ढोरपाटनमा झारलको संख्यामा वृद्धि

September 08, 2017

नागरिक दैनिक, २२ भाद्र २०७४ 

छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। 

विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले आरक्षका सातवटै शिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो। 

गणना वर्षलाई तुलनात्मकरुपमा हेर्दा झारलको संख्या बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। “पछिल्लो गणनामा ४२ समूहमा झारल भेटिएका थिए” अधिकृत बरालले भने, “सबैभन्दा ठूलो समूहमा ५१ वटा झारल देखिए।” जसमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएको र बाँकी ६१ को पहिचान गर्न नसकिएको उनको भनाइ छ। पहिचान भएकामा १६२ भाले र बाँकी पोथी झारल थिए। 

आरक्षमा झारलको वृद्धिदर वार्षिक १ दशमलव ७८ प्रतिशत रहेको कार्यालयले जनाएको छ। गणनापछि भेटिएका झारलको संख्याका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ। आरक्ष कार्यालयले गणनाको विस्तृत प्रतिवेदन विभागमा पठाइसकेको जनाएको छ। 

स्रोत: 

http://www.nagariknews.com/news/26687/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More