News

तीन महिनामा ८० करोड रेमिटयान्स

October 16, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ३० आश्विन २०७४ 

धादिङ: दसैं र तिहारको अवधिमा मात्रै जिल्लामा औपचारिक रूपमा ८० करोडको रेमिटयान्स भित्रिएको छ । 

भदौदेखि हालसम्म ८० करोड रुपैयाँ भित्रेको हो । यो जिल्ला वैदेशिक रोजगारीको गन्तव्यमा जानेहरूमध्ये अग्रणी स्थानमा पर्छ । यहाँबाट मलेसिया, कुवेत, कतारलगायतका देशमा रोजगारीका लागि जाने गरिएको छ । जिल्लामा रेमिटयान्सको कारोबार गर्दै आएको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीका अनुसार चालु वर्षको तीन महिनामा ८० करोड भित्रेको हो ।

चाडपर्वमा रेमिटयान्सको कारोबार वृद्धि हुने गर्छ । इन्टरनेसनल रेमिटयान्स ७१ करोड ४० लाख र आन्तरिक रेमिटयान्स ९ करोड भुक्तानी भएको छ । दैनिक २० देखि ४० लाखको हाराहारीमा १ सय देखि १ सय ५० जनाले रेमिटयान्स पठाउने गरेका छन् । सामान्य समयमा दैनिक ५० देखि ६० लाखको हाराहारीमा रेमिटयान्स भित्रिँदै आएको छ । दसैंको समयमा दैनिक डेढ करोड भुक्तानी भएको गिरीले बताए । जिल्लाका सबैजसो कम्पनीबाट बाहय र आन्तरिक कारोबार बढेको हो ।

अघिल्लो वर्ष २०७३, ०७४ मा बाहय रेमिटयान्स १ अर्ब ६६ करोड ५८ हजार ३ सय ११ र आन्तरिकतर्फ ५१ करोड १० लाख ९५ हजार ३ सय ७० गरी जम्मा २ अर्ब १७ करोड ११ लाख ५३ हजार भित्रिएको थियो । आव वर्ष ०७१ र ७२ मा जम्मा २ अर्ब १ करोड ११ लाख ५४ हजार रुपैयाँ बराबर रेमिटयान्सको कारोबार भएको थियो । जसअन्तर्गत १ अर्ब ५६ करोड ५७ हजार ३ सय १६ रुपैयाँ र आन्तरिकतर्फ ४५ करोड १० लाख ९७ हजार ४ सय ७१ रहेको छ । विदेशमा रहेका नेपालीहरूले खासगरी आईएमई गरी रकम पठाउने गर्छन् ।


स्रोत:http://kantipur.ekantipur.com/news/2017-10-16/20171016080801.html​​​​​​​