राजु चौधरी, कान्तिपुर राष्ट्रिय दैनिक, ४ कार्तिक २०७४
दसैंअघि खासै चहलपहल नभएको सुनचाँदीे बजारमा यतिखेर दिनकै ३५ किलो सुन र ४ सय ५० चाँदीको कारोबार हुन थालेको छ । यो मुलुकभरकै कारोबार तथ्यांक हो । व्यवसायीको भनाइ मान्ने हो भने तिहारले सुन बजारमा अत्यधिक चहलपहल ल्याएको छ ।
लक्ष्मीपूजाको दुई दिनअघि मनाइने धनतेरसमा सुनचाँदी भित्र्याउँदा शुभ साइत हुने मान्यता छ । जसले गर्दा यही बेला सुनचाँदी किन्ने बढी हुन्छन । सुनचाँदी व्यवसायी महासघका अनुसार यही दिन सबैभन्दा बढी करोबार हुन्छ । ‘दसैं–तीजमा खासै चहलपहल थिएन,’ महासघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘तिहार लागेपछि सुनचाँदीको माग बढ्दै गएको छ । हरेक पसलमा भीड बढेको छ ।’ सामान्य दिनमा १५ देखि २० किलो कारोबार हुने सुन अहिले माग बढेर ३५ किलोसम्म पुगेको उनले बताए ।
धनतेरससम्म दैनिक माग ४० किलोभन्दा बढी हुने शाक्यले बताए । ‘एकसाताको अवधिमा (लक्ष्मीपुजाको दिनसम्म) करिब २ सय ५० किलो सुनको कारोबार हुन्छ,’ उनले भने । एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ । जसअनुसार एक सातामा १ अर्ब २१ करोड १० लाख रुपैयाँको सुन कारोबार हुने महासघले जनाएको छ । व्यवसायीका अनुसार सुनभन्दा चाँदीको माग थप बढ्छ । सुन र चाँदी लक्ष्मीको पूजापाठका बेला पनि राखिन्छ ।
धनतेरसको दिनमा सुनचाँदी/तामाको थाली, गहना, सिक्का खरिद गरी लक्ष्मीपूजाको दिनमा पूजा गर्दा लक्ष्मीको बास हुने मान्यता छ, जसले गर्दा चाँदीको सामान किन्ने भीडभाड बढ्ने व्यवसायीहरूको भनाइ छ । महासघका अनुसार सामन्य दिनमा औसत रूपमा साढे २ सय किलो कारोबार हुन्छ । तर, तिहार नजिकिएसँगै दैनिक माग साढे ४ सय किलो पुगेको महासंघले जनाएको छ ।
धनतेरसको दुई दिन माग ७ सय किलोसम्म पुग्ने शाक्यले बताए । ‘दुई दिन माग ७ सय किलो पूग्छ,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘दैनिक औसत साढे ४ सयको हिसाबले एक साताको अवधिमा ३ हजार किलो बिक्री हुन्छ ।’ एक किलो चाँदीको मूल्य ६६ हजार ४ सय रुपैयाँ पर्छ । जसअनुसार एक साताभित्र १९ करोड ९२ लाख रुपैयाँको बिक्री हुने पूर्वअध्यक्ष शाक्यको भनाइ छ ।
महासंघका अध्यक्ष मोहन सुनार तिहारमा भाँडाकुँडा, सिक्का, चाँदीका करुवा, थाली, लक्ष्मी गणेशको मूर्ति बढी बिक्री हुने बताउँछन् । ‘तिहारमा सुनको ठूलो सामानहरू बिक्री हुँदैन,’ उनले भने, ‘सिक्का, पूजाकै सामानमा बढी आकर्षण हुन्छ ।’ उनका अनुसार धनतेरस मुख्यत: भारतमा मनाइन्छ । तर, आधुनिकीकरणसँगै यसको प्रभाव नेपालमा पनि परेको हो । धनतेरसका दिन प्राय: उपभोक्ताले चाँदीको टुक्रा, सिक्का, लक्ष्मी गणेशको मूर्ति, पूजाको भाँडा, थाली, पञ्चपात्र, कलशलगायतका सामान खरिद गर्छन् । सुनको सिक्का, आंठी, बाला पनि किन्नेहरू हुन्छन् । व्यवसायीका अनुसार त्यस बेला अडरभन्दा रेडिमेट गहना किन्ने बढी हुन्छन् ।
गोल्ड स्पोट प्रालिका सञ्चालक निर्मलज्योति तुलाधारका अनुसार सुनचाँदी भित्र्याउँदा शुभ साइत हुने मान्यता छ । जसले गर्दा यही बेला सुनचाँदी किन्ने बढी हुन्छन् । ‘धनतेरसमा उपभोक्ताहरू आफ्नो क्षमताअनुसार गहना खरिद गर्छन् । तिहारलाई अत्यधिक बिक्री हुने सिजनको रूपमा लिन्छौं,’ उनले भने, ‘यस बेला सामान्य दिनभन्दा काराबोर २० प्रतिशतले बढ्छ ।’
