तुलनात्मक लाभका वस्तु : ९ मध्ये ५ वस्तुको निर्यातमा सुधार

January 01, 2019

राजु चौधरी,कान्तिपुर, १७ पुष २०७५

काठमाडौँ — सरकारले घोषणा गरेका तुलनात्मक लाभका वस्तुको निर्यात ७ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा १५ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको छ ।यो अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३ करोड रुपैयाँले बढी हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को पहिलो ५ महिनामा १४ अर्ब ७३ करोड रुपैयाँको निर्यात भएको थियो । ‘तुलनात्मक लाभका वस्तुको निर्यातमा धेरै सुधार भएको छ । केही वस्तुमा डबल डिजिटमा निर्यात भएको छ,’ केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, ‘उनी गलैचा, पश्मिना, धागो लगायत प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम संचालन गरेका थियौं, निर्यात वृद्धिले सफल भएको देखाउँछ ।’ अन्तरप्रदेशीय व्यापारलाई बढाउन सके आयात प्रतिस्थापन गर्न सहज हुने उनले बताए ।
सबै क्षेत्रमा लगानी गर्न नसक्ने हुँदा सरकारले लाभका वस्तु पहिचान गर्छ । व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ अन्तर्गत अलैंची,अदुवा, चिया, औषधी तथा सुगन्धित वनस्पति, कपडा/धागो, लेदर, फुटवेयर, च्याङ्ग्रा पश्मिना, गलैंचा परेका छन् । तथ्यांकअनुसार यी ९ वस्तुमध्ये ५ वस्तुको निर्यात बढेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी कपडा तथा धागोको निर्यात बढेको छ ।
पहिलो ५ महिनामा ६ अर्ब ३९ करोडको निर्यात भएको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो ५ महिनामा ५ अर्ब ६९ करोडको निर्यात भएको थियो । गलैंचाको निर्यात पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । २ अर्ब ८८ करोड निर्यात भएको गलैंचा ३ अर्ब ३५ करोड पुगेको छ । चियाको निर्यात १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । च्याङ्ग्रा पश्मिनाको निर्यात ४.३ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
जानकारका अनुसार स्वदेशी वस्तुको माग भए पनि कम उत्पादन र गुणस्तरकै कारण अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिएको छैन । गुणस्तरीय उत्पादन भए आयात प्रतिस्थापनमा केही सहज हुने उनीहरूको दाबी छ । केन्द्रको तथ्यांकअनुसार अदुवाको निर्यात ६.४ प्रतिशतले बढेर २७ करोड ६८ लाख, औषधी तथा सुगन्धित वनस्पतिको १०६.९ प्रतिशत बढेर ६४ करोड ३७ लाख रुपैयाँ पुगेको उल्लेख छ ।
तथ्यांक अनुसार अलैंची, लेदर र फुटवेयरको निर्यात भने घटेको छ । अलैंचीको निर्यात २३ प्रतिशतले घटेर १ अर्ब २३ करोड रुपैयाँमा खुम्चिएको छ । फुटवयेरको निर्यात २४.१ प्रतिशतले घटेर ४८ करोड ९ लाख रुपैयाँमा झरेको छ ।
२०७४/७५ को पहिलो ५ महिनामा ६३ करोड ३८ लाख रुपैयाँको निर्यात भएको थियो । नेपालबाट गोल्ड स्टार जुत्ता मात्रै निर्यात हुन्छ । उक्त जुत्ता भारतमा निर्यात हुन्छ । लेदरको निर्यात पनि ५४.४ प्रतिशतले घटेर १६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
कार्यकारी निर्देशक राणाले चालु आर्थिक वर्षमा निर्यात अनुदानमा वृद्धि गरेकाले निकासीमा प्रोत्साहन मिल्ने बताए । ‘स्वदेशी उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेनन् । दुई प्रतिशत दिंदै आएको अनुदान सरकारले दोब्बर बनाएको छ,’ राणाले भने, ‘अनुदान वृद्धिले आगामी दिनमा निकासी व्यापारलाई अगाडि बढाउँछ । आयात घटाउँछ ।’ सरकारले अनुदान वृद्धि गरे पनि छिमेकी मुलुकको तुलनामा भने कम नै छ ।
सरकारले २०७५/७६ को बजेट भाषणमा औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने घोषणा गरिएको थियो । साताअघि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि ५ प्रतिशतसम्म अनुदानको बाटो पनि खुलेको हो । सरकारले २६ वस्तुमा निर्यात अनुदान ३ देखि ५ प्रतिशत दिनेछ । ५ प्रतिशत अनुदान पाउने वस्तुहरू प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना हुन् ।
अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल छन् । ३ प्रतिशत अनुदान पाउने वस्तुमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू छन् । यस्तै सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधी, फेल्ट (ऊनीजन्य) का वस्तुहरू, पोलिस्टर यार्न/फाइबर भिस्कोर्स यार्न/कटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) रहेको जनाएको छ ।
५ महिनामा व्यापार घाटा ५ खर्ब ६९ अर्बकेन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा व्यापार घाटा ५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निर्यात १२.३ प्रतिशतले बढे पनि व्यापार घाटा बढेको हो ।
‘५ महिनाको अवधिमा कुल व्यापार ३२.३ प्रतिशतले बढेको छ ।निर्यात पनि बढेको छ,’ केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले भने, ‘निर्यातसँगै आयात पनि बढेकाले घाटा ५ खर्ब नाघेको देखिन्छ ।’ तथ्यांकअनुसार ५ महिनामा ३७ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ ।
आयात भने ६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी पेट्रोलियम प्रदार्थ आयात भएको छ । ५ महिनाको अवधिमा ५८.४ प्रतिशतले बढेर ८७ अर्ब ९९ करोड रुपैयाँको आयात भएको छ । कुल आयातमा पेट्रोलियमको हिंसा १४.५ प्रतिशत रहेको जनाइएको छ ।

कार्यकारी निर्देशक राणाले आयातित इन्धन पुँजी निर्माणमा खपत भए, भविष्यमा व्यापार घाटा कम हुने दाबी गरे । ‘यसले उत्पादन बढाउँछ, घाटा घटाउँछ,’ उनले भने । दोस्रोमा आइरन तथा स्टिल प्रोडक्टहरू आयात भएको छ । ५ महिनामा ७३ अर्ब २३ करोड रुपैयाँको आइरन तथा स्टिलका उत्पादन आयात भएको उल्लेख छ ।

सोर्त:https://www.kantipurdaily.com/business/2019/01/01/154631192525765978.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter