बिनोद भण्डारी, कान्तिपुर राष्ट्रिय दैनिक, ३ कार्तिक २०७४
सरकारले टयाक्टर आयातमा भ्याट लागू गरेसँगै कम्तीमा डेढ लाखसम्म मूल्य बढेपछि कृषि यन्त्रले खेती गर्ने किसान मारमा परेका छन् । भ्याट छुटमा आयात भएका टयाक्टर वास्तविक किसानको हातमा नपरी उद्योगी व्यवसायीको होल्डमा पुगेको भन्दै सरकारले यस वर्षदेखि टयाक्टर आयातमा भ्याट लागू गरेको हो ।
यसअघि कृषि प्रयोजनका नाममा टयाक्टर आयात हुँदा भ्याट छुट थियो । कृषि प्रयोजनका नाममा भ्याट छुटमा आयात भएका टयाक्टर कृषि कर्ममा भन्दा अत्यधिक उद्योगी व्यवसायीले ढुवानीमा प्रयोग गरेपछि सरकारले आर्थिक ऐन २०७४ मार्फत भ्याट लागू गरेको हो ।
सरकारले टयाक्टरको भन्सार महसुलमा चाहिँ बृद्धि गरेको छैन । टयाक्टरमा ५ प्रतिशत भन्सार महसुल छ ।
पछिल्लोपटक १ हजार ८ सय सीसीको (हाते टिलर) मा बाहेक त्यसभन्दा बढी सिसी पावर भएका सबै टयाक्टरमा भ्याट लागू भएको छ । पावर टिलरबाहेक अरू सबै टयाक्टर ३ हजार ५ सय सीसी पावरका हुन्छन । पूर्वाञ्चलमा स्वराज टयाक्टर आयात गर्ने महावीर अटोमोबाइलका ओम शर्माले भने ती सबै टयाक्टरमा भ्याट लागू भएपछि हरेक टयाक्टरको मूल्य कम्तीमा डेढ लाख रुपैयाँसम्म बढेको छ ।
व्यवसायीले टयाक्टर आयात गर्दा भन्सारमा तिरेको भ्याट किसानसँग असुल्ने हो । टयाक्टरमा भ्याट लागू हुँदा व्यवसायीलाई कुनै मार पर्दैन । उनले भने, ‘व्यवसायीले त असुलिहाल्छ तर मार किसानलाई परेको छ ।’
राज्यको यो नीतिले कृषिकर्म गर्ने किसान मारमा परेको किसान संघ मोरङका अध्यक्ष केदार थापाको गुनासो छ । किसानले पाउँदै आएको सुविधा पनि सरकारले कटौती गरेको छ । ‘कृषि कर्मका लागि एक त मजदुर पाइँदैन । गोरु र राँगाले जोतेर खेतीगर्ने चलन हटिसक्यो,’ थापाले भने, ‘टयाक्टर खरिदमा पाउँदै गरेको भ्याट छुटको सुविधा पनि कटौती भएपछि वास्तविक किसान स्वत: मारमा परेका छन् ।’
यसअघि कुनै पनि ब्रान्ड र क्षमताका टयाक्टर आयातमा भ्याट छुट थियो । विराटनगर भन्सारका अनुसार आर्थिक ऐन २०७४ ले १ हजार ८ सय सीसीसम्मका टयाक्टरलाई भ्याट छुट र त्योभन्दा बढी सीसी भएका टयाक्टरमा भ्याट लाग्ने उल्लेख छ ।
मुलुकमा वार्षिक सरदर ७ हजार टयाक्टर कृषि प्रयोजनाका नाममा पूर्ण रूपमा भ्याट छुट र ५ प्रतिशत भन्सार महसुलमा भित्रिँदै आएको छ । कृषि प्रयोजनाका नाममा भ्याट छुटमा भित्रिएका टयाक्टर किसानको हातमा नपरी उद्योगी व्यवसायीको हातमा बढी पुगेको गुनासो सर्वत्र भएपछि सरकारले टयाक्टरमा छुट दिँदै आएको भ्याट लागू गरेको स्रोतको दाबी छ । राजस्व छुटमा भित्रिएका टयाक्टर खेतबारीमा नभई उद्योग र राजमार्गमा बढी देखिन्छन् ।
स्रोत : http://kantipur.ekantipur.com/news/2017-10-20/20171020090230.html