News

दसैंमा चम्किएको अर्थतन्त्र

September 26, 2017

नवीन अर्याल, अन्नपुर्ण पोस्ट, १० असोज २०७४ 

काठमाडौं : रूपन्देहीको गंगोलियामा रहेको अस्ट्रिच फार्मले दसैंको समयमा दैनिक पाँच टन मासु बजारमा पठाउँदै छ । सामान्य समयमा फार्मबाट मुस्किलले दैनिक पाँच क्विन्टल अस्ट्रिचको मासु बजारमा पुग्ने गर्छ । तर, दसैंमा मासुको खपत बढी हुने भएपछि ठूलो परिमाणमा मासु बजार पठाइरहेको अस्ट्रिचफार्म सञ्चालक सीपी शर्मा बताउँछन् ।

हरेक वर्ष खाद्य संस्थानले एक हजार च्यांग्रा राजधानी भित्राउँछ । निजी क्षेत्रका व्यवसायीले अढाइ हजार च्यांग्रा भित्राउँछन् । राजधानीमा मात्रै दसैंको समयमा झन्डै ६० हजार खसीबोका बिक्री हुन्छन् । सामान्य समयको तुलनामा दसैंमा आठ गुना बढी खसीबोकाको मासु खपत हुने व्यवसायी बताउँछन् । दसैंमा देशभर मासुको खपत अत्यधिक हुन्छ । दसैंमा खसीबोकाको मूल्य जति भने पनि उपभोक्ता तिर्न कस्सिने भएकाले किसान÷व्यापारी पनि मालामाल हुन्छन् ।

दसैंमा मासुसँग जोडिएर आउने नाम हो, मदिरा । दसैंको समयमा मदिरा बिक्री ह्वात्तै बढ्छ । नेपाली बजारमा बोतलको ४० रुपैयाँदेखि पाँच लाखसम्म पर्ने मदिरा बिक्री भइरहेको छ । मदिराको सिजन दसैंमा पसल पसलमा उपभोक्ताको भीड लाग्न थालिसकेको देखिन्छ । दसैंमा मदिरा गिफ्टका रूपमा दिइने प्रचलन बढ्दै गएपछि महँगा मदिराको बिक्री पनि ह्वात्तै बढ्ने व्यवसायीको अनुभव छ । मदिरा व्यवसायीका लागि दसैं सबैभन्दा उत्तम सिजन हो ।

गाडी, लत्ताकपडा, मासु, मदिरामात्र होइन्, दसैंको समयमा देशभरको समग्र बजार नै गुल्जार हुन्छ । दसैंमा खाद्यवस्तु, लगाउने कपडा, मनोरञ्जनका साधन, विलासी मानिने साधन सबैको कारोबार दोब्बर हुन्छ ।

दसैंको एक महिना अगाडिदेखि नै अटो व्यवसायीलाई गाडी÷बाइक बिक्री गर्न भ्याइनभ्याइ छ । आकर्षक छुट तथा उपहार योजनाको बहार ल्याएर गाडी बिक्रेता ग्राहक लोभ्याइरहेका छन् । ग्राहक पनि दसैंमा छुट र उपहार पाइने भएपछि दसैं कुरेर बसेको देखिन्छ । गाडी बिक्रेताको ‘चाँदी कटाइ’ हुने दसैंमा देशैभरका सोरुम ग्राहकको भीडले भरिएका छन् । भदौदेखि कातिकसम्म तीन महिनाको अवधिमा कुल व्यापारको करिब ५० प्रतिशत कारोबार हुने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं अटो व्यवसायी शेखर गोल्छा बताउँछन् । गत आर्थिक वर्षमा ८८ अर्ब २५ करोडको सवारी तथा पार्टपुर्जा नेपाल भित्रिएको थियो ।

राजधानीको व्यापारिक केन्द्र न्युरोड यतिबेला गुल्जार छ । दसैंको किनमेल गर्ने उपभोक्ताले पसलमा त भीड लगाएका छन् नै, उनीहरू चढेको सवारी जामले न्यूरोड गेटबाट छिर्न हम्मेहम्मे पर्छ । ग्राहक लत्ताकपडा, गरगहनादेखि मोबाइल, ग्याजेटसम्म खरिद गर्न न्यूरोड पुग्छन् । न्यूरोडसहित काठमाडौंका मुख्य व्यापारीक केन्द्रमा ग्राहकको भीड देखिन्छ । दसैंमा सबैभन्दा बढी लत्ताकपडा बिक्री हुने भएकोले कपडा पसल तथा सपिङ मल भरिभराउ हुने गोल्छा बताउँछन् ।

