दिगो विकासका लागि ‘एसडीजी च्याम्पियन’

July 27, 2019

खगेन्द्र भण्डारी, अन्नपूर्ण पोष्ट, साउन ११, २०७६ 

काठमाडौं : दिगो विकास लक्ष्य हासिल गर्न सरकारले गरिरहेका कामको अनुगमन र नियमन गर्न सांसदहरुको समूह ‘एसडिजी च्याम्पियन’ गठन हुने भएको छ।  राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले ‘एसडीजी च्याम्पियन’ गठन गर्न लागेका हो। 

सातै प्रदेशका प्रदेश सांसदलाई समेटेर समितिले दिगो विकासको प्रवर्द्धनका लागि ‘एसडीजी च्याम्पियन’ गठन गर्ने निर्णय भएको समितिले जनाएको छ।  ‘दिगो विकासका लक्ष्य हासिल गर्न स्थानीय तहको सरकारसम्म यसलाई पुर्‍याउनु समितिको उद्देश्य हो,’ समिति सभापति तारादेवी भट्टले भनिन्, ‘तीनै तहका सरकारले दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर योजना बनाउन र भइरहेका कामको नियमन गर्न सांसदको समूह गठन गर्न लागिएको हो। ’

समितिमा सातै प्रदेशका सांसद, समिति सदस्य र विज्ञहरु सहभागी ६० जनाको समिति गठन हुने जनाइएको छ।  प्रत्येक प्रदेशबाट पाँच/पाँच जना प्रदेश सांसद र समितिका १४ सदस्य ‘एसडीजी च्याम्पियन’ मा रहनेछन् भने दिगो विकासमा काम गरिरहेका व्यक्तिहरुलाई पनि विज्ञका रुपमा समितिमा रहनेछन्।  प्रदेश सांसद र दिगो विकास समितिमा रहेका सांसदलाई प्रशिक्षण दिइने सभापति भट्टले जानकारी दिइन्।  स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र जलवायु परिवर्तनलाई केन्द्रमा राखेर एसडीजी च्याम्पियनले काम गर्नेछ।  सांसदहरुको रुचिका आधारमा समूह विभाजन गरेर सरकारले गरेका कामको अनुगमन गरिने समितिले जनाएको छ। 

विश्वलाई भोक, गरिबी, असमानता र वातावरणीय असन्तुलनबाट मुक्त गरी नागरिकलाई स्वस्थ, शिक्षित, समुन्नत र सुरक्षित बनाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको ७० औं महासभाबाट १९३ राष्ट्रले यसलाई अनुमोदन गरेका थिए।  सन् २००० मा सहस्राब्दी विकास लक्ष्यको प्रगतिको समीक्षा गरी प्राप्त प्रतिफलको संरक्षण गर्दै र नयाँ थप विश्व विकासका विषय समावेश गरी सन् २०१५ मा राष्ट्रसंघीय महासभाबाट पारित विश्व विकासको १५ वर्षे मार्गचित्र नै दिगो विकास लक्ष्य हो। 

नेपाल पनि यसको पक्ष राष्ट्र भएकाले राष्ट्रिय सभाको दिगो विकास समितिले सरकारलाई दिगो विकासका लक्ष्य हासिल गर्ने गरी काम गराउन ‘एसडीजी च्याम्पियन’ गठन गर्न लागेको हो।  दिगो विकासबारे काम गर्न पहिलोपटक संसद्मा दिगो विकास समिति गठन गरिएको हो।

 समितिले यसअघि सातै प्रदेशमा दीगो विकास लक्ष्यबारे सांसदसँग छलफल गरेको थियो। अन्य मुलुकका पनि एसडीजी च्याम्पियन गठन भएको विज्ञहरुले बताएका छन्।  त्यस्तै समितिले दीगो विकासका लक्ष्यबारे जानकारी दिन एसडीजी कर्नरसमेत निर्माण गर्न लागेको छ। 

स्रोत: http://annapurnapost.com/news/133150

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More