सुनिता सिटौला, आर्थिक अभियान, फागुन २१, २०७४
पेटेण्ट र डिजाइनको दर्ता न्यून
काठमाडौं । पछिल्लो समय नेपालमा बौद्धिक सम्पत्तिको रूपमा लिइने ट्रेडमार्क दर्ताको सङ्ख्या उत्साहजनक देखिएको छ । उद्योग विभागको ३ वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । सन् २०१५ देखि २०१७ सम्ममा स्वदेशी र विदेशी गरी ७ हजार १ सय ३० ट्रेडमार्क दर्ता भएका छन् । सो मध्ये स्वदेशी ३ हजार २ सय ८५ र विदेशी ३ हजार ८ सय ४५ ट्रेडमार्क दर्ता भएका हुन् । उत्तिकै महŒव भएको पेटेण्ट र डिजाइनको दर्ता भने न्यून देखिएको छ ।
मुलुकमा पेटेण्ट तथा डिजाइनको महŒव नबुझ्नाले दर्ताको सङ्ख्या कम भएको सरोकारवालाहरूको भनाइ छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पेटेण्ट तथा डिजाइनका लागि निवेदन नै कम आउने गरेको बताए । ‘हकअधिकार सुनिश्चित गर्नका लागि दर्ता अत्यावश्यक छ । यद्यपि सम्बन्धित निकाय तथा व्यक्तिहरूले कम चासो दिएका छन्,’ उनले भने, यसप्रति चासो बढ्नु जरुरी छ ।
प्रवक्ता भुसालले कुनै पनि उद्योग, सङ्घ÷संस्थालगायत सम्बन्धित सरोकारवालाहरूले पेटेण्ट तथा डिजाइन दर्ता गराउँदा राम्रो हुने र यो जरुरी रहेको बताए । ‘अरू मुलुकहरूमा यसप्रति जति चासो दिइन्छ, हाम्रोमा कम चासो दिएको देखिन्छ,’ उनले भने, ‘आफ्नो घरजग्गाको हकअधिकार सुरक्षाका लागि जसरी धनीपुर्जा बनाइन्छ, त्यसरी नै आफूले आविष्कार गरेको वस्तु, प्रविधि वा डिजाइनलगायतको हकअधिकार सुनिश्चित गर्न पेटेण्ट तथा डिजाइन दर्ता गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार भविष्यमा रोयल्टी खोज्न तथा कानूनी प्रक्रियामा अघि बढ्नसमेत समयमै दर्ता गरे सहज हुन्छ ।
सरोकारवाला विभिन्न सङ्घसंस्था र वैज्ञानिकलगायतले पेटेण्ट र डिजाइन दर्ताको प्रक्रिया निकै झन्झटिलो रहेकाले यसप्रति आकर्षण नबढेको बताउँछन् । सरकारले यी विषयको महŒव दर्शाउन नसकेको, प्रचार तथा जनचेतनाका कार्यक्रमहरू अघि बढाउन नसकेको पनि उनीहरू बताउँछन् । पेटेण्ट तथा डिजाइनप्रति आकर्षण बढाउने हो भने दर्ता प्रक्रियालाई सहज बनाउनु आवश्यक रहेको उनीहरूको
भनाइ छ ।
उक्त अवधिमा पेटेण्ट स्वदेशी र विदेशी गरी २ ओटा र डिजाइन ५८ ओटा दर्ता भएका छन् । ती मध्ये स्वदेशी २३ र विदेशी ३५ ओटा डिजाइन दर्ता भएका हुन् ।
विभागमा पछिल्लो समय सन् २०१२ मा वायरलेस कम्युनिटी रेस्क्यू राइरनको पेटेण्ट दर्ता भएको थियो । सन् २०१५ मा त्यस्तै ‘मल्टी लेयर प्रेसर कुकर’ र ‘पाइलट लेस एयरक्राफ्टको पेटेण्ट दर्ता भएको थियो ।
सन् २०१५ मा ७९, २०१६ मा ३७ ओटा र २०१७ मा ६० ओटा स्वदेशी र विदेशी गरी पेटेण्ट दर्ताका लागि निवेदन आएकोमा २ ओटा मात्र पेटेण्ट दर्ता भएका छन् ।
त्यसैगरी सन् २०१५ मा ३९, २०१६ मा ३४ र २०१७ मा ३७ ओटा स्वदेशी र विदेशी गरी डिजाइन दर्ताका लागि निवेदन आएकोमा ५८ ओटा मात्रै डिजाइन दर्ता भएका छन् ।
विभागका निर्देशक शङ्कर अर्यालले उद्योग व्यवसायलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन पेटेण्ट र डिजाइनलाई ट्रेडमार्क जतिकै महŒवपूर्ण रहेको बताएका छन् । ट्रेडमार्क कुनै कम्पनी वा उद्योगको आफ्नो व्यापारिक चिह्न या लोगो हो । विभागका अनुसार कुनै पनि ट्रेडमार्क एकपटक दर्ता गरेपछि ७ वर्षमा नवीकरण गर्नुपर्छ ।
यस्तै पेटेण्ट भनेको प्रयोगकर्ताको अधिकार हो । कुनै वस्तुको उत्पादन वा आविष्कार गर्दा राज्यले सो व्यक्ति वा संस्थालाई वस्तुको प्रयोग, उत्पादन र विक्रीका लागि दिने अधिकार नै पेटेण्ट हो । सरकारले एकपटक पेटेण्ट दर्ता गरेपछि ७ वर्षसम्म प्रयोग गर्न सुविधा दिन्छ । डिजाइन भनेको कुनै वस्तुको स्वरूप हो । एकपटक गरेको डिजाइन दर्ता गरेपछि १५ वर्षसम्म आफ्नो एकाधिकारमा हुन्छ ।
विसं १९९३ देखि शुरू भएको औद्योगिक बौद्धिक सम्पत्तिको दर्ता प्रक्रियामा हालसम्म ट्रेडमार्क ४५ हजार ५ सय, पेटेण्ट ७४ ओटा र डिजाइन १ सय ५३ ओटा दर्ता भएको ट्रेडमार्क शाखाका कम्प्युटर अपरेटर सुशील खनालले जानकारी दिए ।
स्रोत: www.abhiyan.com.np/2018/03/05/185317