दसैंअघि अनुगमन तीव्र

September 20, 2017

कान्तिपुर दैनिक, ४ असोज २०७४ 

नेपालगंज: चाडपर्वलाई लक्षित गरी बाँकेका नेपालगन्ज, कोहलपुरलगायत सहरी क्षेत्रमा अनुगमन तीव्र पारिएको छ । पर्वका बेला उपभोक्ताहरू ठगिन सक्ने र म्याद गुज्रेका खाद्यान्न बिक्री हुन सक्ने भन्दै अनुगमन थालिएको हो । 

होटल, किराना, तरकारी, खाद्यान्न, मिठाई, मासुदेखि औषधि पसल र नापतौल गर्ने ढक तराजुको पनि अनुगमन भइरहेको छ । केही पसलमा म्याद गुज्रेका सामग्रीहरू फेला परेका छन् । त्यस्तै अवैध रूपमा ढक र तराजुहरू प्रयोग गरेको पाइएको छ । म्याद गुज्रेका खाद्य सामग्री र अवैध ढक तराजु नियन्त्रणमा लिएको अनुगमनकर्ताले जनाएका छन् । सोमबार कोहलपुर क्षेत्रमा अनुगमन गर्दा दुईवटा औषधि पसल दर्ताबिना सञ्चालन गरेको पाइएपछि बन्द गरी सञ्चालकलाई बयानका लागि बोलाइएको छ । 

दशैँको बेला अखाद्य वस्तुहरूमा मिसावट र म्याद सकिएका खाद्य वस्तुहरू बिक्री हुने गरेका कारण अनुगमनलाई तीव्रता दिइएको हो । वाणिज्य कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेलले उपभोक्तालाई ठगी र अखाद्य वस्तुबाट जोगाउन दैनिक अनुगमन गरिरहेको बताए । उनले होटल, पसल, तरकारी, दैनिक उपभोग्य वस्तु र औषधिलगायतका पसलको निरन्तर अनुगमन गरिरहेको जानकारी दिए । ‘चाडपर्वका बेला खाद्य वस्तुको माग बढी हुने भएकाले मिसावट हुन सक्छ । त्यसलाई मध्यनजर गरी अनुगमन जारी राखेका छौं ।

केही पसलमा प्रयोग गर्ने म्याद सकिएका सामग्री भेटिएपछि नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘सुधार गर्न सक्ने कैफियत देखिए सुधार्न निर्देशन दिएका छौं भने अखाद्य वस्तु नियन्त्रमा लिएका छौं ।’ 

तरकारी र फलफूलमा विषादी तथा खान नमिल्ने रङको प्रयोग भएको हुन सक्ने भन्दै त्यसको अनुगमन भइरहेको छ । मिठाईमा पनि खान नमिल्ने रङहरूको प्रयोग गरेको पाइएको छ । विषादी प्रयोग गरिएका तरकारी बिक्री नगर्न निर्देशन दिइएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक एकराज बुढाथोकीले चाडपर्वका बेला अनुगमनलाई निरन्तरता दिइरहेको बताए । उनले अखाद्य वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी दिएको जनाए । 

‘सबैजसो खाद्यान्न तथा तरकारी फलफूलको बजार अनुगमन भइरहेको छ । मिठाई पसल र होटलको सरसफाइमा बढी जोड दिइएको छ,’ उनले भने, ‘अखाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर हुन नदिन अनुगमनमा जोड दिइरहेका छौं ।’ गाउँ–सहरमा मिसावट गरिएका खाद्य पदार्थ छयाप्छयाप्ती बिक्रीवितरण भइरहेको उपभोक्ताको गुनासो छ । जनशक्ति अभावमा गुण नियन्त्रण कार्यालयले सधंै बजार अनुगमनलाई निरन्तरता दिन सकेको छैन । अनुगमन गर्दा अखाद्य वस्तु बिक्री गरेको पाइए मुद्दासमेत चलाउने गरेको गुण नियन्त्रण कार्यालयले जनाएको छ ।


स्रोत:http://kantipur.ekantipur.com/news/2017-09-20/20170920083051.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More