टीएमजेमा गुराँस बगैँचा बनाइने

January 16, 2018

अन्नपुर्ण पोस्ट, ०२ माघ २०७४

राष्ट्रिय फूल गुराँस प्रजातिलाई समेटेर देशमै पहिलोपटक गुराँस बगैँचा निर्माण सुरु भएको छ। गुराँसको राजधानी मानिने पूर्वी नेपालका संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रलाई समेटेर संखुवासभाको मादी नगरपालिकाले बगैँचा निर्माण सुरु गरेको हो।

गुराँसको अध्ययन, अवलोकन र अनुसन्धान गर्न पाउने लक्ष्यसाथ नगरपालिकाले यस वर्षको प्रथम नगरसभाबाट छलफल गरी बगैँचा र पार्क निर्माण थालेको मेयर विदुर लिङथेपलले बताए। गुराँस संरक्षण नीति बनाएर सबै प्रजातिका गुराँस नर्सरीसमेत राख्ने गरी बगैँचा निर्माण गर्न लागिएको उनले जानकारी दिए।

नगरपालिकाले बगैँचा निर्माण गर्न अध्ययन सुरु गरी विज्ञहरूको सुझाव र सल्लाहअनुसार काम अघि बढाएको छ। विश्वमा पाइने ४२ प्रकारका गुराँस प्रजातिमध्ये नेपालमा ३२ प्रजाति रहेको अध्ययनले देखाएको छ। यीमध्ये पूर्वी नेपालअन्तर्गत पर्ने तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा २८ प्रजाति पाइन्छ। पर्यावरणीय हिसाबले उपयुक्त भएको पाएपछि मादी नगरपालिकाले समन्वय गरी संखुवासभाको धर्मदेवी, चैनपुर नगरपालिका, तेह्रथुमको लालीगुराँस, मेन्छ्याम गाउँपालिका, ताप्लेजुङको मैयाखोला गाउँपालिकाको सहकार्यमा बगैँचा निर्माण थालेको छ। बगैँचा स्थापनापछि आमामी वर्षदेखि नर्सरी सुरु गरी अन्यत्र बिक्री-वितरण गरिने नगरपालिकाले जनायो।

विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये नेपालमा ३२ प्रजाति पाइन्छ।

‘राष्ट्रिय फूल भएकाले गुराँसको महत्व छ, यसको अन्य प्रयोगका लागि अध्ययन- अनुसन्धान गर्न बगैँचा अभाव रहेकाले मादी नगरपालिकाले नेतृत्व गरी बगैँचा स्थापन गर्न सुरु गरेको हो’, मेयर लिङथेपलले भने। गुराँसको प्रयोग व्यावसायिक रूपमै चिया, औषधि र जुसमा हुँदै आएको छ। फूलको रूपमा विदेशमा निर्यात हुँदै आए पनि यसको अध्ययन-अनुसन्धान अभावले सयौँ गुण लोप भएकाले प्रवद्र्धन गर्न जरुरी रहेको राष्ट्रिय वनस्पति उद्यान गोदावरी ललितपुरका प्रमुख दीपक लामिछानेले बताए।

टीएमजे क्षेत्रमा तीनै जिल्लाको एक सय ६० वटा सामुदायिक वन समूहले संरक्षण गर्दै आएको छ। समुदायले संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्दै आएकाले वन समूहसँग थप छलफल गरी बगैँचा निर्माणसँगै संरक्षणका कार्यक्रमसमेत सुरु गर्ने नगरपालिकाले जनाएको छ। राज्यले गुराँस वन मात्रै रहेको तीनजुरे मिल्के जलजले क्षेत्रको वनलाई संरक्षित वन क्षेत्र घोषणा गर्ने तयारी गरे पनि पूरा हुन सकेको छैन। १० कबुलियती र ८३ सामुदायिक वनलाई राज्यले संरक्षित वन घोषणा कार्यक्रम अघि बढाएको थियो।

राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाका हेम पौडेलका अनुसार नेपालको भौगोलिक अवस्थालाई हेर्दा एक हजार मिटरदेखि ६ हजार मिटरसम्म गुराँस पाइने गरेको छ। गुराँसको तथ्यांक र जानकारीसहितको बगैँचा जरुरी रहेको बताउँदै जग्गा, माटो र भौगोलिक अवस्था हेरेर सहयोग गर्नसक्ने पौडेलले बताए।

स्रोत: http://annapurnapost.com/news-details/88412

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More