श्यामसुन्दर शशि, जितेन्द्र साह, सन्तोष सिंह,कान्तिपुर राष्ट्रिय दैनिक, ९ कार्तिक २०७४
चार दिवसीय छठ महापर्वको सन्ध्याकालीन अर्घ बिहीबार सन्ध्या प्रदान गरिने भए पनि जनकपुरको गंगासागर घाट बुधबार रातिदेखि नै भरिभराऊ छ । उपयुक्त स्थानमा पूजा सामग्री राख्न श्रद्धालुहरु एक दिन पूर्व नै घाटमा आउने गरेका छन् ।
गंगासागरसँगै यहाँको धनुषसागर, अंगराजसर, महाराजसागर, गोरधोई पोखरी, रत्नसागरसँगै दुई दर्जन अधिक पोखरी तथा दूधमति र जलादलगायत नदीहरुमा छठ मान्ने चलन छ तर जनकपुरको मध्यमा अवस्थित गंगासागरमा छठ मान्नेहरुको संख्या अधिक छ । यद्यपि गंगासागर छठ पूजा समिति तथा बजरंग युवा कमिटी छठ पूजास्थल व्यवस्थापनको काम गर्दै आएको छ तर श्रद्धालुहरुका अनुसार यी संस्थाहरुले गरेको व्यवस्थापन पर्याप्त छैनन् । श्रद्धालु आकाश झाका अनुसार–गंगासागर छठ पूजा समितिले एउटै स्थल दुई, दुई जनाको नाममा दर्ता गरेकाले अव्यवस्था अझै बढेको छ ।
अर्का श्रद्धालु सुनिल मिश्र पूजाभन्दा एक दिन पूर्व नै पूजास्थलमा पुग्नु उचित नभएको बताए । कान्तिपुरसँगको भेटमा उनले भने–‘अलि कति ढिलो भयो भने, दर्ता गरिएको स्थलमा अर्कैले पूजा सामग्री राख्छन् । अनि पहिला आउनु परेन ?’गंगासागरमा पूजा गर्नेहरु बुधबार राती ‘षडना’ सकेर सीधा पूजास्थलमा पुगेका थिए ।
पूजा व्यवस्थापक संस्थाका प्रतिनिधीहरुले भने श्रद्धालुहरुको संख्यामा निरन्तर बृद्धि भएको कारण पूजा स्थलको आभाव भएको स्वीकार गरेका छन् ।
विराटनगर
कठिन धार्मिक विधिको पालना गर्दै चार दिनसम्म मनाइने छठ पर्वको बिहीबार मुख्य दिन हो । तराई/मधेसका बाढीपीडितले समेत उही उमंगको साथ मनाइरहेको हुनाले यसपटक यो पर्व झनै विशेष हुन गएको छ ।
तिहारकोजस्तै सिंगारिएको जलाशय किनारमा घरबाटै लिएर गएको सम्पूर्ण पुजन सामग्रीसहित साँझपख अस्ताइरहेको र शुक्रबार बिहान उदाइरहेको सूर्यलाई अर्घ दिएपछि यसको पर्वको समापन हुन्छ । पर्वको यी अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा उत्सवकै माहोल हुन्छ । अर्घ दिने, ब्रतालुको आशीर्वाद लिने एवं बिहानीको पूजापछि प्रसाद थाप्नेको घाटमा बाक्लो उपस्थिति हुन्छ । बिहानको पूजाको समापनपछि भरपुर आस्थाका साथ प्रसाद माग्न आउने, वितरण गर्ने एवं मुख्य उपासकलाई ढोकेर आशीष लिने क्रम घाटदेखि घरसम्मै चल्छ ।
यो यस्तो उमंग हो जसलाई प्रकृति विपदाले समेत छेक्न सकेन । दुई महिनाअघिको बाढीले खोलानालामा व्यापक कटान गरी धनजनको क्षति गरे पनि तराई/मधेसमा छठको उही उल्लासका साथ लोकगीत घन्काउँदै स्वागत हुनु त्यसकै उदाहरण हो । घरघडेरी बगाउने तीनै खोला किनारमा ऋण सापट लिएर भए पनि स्थानीयले नयाँ घाट बनाइ र सजावट गरी पूजाको सम्पूर्ण प्रबन्ध गरेका छन् । ‘यो खोला र मानवबीच गहिरो सम्बन्ध छ,’विराटनगर केशलिया रोडकी ४१ वर्षीया पल्लवी गुप्ताले भनिन्,‘सम्हाल्नै नसकिने गरी पानी आएपछि खोलाले पनि के गरोस् ?’जीउधनलाई नोक्सान पुर्याउने गरी फेरि त्यस्तो बाढी नआउन् भनेर छठी मैयाँसँग प्रार्थना गरिरहेको उनले बताइन् ।
यसपालिको मनसुनमा तबाही मचाउने स्थानीय सिंघिया र केशलिया खोला किनारलाई झकिझकाउ पारिएको छ । बाढीले कटान गरी घाटको पुरानो संरचनालाई भत्काएकोले नयाँ निर्माणमा नीकै समय लागेको ब्रतालु परिवारजनले बताए । ‘फोहोर मिल्काउन र घाट तयार पार्न पोहोरको भन्दा दोब्बर समय लाग्यो,’सिंघिया खोलामा पूजा गर्ने ४५ वर्षीय भजनलाल मण्लले भने,‘तर, सबै पीडा बिर्सेर नयाँ घाट बनायौं ।’उनी उक्त खोला नजिकैको मोरंगको कटहरी गाउँपालिकास्थित आदर्शनगर बस्तीमा बस्छन् । परिवारको महिला सदस्यको नेतृत्वमा मनाइने यस पर्वमा घाटको साजसज्जा पुरुष र युवायुवतीले गर्छन् ।
मुलुकभर छरिएर रहेका छठ ब्रतालुले यस पर्वको दोस्रो दिन बुधबार साँझ सादगीकासाथ खरना पूजा गरे । यो महत्वपूर्ण पूजा हो ।
जनकपुरस्थित गंगासागर पोखरीमा बनाइएको छठ घाटमा पूजा सामाग्री लिएर ब्रतालुहरु अइपुगेका छन् । ब्रतालुहरु पूजाको तयारीमा जुटेका छन् । सन्तोष सिंहले लिएका तस्बिरहरु
स्रोत: http://bit.ly/2z7W2zB