लक्ष्मी सापकोटा, कारोबार आर्थिक दैनिक, ११ मंसिर २०७४
मुलुकमा पछिल्लो तीन महिनामा ५ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ५ अर्ब २१ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ । यस अविधिमा आलु, प्याज, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ७२ करोड ९ लाख ५४ हजार रुपैयाँको तरकारी आयात भएको थियो ।
छिमेकी मुलुक भारतबाट कृषिमा पर्याप्त अनुदान हुँदा स्वदेशी उत्पादनभन्दा कम मूल्यमा नेपाली बजारमा तरकारी भित्रिने गर्छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा १ अर्ब ४५ करोड २० लाख ४ हजार रुपैयाँको आलु आयात भएको छ । त्यसैगरी ३३ करोड ५५ लाख २ हजार रुपैयाँको गोलभेंडा र ९४ करोड रुपैयाँको प्याज आयात भएको छ । त्यस्तै १७ करोड ६५ लाख ४ हजार रुपैयाँको लसुन, १ लाख १८ हजार रुपैयाँको काउली, २२ लाख ७ हजारको सिमी, ४० हजारको बन्दागोभी आयात भएको छ । यस अवधिमा ४२ करोड १५ लाख ४ हजार रुपैयाँ चना आयात भएको छ ।
कृषिमा पर्याप्त अनुदान नहुनु, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्नु र किसानलाई पर्याप्त तालिम दिन नसक्दा नेपाली किसानले मागअनुसार तरकारीको उत्पादन गर्न सकेका छैनन् । वार्षिक रूपमा २ प्रतिशतका दरले तरकारी उत्पादनमा वृद्धि भइरहे पनि कृषि सडकको पहुँच हुन नसक्दा गाउँको उत्पादन बजारसम्म आउन नसकेको कृषि विज्ञहरू बताउँछन् ।
कालिमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा तरकारी आयात गर्नुपरेको बताए । भारतबाट विशेष गरी प्याज, लसुन तथा आलु आयात हुन्छ । आलु, प्याजको नेपालमा व्यावसायीक खेती नभएकाले पनि आयात गर्नुपरेको उनको भनाइ छ । त्यस्तै सिजनमा धेरै तरकारी उत्पादन भए पनि कोल्डस्टोरको अभावले गर्दा भण्डारण गरेर राख्न नसक्ने समस्या किसानले खेप्नुपरेको व्यवसायीहरू बताउँछन् ।
कृषक तथा व्यापारीले तरकारी कुहिने डरले उत्पादन हुनासाथ बिक्री गरिहाल्नुपर्ने बाध्यता छ । मुलुकमा करोडौंको तरकारी बाहिरबाट आयात भइरहँदा पहाडी जिल्लामा उत्पादित तरकारीको उपयोग हुन सकेको छैन । सडक सञ्जाल नजोडिँदा पहाडि जिल्लाका तरकारी गाउँमै कुहिने गरेको छ । कृषिप्रधान मुलुक नेपालमा बर्सेनि अर्बौं रुपैयाँको तरकारी आयात हुँदा निर्यात भने न्यून रहेको छ । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँको चामल आयात भएको छ ।
पछिल्लो समय खेतीयोग्य जमिन घरघडेरीमा प्रयोजन हुन थालेपछि तरकारी उत्पादन कमी हुने गरेको छ । मुलुकमा भित्रिने रेमिट्यान्सको प्रभावले परनिर्भरता बढ्दै गएको कृषि विज्ञको भनाइ छ ।