News

दसैँमा नयाँसँगै नक्कली नोट : तीन लाख ७० हजारसहित पाँच पक्राउ

October 22, 2018

नयाँ पत्रिका, कार्तिक ५, २०७५ 

दसैँमा ठूलो मात्रा नयाँ नोट बजारमा जाने मौका छोपेर नक्कली नोट पनि फिजाइने गरेको खुलेको छ । ठूलो मात्रामा नक्कली नोट छापेर बजार फिजाउने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

एक हजार दरका तीन लाख ७० हजार नक्कली नोटसहित प्रहरीले शनिबार काठमाडौंमा पाँचजनालाई पक्राउ गरेको हो । उनीहरूले अत्याधुनिक फोटोकपी मेसिनमार्फत नोट छाप्ने जस्तै कागजमा फोटोकपी गरी बजारमा फिजाउँदै आएको प्रहरीले फेला पारेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा बिरुवाका इन्द्रबहादुर श्रेष्ठ, गोरखाका नारायण श्रेष्ठ, मकवानपुरका साहिल थापा मगर, पर्साका राज श्रेष्ठ र काठमाडौंका विकास दोर्जे छन् । उनीहरूमध्ये इन्द्रबहादुर मुख्य योजनाकार भएको र अन्य उनका सहयोगी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए । कीर्तिपुरको मच्छेगाउँमा उनीहरूले नक्कली नोट छाप्ने गरेका थिए । नक्कली नोट छाप्ने फोटोकपी मेसिन प्रहरीले बरामद गरेको छ ।

डान्सबारबाट खुल्यो रहस्य
विजयादशमीका दिन साहिल थापामगर र विकास दोर्जे चाबहिलको चाँदनी डान्सबार गएका थिए । डान्सबारमा मदिरा पिएपछि उनीहरूले नक्कली नोट दिएका थिए । डान्सबारका मालिकलाई शंका लागेपछि प्रहरीलाई खबर गरे । उनीहरूमाथि अनुसन्धान गर्दा गिरोहका मुख्य नाइके पक्राउ गर्न सकिएको परिसरका डिएसपी होमिन्द्र बोगटीले बताए ।

पक्राउ परेका मुख्य नाइके श्रेष्ठ यसअघि पनि पटकपटक जेल परेका व्यक्ति हुन् । करिब २ वर्षअघि उनी एकैपटक तीनवटा पेस्तोलसहित पक्राउ परेका थिए । तर, कैद मिनाहा पाई ११ महिनामै छुटेका थिए । अन्य व्यक्तिहरूलाई उनले परिचालन गर्थे । दसैँको वेला बजारमा नयाँ नोट धेरै हुने भएकाले धेरैले शंका पनि नगर्ने भनेर उनले यही वेला नक्कली नोट छापेर फैलाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । ‘पाँच लाख नक्कली नोट छापेको बताएका छन्,’ एसएसपी लामाले भने, ‘त्यसमध्ये केही बजारमा गइसकेको देखिन्छ, केही जलाएको बताएका छन् ।’

उनीहरूले खासगरी रातको समयमा नक्कली नोट दिएर सामान किन्ने गर्थे । डान्सबार तथा दोहोरी रेस्टुरेन्टमा बेलुका झुक्याउन सजिलो हुने भएकाले त्यहाँ जाने गरेका थिए । यस्तै किराना पसलमा पनि उनीहरूले नक्कली नोट दिएर सामान किनेको खुलेको छ । कतिपय पैसा सक्कली नोटमा मिसाएर उनीहरूले फैलाएका थिए ।

गिरोहको सम्बन्ध भारतसम्म
मुख्य योजनाकार श्रेष्ठको भारतीय आपराधिक गिरोहसँग समेत निकटता देखिएको छ । विगतमा भारतबाट नक्कली नेपाली नोट छापेर नेपाल भित्र्याउने गरिएको खुलेको छ । त्यही गिरोहसँग श्रेष्ठको सम्बन्ध हुन सक्ने आशंकामा प्रहरीले छानबिन अघि बढाएको छ । श्रेष्ठ लामो समयदेखि पेसेबर आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् ।

स्रोत: http://www.nayapatrikadaily.com/2018/10/22/106647/