उत्तम काप्री, अन्नपुर्ण पोस्ट, ५ असोज २०७४
काठमाडौं : स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको करिब १० महिनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको आंशिक कामका लागि कम्पनी छनोट भएको छ। विमानस्थल स्तरोन्नतिअन्तर्गत एनसीबी २ नम्बरको काममा लागि नेपाली कम्पनी शर्मा प्रेरा आशिष जोयन्ट भेन्चर छनोट भएको हो। कम्पनीले आगामी २१ महिनाभित्र ७७ करोड रुपैयाँमा इन्टरनेसनल टर्मिनल भवन निर्माण गरिसक्नुपर्छ।
सान्जोसेसँग ठेक्का रद्द भएपछि सरकारले विमानस्थल विस्तारमा एकै कम्पनीले काम गर्न नसक्ने भन्दै चार तहमा वर्गीकरण गरेर काम गर्ने निर्णय गरेको थियो। सोहीअनुरूप नेपाल नागरिक उड्डयन प्राधिकरणले एनसीबी १, एनसीबी २ र एनसबी ३ का लागि गत फागुन ७ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिन सक्ने गरी बोलपत्र आह्वान गरेको थियो।
बोलपत्र आह्वानमा एनसीबी २ अन्तर्गत रहेको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि १९ वटै कम्पनीले फाराम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेका थिए। यसमा कन्टिच लुम्बिनी जेभी, सांघाई कन्स्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले टेन्डर दाखिल गरेका थिए। यीमध्ये प्राविधिक रूपमा कन्टिच लुम्बिनी जेभी र शर्मा प्रेरा आशिष मात्रै छनोट भएका थिए। प्राविधिक रूपमा छनोट भएका दुई कम्पनीमध्ये शर्मा प्रेरा आशिषसँग २१ महिनाभित्र अन्तर्राष्ट्रिय यात्रुको आगमन र प्रस्थान हुने भवन निर्माणका लागि सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले जानकारी दिए। इन्टरनेसनल भवन विस्तारका लागि निर्माण कम्पनीले ७७ करोड रुपैयाँ पाउनेछ।
यसैगरी प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिअन्तर्गतको एनसीबी १ अन्तर्गतको रन वे विस्तारका लागि पनि यसै साता निर्माण कम्पनी छनोट हुने जनाएको छ। रन वे विस्तारका लागि पनि १९ वटा कम्पनीले आवेदन फाराम लगेका थिए। टेन्डर दाखिला गर्ने अन्तिम दिनसम्म पाँचवटा कम्पनीले मात्रै काम गर्ने भन्दै प्रस्ताव पेस गरेका थिए। टेन्डरमा चाइना रेलवे, सांघाई कन्स्ट्रक्सन, कालिका टुन्डी जेभी, सांघी कन्स्ट्रक्सन र स्टारपाग इन्टरनेसनले काम गर्ने इच्छा देखाएका थिए।
कम्पनीले आगामी २१ महिनामा ७७ करोड रुपैयाँमा इन्टरनेसनल टर्मिनल भवन निर्माण गरिसक्नुपर्छ।
तर प्राधिकरणको टेन्डर मूल्यांकन कमिटीले चाइना रेलवे, कालिका टुन्डी जेभी, सांघी कन्स्ट्रक्सन र स्टारपाग इन्टरनेसन प्राविधिक रूपमा सक्षम रहेको ठहर गरेको थियो। अब प्राविधिक रूपमा सक्षम चार कम्पनीमध्ये आर्थिक रूपमा सबैभन्दा सस्तोमा काम गर्ने कम्पनीले रन वे विस्तारको जिम्मा पाउने श्रेष्ठले जानकारी दिए। रन वे विस्तारका लागि प्राधिकरणले ५ दशमलव ८ मिलियन डलरभित्र काम गर्ने गरी वैशाख ७ गतेको अन्तिम मिति राखेर बोलपत्र बोलपत्र आह्वान गरेको थियो।
यसैगरी प्राधिकरणले एनसीबी ३ अन्तर्गतको कामका लागि गरेको पहिलो टेन्डरमा कुनै पनि कम्पनीले आवेदन दिएका थिएनन्। त्यसपछि प्राधिकरण पुनः टेन्डर आह्वान गरेर अहिले कम्पनी छनोटको चरणमा रहेको श्रेष्ठले जानकारी दिए। ३ नम्बरअन्तर्गत वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउसलगायत कामका लागि प्राधिकरणले १.८ मिलियन अमेरिकी डलरको सीमा तोकेको छ।
प्राधिकरणले सबैभन्दा गाह्रो कामअन्तर्गत रहेको अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे निर्माणका लागि भने बोलपत्र आह्वान गर्न सेकेको छैन। अहिले अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे निर्माणका लागि परामर्शदाताले डिजाइन निर्माण गरिरहेको श्रेष्ठ बताउँछन्। डिजाइन र लागत सेप्टेम्बरभित्रै तय गर्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने श्रेष्ठले बताए।
सान्जोसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोडमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले गत मंसिर २४ गते सम्झौता रद्द गरेको थियो। सान्जोसेले नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल बनाइरहेको थियो।
विमानस्थल निर्माणमा २० लाख घनमिटर माटो आवश्यक पर्छ। यहीबीचमा पशुपतिको माटो ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी पर्यो। लगत्तै पशुपति क्षेत्र विकास कोषले माटो लैजान नदिने निर्णय गर्यो। पशुपतिको माटो नपाएमा निर्माण अगाडि बढाउन नसक्ने सान्जोसेले अडान राखिरहेको समयमा प्राधिकरणले सम्झौता रद्द गरेको हो। विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पनि विमानस्थल निर्माणमा अवरोध भयो। प्राधिकरणले निर्माण अवधि थपेर सन् २०१६ पुर्याएको थियो। समय थपेसँगै कम्पनीले एक हजार ९५ दिनमा सबै काम सक्नुपर्ने हुन्थ्यो। तर, निर्माणमा लापरबाही गरिदिँदा १७ प्रतिशतमात्र सम्पन्न भएको थियो।
निर्माण कम्पनी सान्जोसेले पहिलो चरणमा विमानस्थलको हवाई पूर्वाधार निर्माण, तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, ढल निकास, पावर सप्लाई र जनेरेटर, एयर फोर्स लाइट सिस्टम, फोहोर प्रशोधन केन्द्र, जहाजबाट आउने फोहोर व्यवस्थापनको काम र दमकल उपलब्ध गराउनेलगायत थियो। तर यस अवधिमा कम्पनीले दमकल ल्याउनेबाहेक खासै काम गरेको थिएन। पहिलो समूहअन्तर्गत रहेको काममा कुल १६.५३ दोस्रो तहको काममा ११.४ प्रतिशत मात्र प्रगति हासिल गरेको थियो। तेस्रो चरणको काममा निर्माण कम्पनीले केही काम गरेको थियो। यसमा सिमीकोट र रारा विमानस्थलका लागि आवश्यक जलवायु मापनसम्बन्धी उपकरण उपलब्ध गराउने भन्ने सम्झौता भएको थियो। निर्माण कम्पनीले सामान खरिद गरे पनि हस्तान्तरण गरेको थिएन।
स्रोत:
http://annapurnapost.com/news-details/80766