थलमै एक जनाको ज्यान गयो । उनले चलाएको यही जिप दुई महिनाअघि पनि बझाङको सुनिकोटमा दुर्घटना भएको थियो । २०७३ सालयता बझाङमा जिप दुर्घटनाका १६ घटना भए । ती दुर्घटनामा १४ जनाले ज्यान गुमाए भने २८ जना अंगभंग छन् ।

यी केही उदाहरण मात्र हुन् । डोटीमा मात्र एक वर्षमा ९ दुर्घटनामा ३० जनाले ज्यान गुमाए । सबै दुर्घटना ग्रामीण सडकमा भएका हुन् । अल्लारे उमेरका चालकका लापरबाही र मापदण्डविपरीत सडक दुर्घटनाका मुख्य कारक रहेको डीएसपी हेरम्ब शर्माले बताए ।

‘बिनाअध्ययन/अनुसन्धान पहाड चिरेर बनाइएका सडक पछिल्ला समय घातक बन्दै गएका छन्,’ शर्माले भने, ‘नियमन गर्ने निकाय सबै यसमा दोषी छन् ।’ राजपुर–चवरा चौतारा, दिपायल–मौवा–डौड, कालागाढ–मुगभरा, तिलताली–जिजौडामाडांै, बुडर–जोरायल, सहजपुर–बीपीनगर–अत्तरकाडा लगायतका ग्रामीण सडकमा लाइसेन्स नभएका चालक थुप्रै भेटिन्छन् । प्रहरीको पहुँच नभएको मौका छोपी भर्खरै चलाउन सिकेकाले गाडी गुडाउँदा बढी दुर्घटना हुने गरेको तथ्यांकले बताउँछ ।


‘सुरेन्द्र बोहरालाई असारमा दुर्घटना गराउँदा नै गाडी चलाउन नपाइने गरी कारबाही गरेको भए अर्काे दुर्घटना हुने थिएन, यात्रुले ज्यान गुमाउनुपर्ने थिएन,’ ट्राफिक प्रहरीका एक जवानले भने, ‘यहाँ त मनपरी छ । जसले जे गरे पनि हुन्छ, कारबाही नै हुँदैन ।’ उनले धेरैजसो जिप र मोटरसाइकल दुर्घटना बिनालाइसेन्सका चालकका कारण हुने गरेको दाबी गरे ।

‘१/२ महिना सहचालकको काम गरेकाले नै प्राय: गाडी चलाउँछन्,’ तल्कोट गाउँपालिका–२ का वडाध्यक्ष अक्कल कुँवरले भने, ‘यात्रुले लाइसेन्स माग्ने कुरा पनि भएन । सिकारु भन्ने थाहा हुँदाहुँदै चढ्नुपर्ने बाध्यता छ । नियन्त्रण गर्ने निकायले कुनै चासो दिँदैनन् ।’ १४/१५ वर्ष उमेरका केटाकेटीले गाडी चलाउने गरेको र विकल्प नभएपछि ज्यान जोखिममा राखेर सिकारुले हाँकेको गाडी चढ्नुपरेको उनले बताए ।

स्रोतका अनुसार जिल्लाभित्र यातायात सेवा दिइरहेको बझाङ सार्वजनिक यातायात समितिका एक सय ५ जिपमध्ये आधाभन्दा बढीमा बिनालाइसेन्सका चालक छन् । यो तथ्य पुष्टि गर्दै अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज सुरेश पुजारा भन्छन्, ‘दैनिक ३/४ जना लाइसेन्स नभएका चालक कारबाहीमा पर्ने गरेका छन् । अन्तभन्दा बझाङमा लाइसेन्सबिना गाडी चलाउनेहरू बढी भेटिन्छन् ।’ बिनाअनुमतिपत्र गाडी चलाएको भेटिए पहिलो पटक एक हजार जरिवाना गर्ने र दोस्रो पटक पनि भेटिए गाडी नियन्त्रणमा लिएर पुन: त्यही चालकलाई चलाउन नदिने सर्तमा गाडीधनीको जिम्मा लगाउने गरिएको उनले सुनाए ।