गाडी, लत्ताकपडा, मासु, मदिरामात्र होइन्, दसैंको समयमा देशभरको समग्र बजार नै गुल्जार हुन्छ । दसैंमा खाद्यवस्तु, लगाउने कपडा, मनोरञ्जनका साधन, विलासी मानिने साधन सबैको कारोबार दोब्बर हुन्छ । दसैंको आसपासमा हुने कारोबारले मुलुकको अर्थतन्त्र नै चलायमान बनाउने विज्ञ बताउँछन् । दसैंमा व्यापारीले वर्षभरि पुग्ने गरी कमाउँछन् । यो समय व्यापारीका लागि राम्रो नाफा कमाउने सिजन पनि हो । वर्षभरि माखा धपाएर बस्ने व्यवसायीलाई दसैंको सिजनमा व्यापार गर्न भ्याइनभ्याइ देखिन्छ । नेपाली अर्थतन्त्रका लागि तीज, दसैं, तिहार, छठलगायत पर्व उत्सवकै रूपमा रहँदै आएका छन् ।

वर्षभरि कडा मेहेनत गर्दा पनि मुस्किलले खान नपुग्ने उपभोक्ताको दसैंमा आम्दानी वृद्धि हुन्छ । दसैंमा तलबसँग पाइने भत्ताले उपभोक्ताको क्रयशक्ति वृद्धि हुन्छ । त्यसो त ऋण काढेरै भए पनि चाडपर्व मस्तसँग मनाउनुपर्छ भन्ने संस्कृति अझै हराएको छैन् । नेपाली अर्थतन्त्र धानेको रेमिटेन्स दसैं,तिहारमै बढी भित्रिन्छ । यसले पनि उपभोक्ताको क्रयशक्ति ज्यादा बढाइ दिने विज्ञको तर्क छ । 
रेमिटेन्स व्यवसायीका अनुसार दसैंमा रेमिटेन्स आप्रवाह ३५÷४० प्रतिशतले बढेको हुन्छ । गत साउन महिनामा बैंकिङ च्यानलबाट ५५ अर्ब ५५ करोड रेमिटेन्स भित्रिएको छ । यसलाई आधार मानेमा दसैंको महिनामा ७०÷७५ अर्ब रेमिटेन्स भित्रिन्छ । अवैधानिक माध्यम (हुन्डी) बाट भित्रिने रकम पनि उत्तिकै हुने गर्छ ।

दसैंमा सरकारी कर्मचारीले मात्र तलब र भत्तासमेत गरी २५ अर्बको हाराहारीमा रकम बुझिसकेका छन् । निजी क्षेत्रमा कार्यरत कर्मचारीले पनि दसैंमा तलबसँग भत्ता पनि पाउन थालेका छन् । यो रकम सरकारी कर्मचारीले पाउनेभन्दा बढी हुन्छ । मुलुकमा करिब ७५ प्रतिशत रोजगारीको अवसर निजी क्षेत्रले सिर्जना गरेको महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा बताउँछन् ।

व्यवसायीले पनि दसैंमा मनग्गे कमाउँछन् । पछिल्लो समय पैसा व्यवसायीले घुमघाम र किनमेलमा दिल खोलेर खर्च पनि गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दसैंलाई भनेर १५ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट बजारमा ल्याएको छ । यो सबै रकम उपभोगमै खर्च हुने गर्छ ।

दसैंमा सहरी अर्थतन्त्र मात्र होइन, देशभर नै आर्थिक गतिविधि तात्छ । दसैंमा सहरमा थुप्रिएको पैसा गाउँमा वितरण हुन्छ । सहरमा जागिर, अध्ययन तथा स्थायी रूपमा बसोबास गर्दै आएका मानिस दसैंमा पुख्र्यौली घरतर्फ पैसा बोकेर लाग्छन् । विदेशमा बस्ने नेपाली पनि दसैंमा घर फर्किन्छन् । यसले सहरदेखि गाउँसम्म आर्थिक गतिविधि बढाउँछ । दसैंको सिजनमा पैसा बोकेर गाउँ जानेसँग स्थानीय व्यवसायीले पनि मनग्गे नाफा खाएर व्यापार गर्छन् । वर्षभरि सस्तैमा बिक्री गर्नुपर्ने स्थानीय उत्पादन (खसी, बोका, कुखुरा, लोकल मदिरा तरकारी आदि) दसैंमा महँगो मूल्यमा बिक्री हुन्छन् ।

अमेरिकामा नोभेम्बर महिनामा मनाइने ‘ब्ल्याक फ्राइडे’ मा नेपालको दसैंमा झैं ठूलो कारोबार हुन्छ । वर्षभरि नाफा कमाउन नसकेका व्यापारीले पनि त्यस दिन मनग्गे कमाउँछन् । बढी ग्राहक तान्न अमिरीकी व्यापारी छुट र उपहारको बहार ल्याउँछन् । यो दिन सार्वजनिक बिदा नै गरिएको हुन्छ।

