News

जोडिँदै किमाथांका

April 07, 2018

दीपेन्द्र शाक्य, कान्तिपुर दैनिक, २४ चैत्र २०७४

‘२०६४ मा चुनाव जितेकाले संविधान निर्माण गर्‍यौं भनेर टारे । २०७० मा जित्नेहरूले संविधान दियौं भन्छन् । अहिले जित्नेले किमाथांका–विराटनगर सडक निर्माण पूरा गरिदेलान् भन्नेमा विश्वस्त छौं,’ गुनासोसँगै आशा व्यक्त गर्ने यी हुन्– उत्तरी भोटखोला क्षेत्रमा पर्ने हटियाका थुदोक भोटे ।

यो सडकलाई नेताहरूले पटकपटक चुनावी नारा बनाए पनि निर्माणलाई गति दिन नसकेको स्थानीयको गुनासो छ ।

खण्डखण्डमा निर्माण भइरहेको यो सडक कतिपय ठाउँमा स्थानीय र आयोजनाबीच विवादले काम सुस्त गतिमा भइरहेको छ । यद्यपि, दुई वर्षभित्र किमाथांका पूर्वी क्षेत्रको राजधानी विराटनगरसँग जोडिनेमा स्थानीय आशावादी छन् ।

गएको वर्ष नाकाबन्दी हुँदा यो सडकको खुबै चर्चा भएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्री हेलिकप्टर लिएर आए । दुई वर्षमा सडक निर्माण गरिदिने वाचा गरेर फर्किए । त्यसअनुसार कामले गति भने लिएन । किमाथांका–खाँदबारी सडकको काम अति सुस्त भइरहेको थुदोकले बताए ।

किमाथांका–विराटनगर जोडिन अब ४३ किलोमिटर मात्र बाँकी छ । उत्तरदक्षिण कोसी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया दुईतिरबाट सडक खनिरहेको छ । सिन्धुपाल्चोकबाट डोजर र इन्धन तिब्बत हुँदै ल्याएर किमाथांकातिरबाट १४ किमि सडक निर्माण भइसकेको छ । भीरको बाटो भएकाले १४ किमि सडकको डोब खन्नै ठेकेदारलाई झन्डै ३ वर्ष लाग्यो । ठूल्ठूला भीरमा डोजर चलाउने मान्छे भेट्नै समय लागेको ठेकेदारको भनाइ छ । सदरमुकाम खाँदबारीबाट खनिएको सडक पनि हटियाको गोलासम्म पुगिसकेको छ । त्यहाँसम्म ८१ किमि सडक निर्माण भएको छ । आयोजनाले हटियाबाट हाङदाक खोलासम्म २१ किलोमिटर सडक पनि खनिरहेको छ । यो रुटमा १४ किमि सडक निर्माण भइसकेको आयोजनाले जनाएको छ । केही स्थानमा आयोजनाका कर्मचारी र स्थानीयबीच विवादले सडक निर्माण सुस्त छ ।

विराटनगर–किमाथांका सडकको लम्बाइ ३ सय ६२ किलोमिटर हो । विराटनगरको रानीबाट खाँदबारी २ सय किमि सडक निर्माण भइसकेको छ । खाँदबारी–किमाथांका १ सय ६२ किलोमिटर ट्रयाक निर्माण गर्ने जिम्मा पाएको उत्तरदक्षिण कोसी सडक आयोजनाका डिभिजन प्रमुख पशुपति ज्ञवालीले खाँदबारी हुँदै हटियाको स्याक्सिलासम्म ८१ किमि कच्ची सडक निर्माण भइसकेको बताए । जसमध्ये हटियाको बरुण दोभानसम्म कच्ची सडक पुगिसकेको छ । यो सडकमा सुक्खायाममा साना सवारीसाधन चल्न थालेको उनले जानकारी दिए ।

किमाथांकाबाट छुमसुरतर्फ ढुंगेगोप्तासम्म १४ किमि कच्ची सडक निर्माण भइसकेको छ । अब ४३ किमि सडक खन्न बाँकी छ । यो पूरा भए किमाथांका–विराटनगर सडक जोडिने थियो । द्रुत गतिमा सडक निर्माण भए २ वर्षभित्र किमाथांका जोडिने उनको भनाइ छ । ‘कसैले विरोध र अवरोध नगरे तीव्र गतिमा हामी सडक निर्माण गर्ने थियौं,’ उनले भने, ‘सडक खन्दै जाँदा हरेक किलोमिटरमा विवाद आउँछ, जसका कारण महिना दिनसम्म काम रोकिन्छ ।’ ज्ञवालीका अनुसार सडकको स्वीकृत डिजाइन र रेखांकनमा समस्या आउने गरेको छ । किमाथांकामा यही विवाद देखिएपछि त्यहाँबाट खनिएको सडकको काम १४ किमिमा पर्ने ढुंगेगोप्तामा रोकिएको छ । सरकारी घोषणाअनुसार दुई वर्षभित्र ट्रयाक पूरा गरेर स्तरीय सडक तयार पार्न भने सहज छैन । योजना प्रमुख ज्ञवालीका अनुसार हिमनदी बरुणलगायत २० वटा ठूला खोलामा निर्माण हुने पुलको डिजाइन बल्ल तयार हुँदै छ । ‘सडक निर्माण भइसकेको स्थानमा भने हिउँदका बेला बरुण दोभानसम्म (७९ किमि) मा साना सवारीका साधन र ट्याक्टर चलिरहेका छन्,’ उनले भने, ‘गाउँलेलाई यसले ठूलो सहयोग पुगेको छ ।’ तीन दिन हिँडेर आउने स्थानीय अब १२ घण्टामै गाडीमा खाँदबारी आउन थालेका छन् ।

