तीन ठूला पुल निर्माण अन्तिम चरणमा

February 26, 2018

राजन गाउँले, अन्नपुर्ण पोस्ट, आइतवार, फागुन १३, २०७४

सिन्धुली : सिन्धुलीका विभिन्न भागमा निर्माणाधीन तीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हेटौंडा-सिन्धुली-उदयपुर-चतरा वैकल्पिक राजमार्गअन्तर्गत पर्ने सिन्धुलीको कमला, मरिण र रातु नदीका तीन पक्की पुलको निर्माण तीव्र गतिमा भएको हो।

एक अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माणाधीन पुल सम्झौताअनुसारको समयभन्दा झन्डै डेढ वर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण भइरहेको पुल निर्माण आयोजनाका इन्जिनियर राजेन्द्र आचार्यले जानकारी दिए।

२०७३ असार २९ गते कालिका-रसुवा-तुदी जेभी काठमाडौंले सडक विभाग पुल महाशाखा, पुल आयोजना पूर्वी क्षेत्र सेक्टर १ सँग सम्झौता गरी निर्माण थालिएका तीनै पक्की पुलको निर्माण ५० देखि ८० प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको छ।

‘४८ करोड रुपैयाँ कुल लागत रहेको कमला नदीअन्तर्गत जगाडीमा निर्माणाधीन पाँच सय मिटर लामो पक्की पुलको हालसम्म ७२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। उक्त पुल आगामी असार मसान्तभित्र निर्माण सकिन्छ,’ उनले भने।

यस्तै ४३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण थालिएको मरिण खोलाअन्तर्गत कपिलाकोटा कल्पवृक्षको पुलको निर्माण १४ महिनामै ८० प्रतिशत सम्पन्न भइसकेको छ। उक्त पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मंसिर १२ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो। पुलको लम्बाइ चार सय मिटर छ।

‘उता २० करोड रुपैयाँ लागतमा निर्माण थालिएको दुई सय २५ मिटर लामो पुलको निर्माण हालसम्ममा ५० प्रतिशत सम्पन्न भएको छ’, आचार्यले थपे। यी तीनै पक्की पुलको निर्माण आगामी असार मसान्तभित्र सक्ने लक्ष्य रहेको आचार्यको भनाइ छ।

अन्य निर्माण कार्यमा ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नहुने र लागत बढ्नुका साथै करोडौंका योजना वर्षौंदेखि अलपत्र अवस्था पर्ने गरेका घटनाहरु बाहिर आइरहेको अवस्थामा जिल्लाका तीन ठूला नदीमा निर्माणाधीन पुल भने सम्झौता अवधिभन्दा झन्डै १८ महिनाअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम गरिएको उनले बताए। यी तीनवटै पुलको निर्माण आगामी २०७६ साल पुस २८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ।

‘तत्कालीन प्रधानमन्त्री दाहालले शिलान्यास गर्ने क्रममा समयअगावै पुल निर्माण सम्पन्न गरे ठेकेदार तथा कर्मचारीलाई पुरस्कृत गर्ने उद्घोष गरेका थिए। सोहीअनुसार हामी डेढ वर्षअघि नै पुल निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नेछौं। हामी नेपालमै पहिलोपटक पुरस्कृत हुने निर्माण कम्पनी बन्ने तयारीमा छौं’, उनले भने।

इन्जिनियर आचार्यले आफूहरूले दिनरात नभनी पुल निर्माण कार्य गरिरहेको भए पनि सरकारले समयमा पैसा दिन नसकेको गुनासोसमेत गरेका छन्। ‘हामीले ४३ करोडमा ३० करोड रुपैयाँको काम सकिसकेका छौं। तर पनि सरकारबाट भुक्तानी पाउन सकेका छैनौं। सरकारले समयमा पैसा दिन नसके घर बन्धकी राखेरै भए पनि आगामी पाँच महिनाभित्र पुल निर्माण सक्छौं’, उनले भने।

स्रोत: http://annapurnapost.com/news-details/91863

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More