गोपाल संग्रौला, कारोबार, मंगलबार, चैत्र २७, २०७४
आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष र प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ । नेपाल सरकारले अदक्ष कामदारमात्र कोरिया गइरहेको भन्दै दक्ष कामदारका रूपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । अन्य प्रक्रियाबाट न्यून संख्यामा नेपाली नर्स कोरिया गइरहे पनि हाल सञ्चालनमा रहेको ईपीएस प्रणालीबाट नै दक्ष नेपाली कामदार माग गर्न सरकारले गरेको अनुरोधमा कोरियाली पक्ष सकारात्मक रहेको देखिएको उनले बताए । अन्य भिसामार्पmत कोरिया नर्स गइरहेपनि ईपीएसमार्पmत नै नेपाली नर्सलाई लैजानेबारे छलफल अगाडि बढाइने नेपालका लागि कोरियाली राजदूत फाक यङ सिकले आश्वासन दिएको मन्त्रालयले जनाएको छ ।
रोजगार अनुमति प्रणालीअन्तर्गत अदक्ष कामदारका रूपमा उत्पादन र कृषि क्षेत्रमामात्र हालसम्म ५० हजारभन्दा बढी नेपाली कामदार कोरिया गइसकेका छन् । अन्य देशको तुलनामा नेपालबाट विशेषज्ञ जनशक्तिको रूपमा डाक्टर, इन्जिनियर, शिक्षक तथा प्राध्यापकका रूपमा जानेको संख्या न्यून छ । यी जनशक्ति पनि उच्च शिक्षा अध्ययनका लागि कोरिया गएर विशेषज्ञता हासिल गरेपछि उतै रोजगारी पाउनेको संख्या बढी रहेको छ । नेपालबाट हालसम्म ईपीएसमार्फत सोझै यस्ता दक्ष र विशेषज्ञ जनशक्ति माग गरिएको छैन । कोरिया सरकारले अदक्ष विदेशी कामदारको माग गर्न सन् २००८ देखि नेपालका लागि रोजगार अनुमति प्रणाली लागू गदै आएको छ । कोरियामा दक्ष कामदारको तुलनामा अदक्ष कामदारको धेरै अभाव रहँदै आएको कोरियामा लामो समयदेखि बस्दै आएका नेपाली बताउँछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँगको भेटमा नेपालका लागि कोरियाली राजदूत फाक यङ सिकले नेपाली कामदार मेहनती रहेको जनाउँदै अन्य देशको तुलनामा नेपाललाई कामदारलाई कोटा बढी दिइरहेको र नर्सलगायतका दक्ष कामदार माग गर्ने बिषयमा कोरिया सकारात्मक रहेको बताए । मन्त्री बिष्टले नेपाललाई कोरियाले दिँदै आएको कोटा बढाउन, कार्यस्थल बाहिर हुने दुर्घटना बिमा व्यवस्था र नेपाली कामदारका आफन्तलाई कोरिया भम्रण गराइ परिवारिक भेटघाटको व्यवस्था गर्न अनुरोध गरेपछि यी विषयमा समेत कोरियन पक्ष सकारात्मक देखिएको छ ।
ईपीएस शाखा निर्देशक कृष्णप्रसाद खनालले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा नेपालस्थित कोरियाली राजदूत, मन्त्री बिष्ट तथा ईपीएस शाखाका प्रतिनिधिसहितको छलफलमा कोरियामा रहेका नेपाली कामदारमा देखिएको डिप्रेसन, त्यससपछिको आत्महत्या र अन्य समस्यालाई न्यूनीकरण गर्न कामदारका आफन्तलाई कोरिया भ्रमण गराइ उनीहरूको मनोबल बढाउन सकिने विषयमा छलफल भएको बताए । “छलफलमा नेपाल सरकारले बिमा, कोटा र दक्ष कामदारको माग बढाउने सम्बन्धमा गरेको अनुरोधमा कोरियाली पक्ष सकारात्मक रहेको छ,” शाखा निर्देशक खनालले भने, “कोरियामा कामदार पठाउने १६ राष्ट्रमध्ये कोरिया सरकार नेपाल र नेपाली कामदारप्रति सकारात्मक रहेको छ ।”