दक्षिणका ७० चेकप्वाइन्ट संवेदनशील

November 03, 2017

मातृका दाहाल, कारोबार आर्थिक दैनिक, १७ कार्तिक  २०७४

गृह मन्त्रालयले भारतसग सीमा जोडिएका दक्षिणतर्फका करिब ६ दर्जन चेकप्वाइन्टमा भन्सार छली र आपराधिक गतिविधि नियन्त्रणमा चुनौती रहेको निष्कर्ष निकालेको छ । मुख्य नाका र छोटी भन्सारबाहेक दक्षिणतर्फका ७० भन्दा बढी चेकप्वाइन्टमार्फत हातहतियार÷लागुऔषध कारोबार, भन्सार छली तथा विदेशी नागरिकको अवैध आवतजावत हुने गरेको भन्दै मन्त्रालयले पहिचान भएका नाकाको सुरक्षाजाँचमा कडाइ गर्न सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
उत्तरतर्फ २५ भन्दा बढी नाका तथा सीमा भञ्ज्याङ भए पनि १ दर्जनभन्दा बढी स्थानमा मात्रै मानिस आवतजावत गर्न मिल्ने गृह मन्त्रालयको भनाइ छ । राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र नेपाल प्रहरीको विशेष व्यूरोका अधिकारीहरूले समेत आपराधिक गतिविधि नियन्त्रणमा भारतीय सीमा नाका जोड्ने चेकप्वाइन्ट प्रमुख चुनौतीका रूपमा औंल्याएका छन् । काठमाडौंसहित देशका विभिन्न स्थानबाट बरामद भएका अवैध हातहतियार यीनै चेकप्वाइन्टबाट भित्रिएको प्रहरी अधिकारीहरूको दाबी छ ।
“निर्वाचन सुरक्षा, भन्सार छली, तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्न केन्द्रीय सुरक्षा समिति बैठकले सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सीमा सीमा सुरक्षा बैठक आह्वान गर्न निर्देशन दिइसकेको छ,” गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडी भन्छन्, “सोहीअनुसार केन्द्रीय, क्षेत्र र जिल्ला सुरक्षा रणनीति तय गरिएको छ ।”
भारत र चीन जोड्ने मुख्य नाक, भन्सार र चेकप्वाइन्ट गरी ८७ स्थानमा सशस्त्र प्रहरीले ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता दुवाडीले पहिचान भएका चेकप्वाइन्टलाई लक्षित गरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीका संयन्त्रको उपस्थिति समेत बढाइएको बताए । अध्यागमन विभागले समेत दक्षिण तर्फका ७० चेकप्वाइन्टमा आफ्नो उपस्थिति शून्य रहेको र त्यो अध्यागमन सुरक्षाका लागि समेत चुनौती रहेको बताएको छ ।
विभागका महानिर्देशक दीपक काफ्लेले ६ दर्जन चेकप्वाइन्टबाट हुने मानव आवतजावतमाथी निगरानी राख्न आवश्यक रहेको र अध्यागमन सुधार योजनामा समेत यसलाई प्राथमिकतामा राखिएको बताए ।
“आपराधिक गतिविधि नियन्त्रणमा पहिचान भएका दक्षिणतर्फका ७० भन्दा बढी चेकप्वाइन्टलाई ज्यादै संवेदनशील रूपमा लिएका छौं,” महानिर्देशक काफ्लेले भने, “अपराधिक गतिविधिमा सञ्चालनमा रहेका नाका भन्दा यी स्थान बढी जोखिम र चुनौतीपूर्ण रहनसक्छन् ।” ३ वर्षे सुधार योजना अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीका संयन्त्रसँग समन्वय गरी पहिचान भएका सबै चेकप्वाइन्टमा सुरक्षा तैनाथी बढाउने र मानिस आवतजावतको अभिलेख अनिवार्य रूपमा राख्ने प्रणालीको विकास गर्न लागिएको काफ्लेको भनाई छ । पूर्व क्षेत्र मुख्यालय बराह बाहिनी पोकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराईले चुनावी ,सुरक्षा रणनीति अनुसार मातहत सबै सीमा नाकाको सुरक्षा व्यवस्था मजबुत पारिएको बताए । डीआइजी भट्टराईले भने, “निर्वाचन सुरक्षा रणनीति अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक जनशक्ति परिचालन गरेका छौं ।” पूर्व क्षेत्रसहित देशभर सशस्त्र प्रहरीका करिव ८ हजार जनशक्ति सीमा सुरक्षामा तैनाथ छन् ।

स्रोत: https://www.karobardaily.com/news/83120

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More