News

दसैंका लागि कर्णालीमा चामल ढुवानी तीव्र

September 16, 2017

प्रकाश अधिकारी, ३१ भाद्र २०७४ 

चाडपर्वका बेला कर्णालीमा चामल अभाव हुन नदिन खाद्य संस्थानले ढुवानी व्यवस्थापनलाई तीव्र बनाएको छ । दसैं, तिहार लक्षित गरेर संस्थानले २९ हजार क्विन्टल सहुलियतको चामल ढुवानी गर्न लागेको हो । सेनाको स्काई ट्रक दुर्घटना परेपछि कर्णालीमा रोकिएको खाद्यान्न ढुवानी चाडपर्व नजिकिँदै गर्दा तीव्र पारिएको छ । 

सेनाको स्काई ट्रक दुर्घटना परेपछि संस्थानले निजी क्षेत्रका एयरलाइन्ससँग चामल ढुवानीको सम्झौता गरेको थियो । संस्थानको सुर्खेतका प्रमुख भीम थापाले जहाजबाट ढुवानी महँगो पर्न थालेपछि खच्चडबाट ढुवानी गरिरहेको बताए । संस्थानले गत आवमा कर्णालीका लागि ६८ हजार क्विन्टल खाद्यान्न पठाएको थियो ।

चालु आवको पहिलो चरणमा २९ हजार क्विन्टल पठाउन लागिएको हो । संस्थानले अनुदानको चामल स्थानीय बजारभन्दा प्रतिकेजी १ सय रुपैयाँ कम पर्ने जनाएको छ । सस्तो, गुणस्तरीय भएकाले खाद्य संस्थानको चामलप्रति आकर्षण बढेपनि ढुवानी समस्याका कारण कर्णालीबासीले वर्षेनि खाद्यान्न संकट भोग्दै आएका छन् ।

हुम्लाको सदरमुकाम सिमीकोट डिपोका लागि मौज्दात १६ सय ६ क्विन्टल वितरण सुरु गरिएको छ । सर्केगाड, देउली, र श्रीनगरमा २५ सय क्विन्टल पठाउने तयारी गरेको छ । हुम्लाको श्रीनगर सबैभन्दा विकटमा रहेको डिपो हो । मुगुको गमगढीबाट सर्केगाड र देउलीमा खच्चडबाट चामल पठाउँदैछ ।

डोल्पाका जुफाल, काइगाउ, सर्मी, निपु, सहतारा र दुनै डिपोका लागि २३ सय क्विन्टल पठाउन लागिएको छ । मुगुमा ३५ सय क्विन्टल पठाइएको छ । दैलेखमा ३ सय ४०, जुम्लामा १ हजार, कालिकोटमा २८ सय क्विन्टल चामल ढुवानी गरिएको छ । कर्णाली राजमार्गका कारण कालिकोट, मुगु र जुम्लामा ढुवानी सहज भएको छ । ती जिल्लामा ट्रकबाट र बाँकी सडक सञ्जालले नछोएका डिपोसम्म खच्चडबाट ढुवानी गरिरहेको थापाले बताए । स्थलमार्गबाट समयमै पुर्‍याउन सम्भव भएकाले दसैं अगावै कर्णालीका सबैतिर खाद्यान्न पुगिसक्ने उनको दाबी छ । हवाइमार्गबाट खाद्यान्न ढुवानी गर्दा हेलिकप्टर, मौसम अनुकूलको पखाईका कारण यसअघि ढुवानीमा ढिलाई हुने गरेको थियो । खाद्य संस्थानको सुर्खेतस्थित कार्यालयले कर्णाली, दैलेखमा खाद्यान्न ढुवानी गर्दै आएको छ ।

जिरा, सोना मनसुली, मकवानपुर र बंगलादेशी चामल वितरण गर्दै आएको छ । यसैबीच संस्थानले असोज १ देखि सुर्खेतको वीरेन्द्रनगरका सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।


स्रोत:http://kantipur.ekantipur.com/news/2017-09-16/20170916073906.html