ज्यान गुमाउने पाँच वर्षयताकै कम

August 06, 2017

रुद्र खड्का, नागरिक दैनिक, २२ श्रावण २०७४ 

रोजगारीका अवसर खोज्दै विदेश जानेको संख्या पछिल्लो समय बढे  पनि त्यहाँ हुने जोखिम भने घटेको  छ। वैदेशिक रोजगारी असुरक्षित भइरहेको गुनासो बढेको बेला गत वर्ष विदेशमा पाँच वर्षयताकै सबैभन्दा कम नेपालीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। गत आर्थिक वर्ष ०७३/७४ मा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या ६ सय ८७ मात्र  छ। यसमा महिला १७ जना छन्। यो पाँच वर्ष यताकै सबैभन्दा कम हो।

आर्थिक वर्ष  ०६८/६९ मा रोजगारीका लागि विदेश गएका नेपालीमध्ये ६ सय ४६ जनाले ज्यान गुमाएका थिए। त्यसपछि यो संख्या प्रत्येक वर्ष बढ्दै गएको थियो। गत वर्ष भने यसमा कमी आएको हो।

यस्तै, गत वर्ष वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या त्यसअघिका निरन्तर दुई वर्षको तुलनामा दुई सय हाराहारीले कम हो। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष ०७२/७३ मा काम गर्न विदेश गएका नौ सय पाँच र त्यसभन्दा अघिल्लो वर्ष ०७१/७२ मा एक हजार दुई नेपालीको ज्यान गएको थियो।

पछिल्लो समयमा विदेश जानुअघि दिइने जनचेतना नै मुत्युदर घट्नुका मुख्य कारण भएको बोर्डका अधिकारी बताउँछन्। युवायुवतीका लागि बाध्यात्मक बनेको वैदेशिक रोजगारीप्रति विदेशमा कार्यरतले सिकाउने सुरक्षा उपायले पनि मृत्युदर घटाएको हुन सक्ने अुनमान गरिएको  छ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक सीप सिकाउन अझै आवश्यक रहेको बताए। 'सीप सिकाएर पठाउन सक्ने हो भने एकातिर उनीहरू थप सुरक्षित हुन्छन् भने अर्कोतर्फ पारिश्रमिक पनि बढी हुन्छ,' उनले भने।

रोजगारीका लागि साउदी पुगेका झापा, शनिश्चरेका बालकृष्ण राईले वैदेशिक रोजगारीमा जाने नेपालीमा पछिल्लो समय सुरक्षित रहने तरिकाबारे चेतना बढेको बताए। आठ वर्षदेखि साउदी आउने, जाने गरिरहेका राईले पहिला पहिला नेपालीलाई सडक पार गर्नदेखि लिएर एसी चलाउन समेत नआउने गरेको बताए। 'अहिले भने विदेश आउने बेलादेखि नै धेरैले सुरक्षाका धेरै उपाय सिकिसकेका हुन्छन्,'  उनले भने, 'यसको मतलब पहिलेभन्दा चेतना बढेको छ।' सुरक्षित रहने तरिकाबारे कामदारलाई गम्भीरतापूर्वक सिकाउन सके वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सकिने राईको अनुभव छ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी वैदेशिक रोजगारीलाई अझै सुरक्षित बनाउन आवश्यक रहेको बताउँछन्। अदक्ष कामदारको संख्या घटाउन सकियो भने जोखिममा पर्नेको संख्या अझै घट्ने उनको भनाइ छ। 'अदक्ष कामदारको संख्या घटाउन नसक्दा र अभिमुखीकरण दिने संस्थाले रोजगारीमा जाने देशबारे राम्रोसँग जानकारी नदिँदा धेरैको ज्यान जाने गरेको पाइएको छ,' अधिकारीले भने।

ज्यान गुमाउनेमध्ये सबभन्दा धेरै मृत्युको कारण मुटुसम्बन्धी समस्या पाइएकोे छ। मुटु रोगसँगै सडक दुर्घटनामा पनि धेरैले ज्यान गुमाउने गरेका छन्। विभागका अधिकारीका अनुसार रोजगारदाता देशको सडकको अवस्थाबारे थाहा नपाउँदा कामदार दुर्घटनामा पर्छन्। त्यस्तै, कतिपय कामदारले एसीसमेत चलाउन नजान्नु र अत्यधिक मदिरा सेवन गर्नु पनि मृत्युको कारण बन्ने गरेको पाइएको छ। अधिकारीलेे भने, 'विदेशमा सडक कसरी पार गर्नुपर्छ र अत्यधिक गर्मी हुने ठाउँमा एसीलाई न्यूनतम कति चिसोमा झार्नुपर्छ भन्नेबारेमा पनि बुझाउन आवश्यक छ।'

 वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई तालिम दिन बोर्डले एक सय १६ अभिमुखीकरण संस्थालाई मान्यता दिए पनि कतिपयले अभिमुखीकरण तालिम नदिई प्रमाणपत्र दिने गरेको आरोप छ। विभागका प्रवक्ता अधिकारी अभिमुखीकरण गर्ने संस्थाले राम्रोसँग काम नगरेको जानकारी हुँदाहुँदै पनि कर्मचारी अभावले अनुगमन गर्न नसकिएको बताउँछन्।

'विभागको मात्र वैदेशिक रोजगारको क्षेत्र सुधार्ने दायित्व होइन भन्ने नबुझेसम्म अहिलेका विकृति हटाउन सकिँदैन,' उनले भने। अभिमुखीकरण तालिम दिने संस्थाका प्रतिनिधि र मेनपावर कामदारलाई विदेश पठाउने र उनीहरूसँग रकम असुल्ने दाउमा मात्र रहने गरेको अधिकारीहरुको दाबी छ। तर, मेनपावर र अभिमुखीकरण संस्था सञ्चालक भने आफ्नो बलबुताले भ्याएसम्म विदेशबारै जानकारी दिने गरेको तर कामदारले नटेर्दा मृत्यु र अंगभंग हुने क्रम नरोकिएको जिकिर गर्छन्।

स्रोत: http://www.nagariknews.com/news/24854/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More