बलराम घिमिरे, कान्तिपुर राष्ट्रिय दैनिक, २९ असोज २०७४
यहाँका भूकम्पपीडित किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका भूकम्पपीडित किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । भूकम्पले भत्किएको घर निर्माण गर्न नसकेका किसानहरू आयआर्जनमार्फत् घर निर्माण गर्न व्यावसायिक तरकारी खेतीमा जुटेका हुन् । जीविकोपार्जनको माध्यमबाट भूकम्पले क्षति पुर्याएको घर उभ्याउन व्यावसायिक तरकारी खेती गर्न थालेको कालिका गाउँपालिका–२ गैराघरकी जूनकिरी लामिछानेले बताइन् । उनले भनिन्, ‘२ वटा टनेल निर्माण गरी गोलभेंडा खेती सुरु गरेकी छु ।’
एक वर्षमा ६५ हजारभन्दा बढी आम्दानी भएको उनले बताइन् । उनले थपिन्, ‘मकै र कोदो लगाएको भए दुई हजार रुपैयाँ पनि आम्दानी हुँदैनथियो, मैले त सोचेको पनि थिइनँ २ वटा टनेलबाट यति धेरै आम्दानी लिन सकिन्छ भनेर ।’ जूनकिरीले यो व्यवसाय पहिलोपटक गरेको बताइन् । ‘राम्रै हुँदो रहेछ नियमित गर्ने सोच बनाएकी छु ’ उनले भनिन् । तरकारी खेतीबाट भूकम्पपीडित किसानहरूले वार्षिक रूपमा मनग्य आम्दानी गर्न सफल भएका छन् । राम्रो आम्दानी हुने भएपछि किसानहरू भूकम्पको पीडा भुलेर गुमेको संरचना पुनर्निर्माण गर्नका लागि आयआर्जन बढाउन तरकारी खेती गर्न सक्रिय भएका छन् । यस व्यवसायबाट जिल्लाका ६ सय ९५ परिवार लाभान्वित भएका छन् ।
भूकम्पपछि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चले किसानहरूलाई व्यावसायिक तरकारी खेती सहयोग गरेको हो । व्यावसायिक तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भूकम्पपीडित किसान परिवारको दैनिकी सहज हुँदै गएको छ । हाल नौकुण्ड गाउँपालिका–५ का १६ परिवारले व्यावसायिक मौरीपालन गरिरहेको कृषि विकास कार्यालय रसुवाका प्रमुख रमेश हुमागाईले बताए ।
उनले भने, ‘महबाट राम्रो आम्दानी भएको छ, किसानहरूले २ लाखभन्दा बढीको मह बिक्री गरी सकेका छन् ।’ उत्तरगया गाउँपालिका–४ पैरेबेसीकी रोजिना घले पनि व्यावसायिक गोलभेंडा खेतीमा लागेकी छन् । उनले भनिन्, ‘२ वटा टनेलबाट १ हजार ५ सय २५ केजी गोलभेंडा उत्पादन भयो ।’ एक वर्ष अवधिमा गोलभेंडा खेतीबाट ७० हजारभन्दा बढी आम्दानी गरेको उनले बताइन् ।
जिल्लाको तीन गाउँपालिकाका २ सय ६० परिवारले गोलभेंडा खेती, १ सय ५० परिवारलाई काउली खेती, ६७ परिवारले आलु खेती, ९६ परिवारले प्याज खेती, ५० परिवारले लसुन खेती, १६ परिवारले मौरी र १६ परिवारले बाख्रापालन गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी संस्थाले कृषकले उत्पादन गरेको वस्तुलाई बजार प्रवद्र्धन गर्न गाउँ–गाउँमा सङ्कलन केन्द्र स्थापना सहयोग पनि गरेको छ । किसानहरू व्यावसायिक तरकारी खेती गरी आम्दानी बढाई भूकम्पमा गुमेको संरचनाको पुन:स्थापना गर्ने योजनामा छन् ।
स्रोत:http://kantipur.ekantipur.com/news/2017-10-15/20171015075241.html