यसरी हेर्दा गल्ती दोहोर्‍याउनेलाई कारबाही नै हुँदैन । पुजाराका अनुसार यसका लागि कानुन नै छैन । ‘हामीले कानुनअनुसार कारबाही गर्ने हो,’ पुजाराले भने, ‘अनुमतिपत्रबिना गाडी चलाउनेलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।’ कतिपय घटनामा राजनीतिक दलका स्थानीय नेता तथा विभिन्न पदमा बसेकाबाट दबाब आउने भएकाले पनि ट्राफिक प्रहरीलाई काम गर्न कठिनाइ भइरहेको उनले बताए ।

भोपुर–रुवातोला, भाडेबगर–जयपृथ्वीनगर, बागथला–बिजगडा र चैनपुर–मयाना सडकमा चल्ने प्राय: जिपका चालकसँग सवारीचालक अनुमतिपत्र नहुने गरेको स्थानीय बताउँछन् ।
चार वर्षअघि जोरायलमा २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका पीडितका आँखा अझै ओभाएका छैनन् । साँघुरो ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । अहिले सडकको स्तरोन्नति र फराक बनाउने काम भइरहेको छ ।


दुई वर्षअघि बिसु पर्व मनाउन पुख्र्यौली थलो उच्चाकोट जाने क्रममा भर्खरै खोलिएको कच्ची सडकको साँघुरो मोड कटाउन नसक्दा भएको दुर्घटनामा संस्कृतिविद् डा. जयराज पन्तसहित परिवारका ८ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय पहाड चिरेर ग्रामीण सडक बनाउने क्रम तीव्र छ । भयानक दुर्घटना आँखै अगाडि देख्दा पनि बिनायोजना, तयारी र अध्ययन पहाड खोस्रने क्रम बढिरहेको छ । ‘यी त ज्यानमारा सडक नै हुन्, यसबाट समुदायले केही समयका लागि यातायात सुविधाबाहेक केही फाइदा लिन सकेका छैनन्,’ नेपाल बार एसोसिएसन डोटीका अध्यक्ष गोविन्द जोशीले भने, ‘अधिकांश कानुनसम्मत पनि छैनन्, जसलाई मन लाग्यो, माटो खन्ने काम गरेका छन् ।’

समुदायबीच आपसी प्रतिस्पर्धा, आफ्नो घरगाउँमा जसरी पनि सडक पुर्‍याउने होड, स्थानीय नेताको अदूरदर्शी निर्णय, डोजर तथा स्काभेटर भएका ठेकेदारबीच अस्वस्थ प्रतिस्पर्धालगायत कारण सडक निर्माणले तीव्रता पाएका हुन् । ‘४ घरका लागि पनि लाखौं खर्च गरेर सडक लगिएका छन्,’ बोगटान गाउँपालिका ६ गगुडाका हरिश चन्दले भने, ‘हिउँदमा सडक खोल्ने, वर्षात्मा भत्कने, अर्को वर्ष फेरि मर्मत गर्ने काम हुने गरेको छ । यसले दुर्घटना र बाढीपहिरोबाहेक केही निम्त्याउँदैन ।’

डोटीमा ४ वर्ष अवधिमा सवारी दुर्घटनामा ८६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । ४ वर्ष अवधिमा डडेलधुरामा ४७ जनाको सवारी दुर्घटनामै मृत्यु भएको तथ्यांक छ । जिल्ला ट्राफिक इन्चार्ज गणेशसिंह नगरीका अनुसार यी सबै ग्रामीण सडकमै भएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबैभन्दा बढी लगानी सडकमै भएको छ । क्षेत्रीय सडक डिभिजन कार्यालय डोटीका अनुसार डडेलधुरा र डोटीमा मात्रै स्थानीय तहहरूले सानाठूला गरी दुई सय १३ वटा ग्रामीण सडक खोलेका छन् । डडेलधुराको स्याउलेदेखि डोटीको दिपायलसम्म केआईसिंह राजमार्ग सडक खण्डको ठाउँठाउँमा बर्सेनि पहिरो जाँदा वर्षायाममा यातायात ठप्प हुने गरेको छ । तर सोही सडक खण्डलाई असर पर्ने गरी हचुवाका भरमा सिरानबाट ग्रामीण सडक खोल्ने क्रम रोकिएको छैन ।

डडेलधुराको गन्यापधुरा गाउँपालिकाअन्तर्गत मष्टामाडौं, कैलपाल, गणेशपुर, असीग्राम गाउँमा लगिएका ग्रामीण सडक ८ भन्दा बढी छन् । डोटीतर्फका बानेडुंग्रीसैन, उच्चाकोट, मुडभरातर्फ लगिएका ६ भन्दा बढी सडक छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले केआईसिंह राजमार्गसँग जोडिएका सडकहरू जनप्रतिनिधि आउनुपूर्व नै ट्रयाक खोलिएको भन्दै पन्छिन खोजे ।

