तीन महिनामा ४६ अर्बको इन्धन आयात

November 07, 2019

दिलीप पौडेल, नागरिक, कार्तिक २१, २०७६

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकमा करिब ४६ अर्ब रुपैयाँको इन्धन आयात भएको छ। पोहोरको तुलनामा हवाई इन्धनबाहेक पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यासको आयात बढेको नेपाल आयल निगमले जनाएको छ।

आयात वृद्धि भए पनि इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको कारण यो वर्ष इन्धन खरिदमा गत वर्षभन्दा करिब सात अर्ब रुपैयाँ कम रकम बिदेसिएको छ। पोहोर सोही अवधिमा आयल निगमले इन्धन खरिद गर्नका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई ५३ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

निगमका अनुसार जुलाई १६ देखि अक्टोबर १६ (साउनदेखि असोजसम्म) हवाई इन्धनबाहेक पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको आयात वृद्धि भएको छ। पेट्रोलियम पदार्थ आयात गत वर्षभन्दा १९ हजार दुई सय ३९ किलोलिटर बढी छ। हवाई इन्धनबाहेक सबै इन्धनको आयात बढेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन गत वर्षको तीन महिनामा पाँच लाख ३६ हजार नौ सय २४ किलोलिटर आयात भएकोमा यो वर्ष बढेर पाँच लाख ५६ हजार एक सय ६३ किलोलिटर पुगेको छ। यो वर्ष पेट्रोल एक लाख ५५ हजार चार सय ६ किलोलिटर आयात भएको छ। गत वर्ष पेट्रोल एक लाख ३७ हजार आठ सय १५ किलोलिटर आयात भएको थियो। त्यसैगरी, डिजेल गत वर्ष तीन लाख ४३ हजार तीन सय एक किलोलिटर आयात भएकोमा यो वर्ष तीन लाख ४५ हजार ८१ किलोलिटर आयात भएको छ।

डिजेल आयात अघिल्लो वर्षको तुलनामा भने कम छ। आर्थिक वर्ष ०७४÷७५ मा दुई लाख ८४ हजार दुई सय ११ किलोलिटर आयात भएकोमा गत आर्थिक वर्ष ०७५/६७ मा तीन लाख ४३ हजार तीन सय एक किलोलिटर आयात भयो। अघिल्ला वर्षसम्म लोडसेडिङको कारण उद्योगहरुले डिजेल प्रयोग गरेकोमा अहिले लोडसेडिङ हट्दा डिजेल खपत केही घटेको निगमले जनाएको छ।

हवाई इन्धनको आयात चार सय ७२ किलोलिटर घटेको छ। हवाई इन्धन गत वर्ष ४९ हजार एक सय ८० किलोलिटर आयात भएकोमा यो वर्ष ४८ हजार सात सय आठ किलोलिटर आयात भएको छ। खाना पकाउने ग्यासको आयात पनि बढेको छ।

गत वर्षभन्दा पाँच हजार सात सय ७० मेट्रिक टन ग्यास धेरै आएको छ। यो वर्ष एक लाख नौ हजार एक सय ८१ मेट्रिक टन ग्यास आयात भएको छ। गत वर्षको सोही अवधिमा एक लाख तीन हजार चार सय ११ मेट्रिक टन ग्यास आयात भएको थियो। पाइप लाइनमार्फत डिजेल ढुवानी भएपछि डिजेल ढुवानी गर्ने ट्यांकरले डिजेल कम प्रयोग गरेका छन्।

निगमले गत आवमा एक खर्ब ९३ अर्ब ३३ करोड रुपैयाँको इन्धन भारतबाट आयात गरेको थियो। भारतबाट इन्धन खरिद गरेर बिक्री गर्दा निगमले सरकारलाई गत वर्ष विभिन्न शीर्षकबाट करिब साढे ६१ अर्ब रुपैयाँ राजस्व बुझाएको थियो। पेट्रोलियम पदार्थको कारोबारबाट आर्थिक वर्ष ०७५/७६ मा ६१ अर्ब ६१ करोड ४८ लाख ७३ हजार रुपैयाँ सरकारी खातामा राजस्व जम्मा गरेको थियो। इन्धन आयात तथा कारोबार गर्दा भन्सार शुल्क, भन्सार सेवा शुल्क, सडक मर्मत कर, वातावरण प्रदूषण कर, बूढीगण्डकी जलविद्युत् परियोजनालाई पूर्वाधार कर, आयकर र मूल्य अभिवृद्धि करबापत उक्त राजस्व बुझाएको हो।

श्रोतः https://nagariknews.nagariknetwork.com/news/101129/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More