News

झापामा १५ बालबालिकालाई अटिजम

December 13, 2018

रविन भट्टराई, अन्नपुर्ण, २६ मङ्सिर २०७५  

बिर्तामोड : झापामा १५ बालबालिकालाई अटिजम भएको एक तथ्याङ्कले देखाएको छ ।

अटिजन केयर नेपाल सोसाइटीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार यस जिल्लामा मात्रै १५ जना बालबालिका अटिजमको समस्याबाट पीडित छन् । सोसाइटीका प्रशासनिक प्रमुख सुरेन्द्र बज्राचार्यका अनुसार हालसम्म सोसाइटीको सम्पर्कमा आएका र अनुगमनका क्रममा भेटिएका बालबालिकाको आधारमा यस्तो तथ्याङ्क भेटिएको हो ।

बुधबार झापाको बिर्तामोडमा गरिएको अटिजम सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरिएको थियो । प्रस्तुत तथ्याङ्क अनुसार देशभर ३ लाखमा अटिजमको समस्या छ ।

प्रमुख सुरेन्द्र बज्राचार्यले भने, ‘नेपालको तथ्याङ्कमा हालको अवस्था ३ लाख हो, जसले सवल जीवन जिउन पाइरहेका छैनन् । अर्थात् उनीहरु जन्मजात नै अटिजम भएर जन्मिएका हुन् ।’

अटिजम प्रायः जन्मेको १८ महिनादेखि २ वर्षभित्र प्रष्ट रुपमा देखिने र यो जीवनभर रहिरहने बज्राचार्य बताउँछन् । अटिजमका लक्षण फरक–फरक हुने पनि उनको भनाइ छ । अटिजम केयर नेपाल सोसाइटीले देशभर अटिजमको अवस्था र संरक्षणका विषयमा काम गरिरहेको बताइन्छ ।

सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाइ हुनु, सामाजिक सीप बुझ्न र प्रयोग गर्न नसक्नु, दोहो¥याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु अटिजमका जटिल समस्या हुन् ।

यो रोग नभइ फरक क्षमता भएकाले बालबालिकालाई त्यसै अनुरुप व्यवहार गर्नुपर्ने सोसाइटीका प्रमुख बज्राचार्यको सुझाव छ । अटिजमका लक्षण हरेक व्यक्तिमा फरक हुने गरेकाले यसलाई ‘स्पेक्ट्रम’ विकारको रुपमा पनि लिइन्छ । पछिल्लो तथ्याङ्क अनुसार हरेक ६८ जना जन्मेका बालबालिकामध्ये १ जनालाई अटिजमको अवस्थाले ग्रसित पार्छ । संयुक्त राष्ट्रसंघले निकै चासो देखाउँदै अप्रिल २ लाई विश्व अटिजम जनचेतना दिवसका रुपमा घोषणा गरेको छ ।

 सोर्त:http://annapurnapost.com/news/115015