तर सडक डिभिजन कुलपातेका इन्जिनियर महानन्द जोशीले अधिकांश सडक नियमविपरीत रहेको बताउँछन् । उनले मुख्य राजमार्गसँग शाखा जोड्न विभागसँग अनुमति लिई वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र काम गर्न पाइने तर्क गरे । ‘केआईसिंह राजमार्गसँग खोलिएको सडकको वैधताबारे डिभिजनमार्फत पटक–पटक परिपत्र गरिसकेका छौं,’ जोशीले भने, ‘तर कुनै रेस्पोन्स भएको छैन । यसले दूरगामी असर पक्कै पार्ने छ ।’

दिनहुँ जुध्छन् गाडी
जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने खोडपे–बझाङ सडक खण्डका घुम्तीमा दिनहुँ सवारीसाधन जुध्छन् । साँघुरा घुम्तीमा अनियन्त्रित गतिका सवारीसाधन गुड्ने क्रम बढेकाले यो राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको गुनासो चालक र यात्रुको छ । ‘गन्तव्यमा नपुगुन्जेल मुटु ढुकढुक भइरहन्छ,’ एक यात्रु शान्ति विकले भनिन्, ‘हरेकजसो मोडमा गाडी ठोक्किन खोज्छ ।’ जेठ दोस्रो साता धनगढीबाट बझाङ आइपुगेकी उनले यात्रा अवधिभर ६ ठाउँमा गाडी जुध्न खोजेको र चालकले एक्कासि ब्रेक लगाउँदा बसभित्र भएका केही मानिस सिटमा ठोक्किएर घाइते भएको बताइन् ।

‘दिनकै तीन/चार ठाउँमा गाडी नजुधेको त कुनै दिन हुँदैन,’ बसचालक करन साउदले भने, ‘आफूले जति नै होसपूर्वक चलाए पनि अर्काेतिरबाट बत्तिएर आइरहेका हुन्छन् । सडक साँघुरो छ,’ घुम्तीमा हर्न नबजाई हाँक्ने कारण दैनिकजसो दुर्घटना हुने गरेको उनले सुनाए ।

गत साउनमा खोडपे–बझाङ सडकको बैतडीको सिद्धेश्वरमा पर्ने ज्याफुलेकमा धनगढीबाट बझाङ आइरहेको बस दुर्घटना भयो । साँघुरो घुम्तीमा अर्काे गाडीलाई उछिन्न खोज्दा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाए । २६ जनाभन्दा बढी घाइते भए । यस राजमार्गमा विभिन्न समयमा भएका बस दुर्घटनामा मात्र २७ जनाले ज्यान गुमाइसकेका छन् । सबै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० भन्दा बढी छ ।

प्राविधिक रूपमा साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने गरी बनाइएका राजमार्गमा ठूला सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको स्तर नहेरी यात्रुलाई सुविधा दिने नाममा डिलक्स, मेट्रो आदि नाम दिएर बढी सिट क्षमताका, लामा बस सञ्चालन गर्दा जोखिम बढेको चालकको भनाइ छ । ‘कुनैकुनै घुम्तीमा त हंसले ठाउँ छोड्छ,’ चालक विष्टले भने, ‘गन्तव्यमा सुरक्षित पुगिन्छ भनेर ढुक्क हुने अवस्था छैन । सडक नै त्यस्तै छ । जे भए पनि गाडी त चलाउनैपर्‍यो ।’ उकालोओरालो धेरै र साँघुरो सडकमा ठूला गाडी जतिबेला पनि जोखिममा रहेको उनले सुनाए ।

अर्का चालक भुवन भट्ट पनि सडक साँघुरो हुँदा ठूला गाडी बढी जोखिममा रहेको बताउँछन् । ‘ठिक्क गाडी मात्र अटाउने चौडा सडक छन्,’ उनले भने, ‘गाडी लामालामा भएकाले कतिपय ठाउँमा मोड नै पुग्दैन । बडीले भित्ता छुने वा पछाडिको पांग्राले सडक छाड्ने खतरा हुन्छ । होसियार नभए यो रोडमा गाडी हाँक्नै मुस्किल छ,’ उनका अनुसार साँघुरो ठाउँमा साइड दिन मात्रै आधा किलोमिटरसम्म ब्याक गर्नुपर्छ । घुमाउरो बाटोमा ब्याक गर्दा लामा गाडी बढी जोखिम हुने अनुभव उनको छ ।

