तीन दर्जन तारे होटल थपिए

January 26, 2018

कारोबार आर्थिक दैनिक, १२ माघ २०७४

पछिल्लो समय एक दर्जनभन्दा बढी नयाँ तारे होटलहरू थपिएका छन् भने दर्जनकै संख्यामा पर्यटकस्तरीय होटलहरू पनि थपिएका छन् । नेपालमा एक दशकपछि पाँचतारे होटल पनि थपिएको छ । पर्यटन विभागका अनुसार एउटा पाँच तारे र ६ वटा चार तारे होटल थपिएका छन् । यस्तै, तीनवटा तीन तारे होटल पनि थपिएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । पर्यटकस्तरका होटल मात्रै पछिल्लो समय २३ वटा होटल थपिएको विभागमा महानिर्देशक भट्टराईले जानकारी दिएका छन् । 
विभागका अनुसार भैरहवामा सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस नामक नयाँ पाँचतारे होटल थप भएको छ । यो होटललाई सिल्भर हेरिटेजले विदेशी लगानीको रूपमा भर्खरै नेपाल भित्र्याएको हो । एएटा थपिए पनि दुईवटा पाँच तारे होटल भने बन्द भएका छन् । २०७२ को भूकम्पपछि राजधानीको एभरेस्ट होटल बन्द छ, भने मजदुर समस्या तथा व्यवस्थापनको कमजोरीले पोखराको फूलबारी रिसोर्ट गत साउनदेखि बन्द अवस्थामै छ । 
नेपालमा करिब तीन दशकपछि औपचारिक रूपमा नयाँ चारतारे होटल एकै वर्षभत्र तीनवटा थप भएका छन् । २७ वर्षअघि स्थापना भएको ललितपुरको हिमालय होटलपछि औपचारिक विभागमा दर्ता भएका चारतारे होटलको संख्या पाँच वटा पुगेका छन् । यसअघि दशकौंसम्म चारतारे होटलको रूपमा लाजिम्पाटको शंकर र हिमालयमात्रै रहेका थिए । काठमाडौंभित्र सीमित चारतारे होटल अव राजधानीबाहिर पनि विस्तार भएका छन् । पछिल्लो समय सोल्टीले नेपालगन्जमा चार तारे होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियम’ सञ्चालनमा ल्याएको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०१६ मा थप भएका तीनवटा चारतारे होटल काठमाडौंबाहिर निर्माण भएर सञ्चालनमा आएका छन् । 
कञ्चनपुरको होटल ओपेरा, नेपालगन्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति पाएका हुन् । यसबाहेक मन्त्रालयको सम्पर्कमा आइसकेका र छिट्टै निरीक्षण गरेर स्तर वर्गीकरणपश्चात् चारतारेको मान्यता पाउने होटलमा नेपालगन्जकै सोल्टी सिब्क्रिम, नगरकोटको मिस्टिक माउन्टेन, कोहलपुरको सेन्ट्रल प्लाजासहितका होटल रहेको उल्लेख छ । 
यसबाहेक व्यवसायले विभिन्न माध्यमबाट घोषणा गरेका होटल निर्माणकै चरणमा रहेकोले सम्पन्न भए पनि मन्त्रालयले गर्ने निरीक्षणबाट मात्रै स्तर वर्गीकरण हुने गरेको छ । पहिल्यै चारतारे भनेर निर्माण गरिए पनि स्तर वर्गीकरणपश्चात उक्त होटल तीनतारे हुने गरेको पनि छ । यसअघि ठमेलको होटल मेरिओट चारतारे भनेर निर्माण सुरु गरिए पनि सञ्चालनमा आउँदा तीनतारेको मात्रै स्तर पुगेको पर्यटन विभागको भनाइ छ ।
तीन दशकदेखि नेपालमा चारतारे होटलको संख्या थप हुन नसकेको भए पनि पर्यटन क्षेत्रमा देखिएको सकारात्मक सम्भावना, लगानीको वातावरण बन्दै जानु र दीर्घकालीन लाभको दृष्टिलाई हेरेर नयाँ होटल थप भएको होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् । उनका अनुसार तीन वर्षभत्रै काठमाडौंमा मात्रै चारतारे होटलमा चार हजार कोठा थप हुँदैछन् । पछिल्लो तीन दशकसम्म एउटा पनि चारतारे होटल नथपिए पनि हाल थपिएका र निर्माणको क्रममा रहेकासहित दर्जन चारतारे होटल आउने तयारीमा रहको पनि शाहले बताए । 
विभागका अनुसार सन् २०१६ मा तीनतारे होटल तीन वटा थप भएका छन् । थपिएका तीनतारे होटलमा ठमेलको १ सय १५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मालवेरी र हेटौंडाको ६० कोठे सामना होटल रहेका छन् । यसअघि ३१ वटा रहेको तीनतारे होटलमा थप संख्यासहित ३४ वटा पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।
विभागका अनुसार पर्यटकस्तरका होटल भने २३ वटा थप भएका छन् । पर्यटकस्तरका होटल हाल ४ सय ८५ वटा पुगेको उल्लेख छ । विभागले दिएको जानकारी अनुसार दुईतारे होटल भने गत वर्ष थप भएनन् । यस्ता होटलको संख्या ४३ छन् । ६ वटा एकतारे होटल भने निरीक्षणका क्रममा स्तर घटुवा भएर पर्यटकस्तरमा झरेका छन् । 
पर्यटन विभागका अनुसार एकतारेबाट स्तर घटेर पर्यटकस्तरमा पुग्ने होटलमा ठमेलको एक्सेक्सर, होटल बुद्ध, होटल मेलम्ची, होटल गरुडा, होटल शक्ति र ओङपिक रहेको छ । होटल मन्त्रालयको अनुगमनका क्रममा तोकिएको मापदण्ड नपुगेका कारण घटुवा भएका हुन् । 

स्रोत: https://www.karobardaily.com/news/corporate/1798

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More