डेढ महिनामा ४३ लाख मास्क निर्यात

March 04, 2020

नुमा थाम्सुहाङ, कान्तिपुर, फाल्गुन २१, २०७६ 

चीनसहित अन्य मुलुकबाट ल्याइएका मास्क व्यवसायीले संकलन गरी उतै पठाए उद्योगी भन्छन्– आयातित मास्कले बजार धानेको छ 

काठमाडौँ — पछिल्लो डेढ महिनामा ४३ लाख १७ हजार थान मास्क निर्यात भएको छ । यो माघ ५ देखि फागुन १९ सम्म चीन र हङकङतर्फ निर्यात गरिएको परिमाण रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । माघ ५ देखि २० गतेसम्म ७ लाख ५९ हजार थान मास्क निर्यात भएको थियो । 

माघ २० देखि फागुन १९ गतेसम्म भने ३५ लाख ५८ हजार थान मास्क निर्यात भएको विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अधिकारीले बताए । ‘यसअघि नेपालबाट मास्क निर्यात हुँदैनथ्यो,’ उनले भने, ‘कोरोना भाइरसका कारण निर्यात भइरहेको छ ।’

बजारमा अहिले कारोना भाइरसको संक्रमणबाट बच्न ‘एयर फिल्टर मास्क’ को माग बढी छ । डेढ महिनादेखि बजारमा भाइरस फिल्टर गर्ने ‘एन–९५’ मास्कको अभाव भएको सर्जिकल व्यवसायी बताउँछन् । तर दुई सातायता पेपर (डिस्पोजेबल) मास्कको समेत अभाव देखिन थालेको छ ।

नेपालमा तीन उद्योगले मास्क उत्पादन गरिरहेका छन् । बनेपाको साँगामा सञ्चातिल साँगा क्लिन सिटी उद्योगले दैनिक ५ हजारदेखि १० हजार थानसम्म नर्मल मास्क उत्पादन गर्छ । काठमाडौंको बौद्धस्थित उद्योगले दैनिक तीन हजार थान नर्मल मास्क उत्पादन गर्छ । बुटवलमा रहेको उद्योगले कपडाको कटन मास्क उत्पादन गर्छ । यी उद्योगको दैनिक क्षमता साढे १३ हजार थानसम्म मास्क उत्पादन छ ।

अहिले आफ्नो उद्योगबाट दैनिक ५ देखि १० हजार थान नर्मल मास्क उत्पादन भइरहेको साँगास्थित उद्योगका सञ्चालक शुकदेव जोशीले बताए । ‘प्रत्येक दिन १० हजार थानसम्म मास्क बनाउँदै छौं,’ उनले भने, ‘हामीकहाँ मानिसले चलाउने मेसिन छ । कहिले कामदार हुन्छन्, कहिले हुँदैनन् । तर पनि मागअनुसार मास्क बनाइरहेका छौं ।’ मागअनुसार नेपाल सरकारलाई एक लाख थान र स्वास्थ्य विभागलाई २५ हजार थान मास्क बिक्री गरिएको उनले जानकारी दिए । उद्योगले खुद्रा व्यापारी, विद्यालय र सर्जिकल डिलरलाई पेपर मास्क पनि बिक्री गरेको उनले जानकारी दिए ।

‘हामीले सबैलाई पुर्‍याउनुपर्छ भनेर त्यहीअनुसार बिक्री गरिरहेका छौं,’ उनले भने, ‘मूल्य अभिवृद्धि कर (भ्याट) सहित प्रतिगोटा ५ रुपैयाँ मात्र लिएका छौं ।’
सर्जिकल, पेपर र एन–९५ मास्क वार्षिक ६ करोड थान हाराहारीमा आयात भइरहेको केमिकल एन्ड मेडिकल सप्लायर्स संघले जानकारी दिएको छ । ‘नेपालको उत्पादनले १/२ प्रतिशत पनि बजार धान्दैन । बजारमा मास्क अभाव भइरहँदा पनि आयात गरिरहेकाले नै यहाँको माग धानिएको हो । अब उद्योगसँग भएको कच्चापदार्थ सकिँदै छ । भइन्जेल मात्र हामी मास्क बनाउन सक्छौं,’ उनले भने । उद्योगले ७/८ महिनाअघि चीनबाट कच्चापदार्थ आयात गरेको थियो ।

‘चीनबाट तयारी मास्क आयात गर्दा १५ प्रतिशत भन्सार लाग्छ । कच्चा पदार्थ ल्याउँदा भने ३५ प्रतिशत महसुल लाग्छ,’ जोशीले भने, ‘उद्योग सञ्चालन गर्न बैंकबाट कर्जा लिनुपर्छ । व्यवसाय घाटामा गए बैंकले उल्टै २ प्रतिशत बढी ब्याज लिन्छ ।’ स्वदेशी उद्योगले बनाएको भन्दा आयात गरेको मास्क नै सस्तो भएका प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ । सरकारले स्वदेशी उद्योगका लागि सहज वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।

स्रोत: https://ekantipur.com/business/2020/03/04/15832896657172505.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More