३ मिटर ५० सेन्टिमिटर चौडाको सिंगल लेन सडकमा धेरै सिट क्षमताका चौडा र लामा गाडी चलाउनु जोखिमपूर्ण हुने चालकहरू बताउँछन । खोडपे–बझाङ सडकको कडा चट्टान भएका धेरैजसो स्थानमा सडकको चौडाइ ३ मिटर मात्र छन् तर यहाँ धेरै ठूला गाडी चल्छन् । साँघुरो सडकका कारण गाडी ठोक्किने समस्या रहेको यातायात व्यवसायी बताउँछन् ।

दैनिकजसो गाडी जुध्ने भए पनि ट्राफिक प्रहरीको जानकारीमा भने सीमित घटना मात्र आउने गरेका छन् । ‘ठूलै घटना भइहाल्यो वा आपसी समझदारी भएन भने मात्र हामीलाई जानकारी गराउँछन्,’ ट्राफिक प्रहरी पोस्ट बझाङका पूर्वइन्चार्ज इन्द्रराज भट्टले भने, ‘नभए आफैं जुध्छन् । आपसी समझदारीमा कुरा मिलाउँछन् । प्रहरीलाई जानकारी नै हुँदैन ।’ ट्राफिक प्रहरीले पहाडी बाटोमा गाडी चलाउँदा अपनाउनुपर्ने सावधानीबारे चालकलाई पटक–पटक जानकारी गराए पनि अटेर गर्दा दुर्घटना बढेको उनले बताए ।

जताततै खाल्डा 
जयपृथ्वीबहादुर सिंह मार्गको योजना कार्यालयले काम सम्पन्न गरी हस्तान्तरण गरेको एक वर्ष नबित्दै यो सडकका अधिकांश पिच काम नलाग्ने गरी उप्किएको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र १ सय ८ किलोमिटर लम्बाइको यो सडकमा पिच उप्किएर दजनौं स्थानमा खाल्डाखुल्डी छन् । कतिपय स्थानमा सडकमै पानीका तलाउ जमेर सास्ती थपिएको छ । ‘सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने भइसकेको छ,’ जिप चालक सन्तोष धामीले भने, ‘बाटो नराम्रो नभएकैले ठाउँठाउँमा गाडी बिग्रन्छ । यो बाटोमा चल्ने नयाँ गाडी पनि छिट्टै बिग्रिन्छन् ।’ बाटोमा गाडी बिग्रँदा यात्रुलाई झन् बढी सास्ती छ । भनेको समयमा तोकिएको गन्तव्य पुग्न ढिलो हुने, गाडी हल्लिएर बिरामीलाई यात्रा गर्न कठिन हुने गरेको अनुभव यात्रु मंगल खड्काले सुनाए । उनले भने, ‘बागथलादेखि चैनपुर पुग्दासम्म गाडी हल्लिएर सद्दे मान्छे पनि बिरामीजस्तै भइसक्छ । पिच भएको एक वर्ष नपुग्दै कच्चीभन्दा खत्तम भइसकेको छ ।’

६ वर्ष पहिले पिच गरिएको खोडपे–बागथलासम्मको खण्डमा खासै समस्या नभए पनि ४ वर्षअघि सुरु बागथला–चैनपुर ४० किलोमिटर खण्डका प्राय: पिच उप्किसकेको छ । ओटाशिल प्रविधिमा आधारित यस सडकको कालोपत्रे गुणस्तरहीन भएकाले छिटो बिग्रिएको आरोप स्थानीयको छ । स्थानीय कलक खत्री भन्छन्, ‘पिच गरेर नसक्दै धेरै ठाउँमा उप्किन थालिसकेको थियो । गुणस्तरभन्दा छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउन ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो भएको हो ।’

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड लागतमा कालोपत्रे गरिएको यो सडकको बागथला–झोता खण्ड लुम्बिनी र लोहनी निर्माण सेवा, झोता–तमैल खण्ड कालिका र याक्थुहाङ निर्माण कम्पनी तथा तमैल–भोपुर खण्ड लामा र गोल्डेन गुड निर्माण कम्पनीले निर्माण जिम्मा लिएका थिए ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/06/02/152790321534095132.html