चाँदीको भाँडाकुँडा, मूर्ति, सिक्का किन्न आउने ग्राहकको संख्या ह्वात्रै बढेको उनले बताए । तिहारलाई लक्षित गरी चाँदी निर्यात गर्ने व्यवसायीलाई एक किलोको बार बिक्री गरेको तुलाधरले बताए । बिहीबार न्युरोडको सिल्भर प्यालेसमा भेटिएकी सरिता रिमालले तिहारकै लागि चाँदीका सामान अडर गर्न आएको बताइन् । उनले अडर गरेको गहना धनतेरसको दिनमा खरिद गर्ने बताइन् । ‘धनतेरसको दिनमा भित्र्याउँदा वर्षभरि नै लक्ष्मीको बास हुने मान्यता छ,’ उनले भने, ‘जसले गर्दा अडर गर्न आएको हुँ ।’
गहनामा लगानी गर्दा सुरक्षित पनि हुने उनको बुझाइ छ । ‘गहना किन्नु भनेको लगानी गर्नुसरह हो,’ उनले भनिन्, ‘आवश्यक पर्दा बिक्री गरेर काम चलाउन सकिन्छ ।’ भारतबाट आउने समुदायले नेपाली बजारमा यसको चलन भित्र्याएका हुन् । नेपालमा दशकयता धनतेरस मनाउने प्रचलन बढ्दै गएको छ । बहुराष्ट्रिय कम्पनीका रूपमा भारतीय गहना व्यवसायी नेपाल आएपछि धनतेरसले अझ व्यापकता आएको छ ।
तुलाधारका अनुसार विशेषगरी मारबाडी, तराई र भारतीय मूलको व्यक्तिले धनतेरसको दिनमा सुनचाँदी खरिद गर्छन् । उपत्यकाका बासिन्दाले भने लक्ष्मीपूजाको दिनमा खरिद गर्दै आएको उनको अनुभव छ । उपभोक्ताको आकर्षण चाँदीकै गहनामा भएको उनले बताए । ‘सुनको खपत राम्रौ हुन्छ,’ तुलाधारले भने, ‘तर, चाँदी विश्वास छ । त्यसैले बढी भीड चाँदीकै सामानमा हुन्छ ।’
व्यवसायीका अनुसार धनतेरसका दिनमा क्रयशक्ति कम भएका सर्वसाधरण पनि गहना खरिद गर्न आउँछन् । उपभोक्ताहरू आफ्नो क्षतताअनुसार गहना खरिद गर्छन् ।
मख्खन टोलका गहना व्यवसायी राजेन्द्र शाक्यले पनि गहनाको कारोबार दैनिक बढ्दै गएको बताए । ‘गहनाको बिक्री क्रमिक सुधार हुँदै गएको छ,’ उनले भने, ‘धनतेरसमा २५ प्रतिशतसम्म बढ्ने अनुमान गरेका छौं ।’
तिहारलाई लक्षित गरी गीताञ्जली ज्वेलर्सले हीराको गहनामा ३५ प्रतिशतसम्म छुट र गिफ्ट अफर ल्याएको छ । सुन र हीराका गहनामा एक्सचेन्ज भ्यालु पनि दिएको जनाएको छ । ‘तिहारमा अधिकांश ग्राहकले गहना किन्ने योजना बनाएका हुन्छ । त्यसलाई मध्यनजर गर्दै हीराको गहनामा १५ देखि ३५ प्रतिशत, सुन गहनाको ज्याला घटाएका छौं,’ कम्पनीका सञ्चालक प्रशुन जलानले भने, ‘सुनचाँदीको सिक्का सस्तो मूल्यमा दिएका छौं ।’ गहनामा छुट योजना लक्ष्मीपूजाको दिनसम्म लागू हुने उनले बताए । छुट र गिफ्ट अफर दिएकै कारण सामान्य दिनको तुलनामा माग धेरै भएको बताए ।
गोल्ड एन्ड सिल्भर हाउसका सञ्चालक अभिषेक स्वरागीले सुन र चाँदीको गहनाको बिक्री ५५ देखि ६० प्रतिशतले बढेको बताए । तिहारमा मुख्यत: रेडिमेड भाँडाकुँडा, भगवान्को मूर्ति बिक्री भएको उनले बताए । ‘कछुवा श्री यन्त्र, कुवेर भगवान् र चाँदीको हात्तीको माग अत्यधिक नै छ,’ उनले भने, ‘गुणस्तरीय सामन उचित मूल्यमा बिक्री गरेकाले पनि सर्वसाधारणले धेरै रुचाएका छन् ।’ तिहारमा मुख्यत: चाँदीको सामानहरू बिक्री हुने मान्यता भए पनि सुन र चाँदी दुवैको बिक्री उत्साहजनक भएको बताए ।
गहनाको कारोबार मुख्यत: दसैं, तिहार र बिहेको सिजनमा हुन्छ । त्यसबेला मूल्य जतिसुकै आकासिए पनि सुन खरिद गर्ने ग्राहकको संख्यामा कमी आउँदैन । पूर्वअध्यक्ष शाक्यका अनुसार केही दिनयता सुनको भाउमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले यहाँ पनि बढेको हो । सुन मुख्यत: दुबई, हङकङ, स्विटजरल्यान्डबाट आयात हुन्छ । ती सुन वाणिज्य बैंकले मात्र आयात गर्न पाउँछन् ।
स्रोत:http://kantipur.ekantipur.com/news/2017-10-21/20171017113602.html