तरकारी खेती बढ्दै

January 04, 2019

राजेन्द्रप्रसाद अवस्थी, गोरखापत्र, १९ पुष २०७५ 

कञ्चनपुर, पुस १९ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रका स्थानीय कृषिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनीहरू तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । 

निकुञ्जबाट आउने जङ्गली जनावरले अन्य बाली सखाप पारिदिने भएपछि तरकारी खेती लगाउन थालेको भीमदत्त नगरपालिका १४ वनकट्टीका कृषक तुलसीराम रानाले बताउनुभयो । डेढ दशकदेखि तरकारी खेती गरिरहनु भएका उहाँले शुरुमा करेसाबारी जस्तै एक कट्ठामा मात्रै तरकारी खेती गर्नुभएको थियो । 
जिल्ला कृषि विकास कार्यालयबाट तरकारी खेती तालिम लिएर तरकारी खेती शुरु गर्नुभएका उहाँले अहिले निड्स नेपाल कञ्चनपुरको सहयोगमा १२ कट्ठा जमिनमा तरकारी खेती विस्तार गर्नुभएको छ । रानाले खुर्सानी, काउली, भन्टा, कोपी, काँक्रालगायतका तरकारी लगाउनुभएको छ ।

उहाँजस्तै अरू किसानले पनि तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी महेन्द्रनगर बजारमा बिक्री वितरण हुने गरेको छ । वार्षिक डेढ लाख रुपियाँ बचत हुने गरेको कृषक रानाले बताउनुभयो । कृषक रानाले सिँचाइ र जङ्गली जनावरबाट हुने नोक्सानी रोक्न माग गर्नुभयो । त्यसो गरिए उत्पादन र आम्दानी अरू बढ्ने बताउनुभयो । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले जिल्लाभरका छ हजार छ सय घरधुरीले व्यावसायिक तरकारी खेती गरेको बताउनुभयो । उहाँका अनुसार तरकारी पकेट क्षेत्र विस्तार गरेर खेती गरिएको छ । एक बिघादेखि पाँच बिघासम्म तरकारी खेती गरेका कृषकले एकदेखि पाँच लाख रुपियाँसम्म जम्मा गर्दै आएका छन् । 

निड्स नेपाल कञ्चनपुरले भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा सञ्चालन गरेको योजनाको संयुक्त अनुगमनसमेत गराएको छ । प्रदेशसभा सदस्य तारा लामा तामाङ, महेशदत्त जोशी, लालबहादुर खड्का, मानबहादुर सुनार, कुलवीर चौधरीलगायत जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख टीकाराम थापाले अनुगमन गर्नुभएको छ ।

सोर्त: http://gorkhapatraonline.com/news/64316

Newsletter

Submit your details below to receive Newsletters

Newsletter