ठूला बैंकको नाफा ओरालो

February 07, 2020

विनय बन्जारा, अन्नपूर्ण पोष्ट, माघ २४, २०७६ 

काठमाडौं : अधिकांश वाणिज्य बैंकको वितरणयोग्य नाफा घटेको छ। २७ मध्ये १५ वाणिज्य बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार पुस मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ प्रतिशत घटेको छ। त्यसमध्ये नेपाल बैंकको नाफा गत वर्षभन्दा ८९ करोड ३१ लाख रुपैयाँ घटेको छ। कुमारी, कृषि विकास र सानिमाबाहेक सबै बैंकको नाफा घटेको हो।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरूबीच प्रतिस्पर्धा बढेको र खर्च बढेका कारण नाफा कम भएको बताए। ‘हामी बैंक पनि रमाइला छौं। पहिले निक्षेप कम भएर एउटा बैंकलाई अप्ठेरो पर्ने वित्तिकै १३ प्रतिशत ब्याज दियो, अर्काले आफ्नो बैंकको निक्षेप जोगाउन साढे १३ प्रतिशत ब्याज दियो’, उनी भन्छन्, ‘फेरि दुई अर्ब निक्षेप बढ्यो र ऋण दिने पैसा बाँकी बस्यो भने आत्तिएर कर्जाको ब्याजदर घटाउन थाल्यौं’, उनले, ‘प्रतिस्पर्धात्मक बजारको सुन्दरता’ भनेको यस्तो प्रबृत्तीले एकातिर बैंकको नाफा घटेको र अर्कातिर ब्याजदर स्थायित्वमा समस्या भएको अरु बैंकर बताउँछन्।

दाहाल भने यस्तो प्रतिस्पर्धाबाट उपभोक्तालाई फाइदा पुगेको बताउँछन्। पछिल्लो समय धेरै शाखा विस्तार भएकाले भाडा, डिप्रिसियसन, बिजुली, सरसफाइजस्ता थुप्रै खर्च बढेको छ। यसलाई बैंकहरूले ‘अन्य सञ्चालन खर्च’ भन्ने गरेका छन्। कर्मचारी खर्च पनि बैंकहरूले बढाएका छन्। सूचना प्रविधिमा पनि बैंकको लगानी बढेको अध्यक्ष दाहाल बताउँछन्। ‘पहिले सस्तोखाले सफ्टवयर पनि किन्थे। अहिले फाट्टफुट्ट घटना भएपछि त्रास फैलिएको छ’, उनले भने, ‘यसले महँगा सफ्टवयर खरिद गर्न थालेका छन्। त्यसले पनि बैंकको लागत बढाएको छ।’

१५ वाणिज्य बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार पुस मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ प्रतिशत घटेको छ।

अहिले अधिकांश बैंकको कर्जा निक्षेप अनुपात घटेको छ। पछिल्लो समय कर्जाको माग कम भएपछि बैंकसँग लगानीयोग्य पैसा बढी भएको हो। तर राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट भने बैंकसँग वास्तविक अधिक तरलता २० अर्ब हाराहारी मात्रै रहेको बताउँछन्। यद्यपि, बैंकरले ७० अर्बको हाराहारीमा तरलता बाँकी रहेका कारण ब्याजदर घटाउन थालेको बताउँदै आएका छन्। कर्जाको माग घटेको र बैंकको नाफा खुम्चिएका बेलामा पनि बैंकको निस्कृय कर्जाको दर भने घटेको देखिन्छ। सिटिजन्स बैंकले यस्तो दर घटाएको छ भने प्रभु बैंकको निस्कृय कर्जा सर्वाधिक बढेको छ।

वितरण गर्न नपाउने नाफासमेत जोड्ने हो भने नाफा रकम बढेको देखिन्छ। ९ वटा बैंक पुस मसान्तभित्रै अर्बपति क्लबमा प्रवेश गरिसकेका छन्। एनआईसी एसिया बैंकले दुई अर्बभन्दा बढी नाफा कमाएको छ। हिमालयन, कृषि विकास, एभरेस्ट, नेपाल बैंक, प्राइम, प्रभु र सिद्धार्थ अघिल्लो वर्ष पनि अर्ब नाफा कमाउने समूहमै थिए। यो वर्ष सानिमा बैंक पनि अर्बपति क्लबमा थपिएको छ। बैंकले लिने र दिने ब्याजको अन्तर (स्प्रेड) बढाएर नाफा कमाएको देखिएको छ।

राष्ट्र बैंकले आगामी असार मसान्तभित्र ब्याजदरअन्तर ४.४ प्रतिशतमा झार्नुपर्ने भने पनि सानिमा, लक्ष्मी, प्राइम र कुमारी बैंकले मात्रै यो सीमाभित्र समेटेका छन्। एभरेस्ट, हिमालयन, कृषि विकास, माछापुच्छ्रे, सिद्धार्थ, सनराइज र एनआईसी एसियालेअझै पनि ब्याजदरअन्तर ५ प्रतिशतभन्दा बढी छ। अघिकांश बैंकको वितरणयोग्य नाफा घटे पनि सरकारले पाउने राजस्व भने बढेको छ। ती १५ बैंकले गत वर्ष ६ अर्ब ४९ करोड रुपैयाँ आयकर तिरेकोमा यो वर्ष पुस मसान्तसम्म ७ अर्ब २८ करोड रुपैयाँ तिरेका छन्।

स्रोत: http://annapurnapost.com/news/147441

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More