तरकारीको भाउ तेब्बर वृद्धि

August 24, 2017

भरत खड्का, अन्नपुर्ण पोष्ट, ८ भदौ २०७४

बाढीको कारण देखाउँदै उदयपुरका तरकारी व्यापारीले तरकारीको मूल्य आफूखुसी तोक्न थालेका छन् । व्यापारीले साबिकभन्दा तेब्बर मूल्यमा तरकारीको बिक्री वितरण गर्दै आएका छन् । सहज अवस्थामा सदरमुकाम गाईघाटमा १५ रुपैयाँमा पाइने हरियो साग यतिबेला ४५ रुपैयाँ पुगेको छ । पाउको १५ रुपैयाँमा पाइने रायो साग, लट्टे र पासे सागको ५० रुपैयाँ पुगेको छ । प्रतिकेजी ४० रुपैयाँ पर्ने प्याज अहिले एक सय २० रुपैयाँ पर्छ । ३५ रुपैयाँ पर्ने प्रतिकेजी आलुको मूल्य अहिले ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै ढेँडे खुर्सानी पाउको ३५, बन्दागोभी पाउको ३०, काउली पाउको ६० छ । वर्षाअघि यी सबै तरकारीको भाउ किलोको सय नाघेको थिएन ।
तरकारीको मूल्य एक्कासि महँगिएपछि कमजोर आर्थिक अवस्था भएका उपभोक्ता मर्कामा परेका छन् । उनीहरू तरकारीबेगर कहिले दाल त कहिले गुन्दु्रकसँग भात खान बाध्य छन् । अन्य बजारको तुलनामा सधैं महँगो पर्ने गाईघाटमा हरियो सब्जीको भाउ तेब्बरसम्म बढेपछि उपभोक्ता मारमा छन् ।

वर्षाका कारण बाहिरबाट तकारी न्युन मात्रमा आउने भएकाले जतिमूल्य तोके पनि हारालुछ हुने गरेको व्यापारी जमिन साहले बताए । उनले माग बमोजिम पुर्‍याउन नसकेको बताए । वर्षाले सडक अवरुद्ध र स्थानीयले लगाएको तरकारीबारीमासमेत क्षति पुर्‍याएकाले खरिद गर्दै महँगो पर्ने गरेको साह बताउँछन् ।

गाईघाटमा ८० प्रतिशत तरकारी अन्य जिल्लाबाट भित्रिने गरेको व्यापारी बताउँछन् । सर्लाहीको लालबन्दी, धनकुटा, इनरुवा, धरान, गोलबजार र भारतीय बजारबाटसमेत भित्रिने तरकारी वर्षापछि न्युन छ । दैनिक दुई सय टनसम्म तरकारी भित्रिने गाईघाटमा अहिले ५० टन मात्र आउने गरेको व्यापारीको भनाइ छ ।

चाहिँदो तरकारी आपूर्ति हुन नसक्दा नेपाली सेनाको गण, बाहिनी, सशस्त्र प्रहरीको गुल्म, नेपाल प्रहरीजस्ता धेरै तरकारी खपत हुने कार्यालयलाई मागेजति तरकारी दिन नसकेको व्यापारी बताउँछन् । तरकारीको अभावले दुई सय किलो माग्नेलाई २०÷३० किलो, एक सय किलो माग्नेलाई १५÷२० किलो दिने गरेको व्यापारी बताउँछन् । नियमित आपूर्ति गर्ने जिम्मा लिएका व्यापारीलाई वर्षापछि तरकारी पुर्‍याउन गाह्रो भएको उनीहरूको भनाइ छ ।

स्रोत: http://annapurnapost.com/news/78427

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More