‘किमाथांका–खाँदबारी मोटरबाटो निर्माण नागरिक समिति’ का सदस्य तथा पत्रकार जीवनाथ खनाल आयोजनाका कर्मचारी र स्थानीयबीच विवादले ट्रयाक खोल्ने काममा ढिलाइ भइरहेको बताउँछन् । ६ महिना चल्ने र हिउँ पर्न सुरु भएपछि ६ महिना बन्द हुने निर्जन हिमाली पेजुङ क्षेत्रबाट सडक निर्माण गर्न नदिने पक्षमा स्थानीय रहेको उनले बताए ।

उत्तर–दक्षिण सडकको ट्रयाक खन्न खण्डखण्ड ठेक्का लगाइएको छ । जसमध्ये हटियाको तेजु खोलादेखि हुङहुङको हाङदाक खोला खण्डको ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले निर्धारित समयमै काम सक्ने देखिएको छ,’ उनले भने, ‘तर किमाथांका–छुमसुर खण्डको ठेकेदार एपेक्स र फ्याक्सिन्दा–तेजुखोला खण्डको ठेकेदार याकथुम्बा जेभीको काम सुस्त छ । विवादका कारण काम तीव्र गतिमा हुन सकेको छैन ।’

भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे विवाद नगरी सडक निर्माण गर्नुपर्ने बताउँछन् । ‘छिटो सडक निर्माण भए हिँडेर सदरमुकाम जाने समस्या हट्ने थियो,’ उनले भने, ‘जताततै विवाद छ, कसरी सडक निर्माण तीव्र गतिमा हुन्छ ?’ पुरानो डिजाइनअनुसार सडक निर्माण गर्न उनले माग गरे । किमाथांकाबाट तीन दिन पैदल झरेपछि हटियाको स्याक्सिला, गोला पुगिन्छ । यहाँबाट भने २ महिनाअघिदेखि साना सवारीसाधन गुड्न थालेको उनले सुनाए ।

किमाथांका छिटो, छोटो र सस्तो नाका बन्ने संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए । ‘यसलाई सरकारले विशेष चासो दिनुपर्छ । चीनको चाँगासम्म सडक आएकाले सरकारले चाहे तत्कालै खोल्न सक्छ,’ उनले भने । यो सडक जोडिएपछि प्रदेश १ मा विकासको ढोका खुल्ने उनले बताए ।

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम चीनको तिब्बत जोडने किमाथांका नाकासम्म दुई वर्षभित्र सडक पुर्‍याउने बताउँछन् । ‘चाहिएजति बजेट ल्याउने काम निर्वाचित जनप्रतिनिधिको हो,’ उनले भने । समयमै काम सकिए किमाथांका चीनसँग जोडिने अन्य ६ वटा नाकाभन्दा सहज हुनेछ । ‘यो नाका सबै मौसममा सञ्चालन गर्न सकिने, चीन–नेपाल–भारत जोड्ने सबैभन्दा छोटो नाका हुनेछ,’ उनले भने, ‘त्यसपछि किमाथांका दुई मुलुक जोड्ने पुल बन्न सक्छ ।’

किमाथांकाबाट पारि हेर्दा चिनियाँ भूभागमा गाडी गुडिरहेका देखिन्छन् । ७० नम्बर पिलरले दुई देशको सीमा छुट्याएको छ । सीमामा वैवाहिक आदानप्रदान छ । चीनतर्फ तीव्र विकास, नेपालतिर कुनै पूर्वाधार छैन । ‘उनीहरू धनी हुँदै गए, हामी गरिबीबाट माथि उठ्न सकेका छैनांैं,’ कांग्रेस सभापति दिपनकुमार श्रेष्ठले भने।

सडक खन्न १ रुपैयाँ
संखुवासभा– यो सडक निर्माणको विषय संस्थागत रूपमा २०५९ सालमा उठेको हो । युवाले किमाथांका–खाँदबारी मोटरबाटो निर्माण नागरिक समिति गठन गरेर १ रुपैयाँ अभियान सञ्चालन गरे । यो समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो तर काम प्रभावकारी रूपमा गर्न सकेन ।

‘अरूले वास्ता नगरे पनि तपार्इं वास्ता गर्नुस्, किमाथांका–खाँदबारी मोटरबाटो बनाउन एक रुपैयाँ दिनुस्’ नाराका साथ सडक निर्माणका लागि २०६४ मा जीवनाथ खनालले अगुवाइ गर्दै १ रुपैयाँ अभियान सुरु गरेका थिए । त्यतिबेला संकलन भएको रकम अहिले पनि खाँदबारीस्थित नेपाल बैंकको खातामा सुरक्षित छ ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/04/07/152306400733244234.html