टेम्पो आयात उच्च

December 11, 2017

शंकर आचार्य, कान्तिपुर राष्ट्रिय दैनिक, २५ मंसिर २०७४

वीरगन्ज नाकाबाट अटोरिक्सा (टेम्पो) को आयात दोब्बर बढेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा टेम्पोको आयात बढेको हो । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको चौमासिक अवधिमा राजस्वमा योगदानको दृष्टिले मुख्य १० वस्तुको सूचीमा यो सवारी आठौं नम्बरमा परेको छ । 

गत आवको पहिलो चौमासिकमा यो नाकाबाट २६ करोड ९८ लाख रुपैयाँ बराबरको १ हजार ८ सय १३ थान टेम्पो आयात भएको थियो । जसबाट ३३ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवमा भने ५७ करोड २६ लाख रुपैयाँ बराबरको ३ हजार ८ सय ७५ थान यस्ता सवारी भित्रिएका छन् । यसबाट ७० करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विद्युतीय टेम्पो (ई–रिक्सा) आयात गर्दा मूल्यको ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्त:शुल्क र यी दुवै जोड्दा आउने रकमको थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी करिब १ सय २८ प्रतिशत शुल्क लाग्ने गर्छ । आयातित विद्युतीय टेम्पो भारत र चीनमा निर्मित हुन् । 

पछिल्लो समय पेट्रोलले चल्ने अटोरिक्साको माग बढेको बिक्रेताहरूले जनाएका छन् । उनीहरूले यस्ता अटोरिक्साको बजार प्रवद्र्धनमा पनि ठूलो लगानी गरेका छन् । टेम्पो समूहका सवारी साधनमा ठूलो हिस्सा ई–रिक्साको रहेको भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव बताउँछन् । मुलुकभर ई–रिक्साको प्रयोग बढेको छ । वीरगन्जमा मात्रै हाल करिब २ हजार ई–रिक्सा र टेम्पो सञ्चालनमा छन् । ई–रिक्साको प्रवेशसँगै वीरगन्जमा परम्परागत रिक्सा र टाँगा विस्थापित हुँदै गएका छन् । 

दुई वर्षअघिको मधेस बन्दको समयमा तराईका अधिकांश जिल्लामा अन्य सवारीसाधन नचलेको बेला ई–रिक्साले यात्रु ढुवानी गरेका थिए । 



स्रोत: http://kantipur.ekantipur.com/news/2017-12-11/20171211084548.html

 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter