तीन महिनामा सोह्र हजारद्वारा स्वास्थ्य बिमा

April 18, 2017

Nagarik,Mukti Prasad Neupane, 17th April 2017, Palpa

जिल्लामा स्वास्थ्य बिमा गराउनेहरूको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने संख्या आशा गरेभन्दा राम्रो देखिएको हो। 

पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले स्वास्थ्य बिमा गराएका छन् । चार महिनाको अवधिमा दश हजार मानिसको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी १६ हजार मानिसले स्वास्थ्य बिमा गराएको सामाजिक स्वास्थ्य बिमा समिति पाल्पाले जनाएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य बिमा कार्यक्रमबाट ५० हजार रुपैयाँको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि बिमा गराउनेको संख्या बढेको छ। 

१६ हजार बिमा गरेका मानिसहरूमध्ये ६ हजार व्यक्तिले बिमा मार्फत् उपचार सेवा लिन सक्ने गरी कार्य भएको समितिका प्रबन्धक मनोज पौडेलले बताए । उनी भन्छन्, ‘अहिलेसम्म बिमा गर्ने व्यक्तिहरु १६ हजार भए पनि वैशाख १ गतेदेखि १० हजार व्यक्तिले मात्र बिमा मार्फत् उपचार सेवा पाउनेछन्।’ 
वैशाख १ गते देखि ८ वटा स्वास्थ्य सेवा संस्थाहरूले बिमाको उपचार सेवा प्रदान गर्न सुरु  गरेका छन् । वैशाखअघि जिल्ला अस्पताल, रामपुर अस्पताल, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्यचौकी,  लुम्बिनी मेडिकल कलेजले उपचार सेवा दिदै आएकोमा वैशाखपछि युनाइटेड मिशन अस्पताल र लायन्स लाकौल आँखा अस्पतालबाट पनि सेवा सुरु भएको समितिले जनाएको छ । आगामी एक वर्षको अवधिमा जिल्लामा ५० हजार मानिसलाई स्वास्थ्य बिमा गर्ने अनुमान गरिएको प्रबन्धक पौडेलले बताए।

जिल्लाका बिमितहरूले हालसम्म एक हजार एक सय ८० जनाले स्वास्थ्य बिमाबाट उपचार सेवा लिएका छन् । चैत मसान्तसम्म लुम्विनी मेडिकल कलेजबाट नौ सय जना, रामपुर अस्पतालबाट ९० जना, जिल्ला अस्पतालबाट ६० जना, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० जना, खस्यौली प्राथमिक स्वास्थय केन्द्र ६४ जना र लुम्बिनी अञ्चल अस्पतालबाट १६ जनाले उपचार सेवा लिएका हुन् । सेवा लिने व्यक्तिहरूले स्वास्थ्य बिमाप्रति सकारात्मक प्रतिक्रिया दिएको बिमा कार्यक्रमका फोकल पर्सन गौरीशंकर सिंहले बताए । उनले बिमाको लागि हालसम्म ५५ लाख रुपियाँ बैंकमा जम्मा गरिएको र उपचार सेवामा ६ लाख १० हजार रुपियाँ खर्च भएको बताए।स्वास्थ्य बिमाका लागि ८३ जना स्वयंसेवीहरू जिल्लामा खटिएका छन् । सरकारले देशका विभिन्न ८ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम गरेको छ । विपन्न नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको हो 

Source: http://www.nagariknews.com/news/18243/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More