उत्तरी छिमेकी मुलुक चिनियाँले ‘पार्टनर्स डे’ मा दिल खोलेर किनमेल गर्छन् । प्रेमीप्रेमीकाले उपहार एक्सचेन्ज गरेर मनाइने ‘पार्टनर्स डे’मा ठूलो कारोबार हुन्छ । इद पर्वमा मुसलमानले उस्तै दिल खोलेर खर्च गर्छन् । धनवन्तरीका दिनमा भारतीयले सबैभन्दा बढी खर्च गर्छन् । नेपालमा पनि दसैं, तिहार र छठ पर्व दिल खोलेर किनमेल गर्ने सिजन हो ।

दसैंमा ‘मीठो खाने, राम्रो लगाउने’ प्रचलन परापूर्व कालदेखि चल्दै आएको छ । ऋण काढेरै भएपनि दसैंमा मीठो खान र राम्रो लगाउन नेपाली कस्सिन्छन् । अहिले मीठो खान र राम्रो लगाउन दसैं तथा तिहार नै कुर्नुपर्ने बाध्यता त हटिसकेको छ । तर, पनि दसैंमा किनमेल गर्ने संस्कृति अझै हटेको छैन । दसैंमा नेपाली उपभोक्ताको आम्दानीमा वृद्धि (बोनस आउने, व्यापारबाट मनग्गे नाफा कमाइने, रेमिटेन्स बढी भित्रिने) हुने र व्यवसायीले पनि आकर्षक छुट र विभिन्न उपहार योजना ल्याउने भएकोले दसैंमा बढी किनमेल बढी हुन्छ ।

दसैंको अवसर पारेर अटो व्यवसायी ग्राहक तान्न छुट र उपहार ल्याएका छन् । सोरुम पनि दुलही झैं सिगारिएको देखिन्छ । अटो व्यवसायीले ग्राहकलाई नेपालका विभिन्न गन्तव्यमा घुमफिर गर्नेदेखि मध्यपूर्वी मुलुक, युरोप, अमेरिकासम्म टुरका योजना ल्याएका छन् । यस्तै, मोबाइल, टेलिभिजन, ल्यापटप, पेय पदार्थ लगायतमा पनि उस्तै ग्राहक लोभ्याउने उपहार र छुट योजना ल्याएका छन् । दसैं आउन महिना दिन बाँकी छँदै न्युरोडको ताम्राकार कम्पलेक्सलगायत मोबाइल पसलमा उपभोक्ताको बाक्लो उपस्थिति छ । दसैंमा मोबाइल बिक्री सामान्य समयको तुलनामा दुई÷तीन गुना बढी हुने व्यापारी बताउँछन् ।

दसैंमा घर फर्किने धेरै हुन्छन् । वर्षभरि कुद्ने सार्वजनिक सवारी टनाटन यात्रु बोकेर हिँड्छन् । ठूलो संख्यामा मानिस गाउँ फर्किने भएकोले गाडी र प्लेनको टिकटसम्म पाइँदैन । व्यवसायीले गाडी थपेर, उडान थपेर सेवा प्रदान गर्छन् । ‘दसैंमा टिकटको माग उच्च छ, हामीले सबैलाई टिकट पुर्‍याउन सकिरहेका छैनौं’, यती एयरलाइन्सका बजार प्रबन्धक भीमराज राईले भने, ‘हामीले उडान थपेर यात्रुलाई सेवा दिइरहेका छौं ।’ दसैंमा यातायात व्यवसायी र वायुसेवा कम्पनी मालामाल हुने सिजन हो ।

दसैंमा सबैभन्दा बढी बिक्री हुने लत्ताकपडा हुन् । दसैंमा नयाँ कपडा लगाउन खोज्ने धेरै भएकोले बिक्री उच्च हुन्छ । देशभरका कपडा पसल ग्राहकले भरिभराउ छन् । खाद्यन्न व्यवसाय पनि उस्तै चम्किन्छ । दसैंमा सिनेमा हल पनि भरिभराउ हुन्छन् । दसैंको छुट्टीमा हलमा टिकट पाउन मुस्किल पर्छ । रेमिटेन्स आप्रवाह बढ्ने भएकाले रेमिटेन्स कम्पनी पनि दसैंमा बढी व्यस्त हुन्छन् । दसैंमा ग्राहकलाई (विदेशमा कार्यरत नेपाली) आकर्षक उपहार योजना ल्याएर बढी भन्दा बढी रेमिटेन्स भित्याउन व्यवसायी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ । छुट्टीको समयमा परिवार तथा साथीभाइसँग घुमफिर गरेर रमाइलो गर्ने जमात बढ्दै छ । दसैंमा पनि धेरै नेपाली घुमफिरमा निस्कन्छन् । धनाढ्य वर्ग विदेश सयरमा निस्कन्छन भने मध्यमवर्ग मुलुकभित्रै घुम्न निस्कन्छन् । यसले होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि ‘बुम’ हुन्छ । दसैंको बिदामा देशभरका पर्यटकीय गन्तव्यमा सञ्चालित होटलको बुकिङ फुल भइसकेको व्यवसायीले बताउँछन् ।

स्रोत: 

http://annapurnapost.com/news-details/81051