आर्थिक अभियान , फागुन १४, २०७४
पर्वत । पर्वतमा अग्ला र लामा पुल बनेपछि पुराना पुलहरू प्रयोगविहीन बनेका छन् । मोदी खोला, मल्याङ्दी खोला, कालीगण्डकी, चिर्दी खोला, लुङ्दीखोला र पैयुँ खोलामा रहेका झोलुङ्गेपुलहरू प्रयोगविहीन बनेका हुन् । लाखौं खर्चिएर निर्माण भएका पुल अहिले अलपत्र छन् । २०६६ सालमा सदरमुकाम कुश्मालाई ज्ञादी क्षेत्रसँग जोड्ने गरी ३ सय ४४ मिटर लामो पुल बनेपछि मोदीवेनीका २ र झाँप्रेबगरमा रहेको एउटा पुल अहिले प्रयोग गर्न छाडिएको छ ।
कुर्घालाई फलेवास जोड्ने गरी ३ वर्षअघि लामो पुल बनेपछि चिर्दिखोलाको पुल प्रयोगमा आएको छैन । गत चैतमा मल्याङ्दी खोलामा पक्की पुल बनेपछि बगुवाको पुल पनि प्रयोगमा छैन । मुडिकुवाका युगनाथ गौडेल रेग्मीले भने, ‘मान्छे नै नहिँडेपछि मोदीवेनीका पुल पनि जीर्ण बन्दै गएका छन् ।’ कालीगण्डकीमाथि ३ सय ४७ मिटर लामो कुश्मा–कैया पुल बनेपछि मोदी र कालीगण्डकीका पुल पनि प्रयोगमा छैनन् । सदरमुकाम कुश्मामै सबैभन्दा बढी पुलहरू प्रयोगविहीन छन् । यसका अलवा फलेवास, पैयुँ, विहादी, मोदी र जलजला गाउँपालिकामा नयाँ पुल बनाई मोटरबाटो पुगेपछि पुराना पुलहरू बेकामे भएको ठूली पोखरीकी सीता लामिछानेले बताइन् ।
कतिपय पुलहरूका सामग्री काम नलाग्ने भएका छन् । झाप्रेबगरको पुल खिइएर नदीमा खम्बा, तार र डेकहरू झरेर बग्ने गरेको स्थानीय दण्डपाणि शर्माले बताए । ‘पुल संरक्षण गर्न कसैले चासो दिँदैन । राज्यको लगानी सबै बालुवामा पानी बनेको छ,’ उनले भने । जलजलास्थित लुङ्दी खोलामा रहेका तीनओटा पुल प्रयोग नभएपछि यिनको अस्तित्व सङ्कटमा परेको धाइरिङका वडाध्यक्ष टुङ्गनाथ शर्माले बताए । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी.पौडेलका अनुसार झोलुङ्गे पुलको समस्या भएका स्थानहरूको पहिचान गरी समस्या समाधान गर्ने काम भइरहेको छ ।
स्रोत: www.abhiyan.com.np/2018/02/26/183365