तीन वर्षका लागि जडीबुटी सङ्कलनमा प्रतिबन्ध

February 21, 2018

आर्थिक अभियान, फागुन ९, २०७४

फागुन ९, बाजुरा । अवैध रुपमा जडिबुटी सङ्कलन गरिएको पाइएपछि बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी सङ्कलनमा प्रतिबन्ध लगाउने भएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी सङ्कलन कार्यमा प्रतिबन्ध लगाउने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा सङ्कलन भएपछि रोक लगाइएको बताए ।

दोस्रो गाउँसभाले पहिलो गाउँसभाबाट विनियोजित गरिएका बजेट तथा योजना कार्यान्वयन गर्ने प्रस्तावसमेत पारित गरिएको अधिकृत थापाले बताए । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको हो ।

सभाले चालू आर्थिक वर्ष २०७४/७५ र आगामी आव २०७५/७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

उक्त सम्मेलनमा उनले गाउँ कार्यपालिकाले पास गरेका विभिन्न ऐन, नियमावली कार्यविधि अनुमोदन, गाउँपालिकामा वित्तीय सेवाको नाममा सेवा दिइरहेका वित्तीय संस्था र बैङ्कलाई प्रतिबन्ध गर्ने, मदिरा व्यवसायलाई व्यवस्थित पार्ने, घुम्ती व्यापारीलाई प्रतिबन्ध लगाउने, न्यायिक समिति गठन गर्ने, सरकारी बाँझो जग्गा गाउँपालिकाले उपयोग गर्नेलगायतका १४ ओटा निर्णय सर्वसहमतिका आधारमा पारित गरिएको जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउका लागि सबैको सहयोग आवश्यक हुने बताए ।

रोकायाका अनुसार गाउँपालिका उपाध्यक्ष सीता थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । समितिमा बलबहादुर रोकाया र कलकबहादुर सिंह सदस्य रहेको अध्यक्षको भनाइ रहेको छ । 

स्रोत: www.abhiyan.com.np/2018/02/21/182101

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More