दुई महिनामा दुई खर्ब व्यापार घाटा

October 15, 2019

दिलीप पौडेल, नागरिक, असोज २८, २०७६ 

काठमाडौं – सरकारले स्वदेशी उत्पादन बढाएर व्यापार घाटा कम गर्ने बताउँदै आइरहेका बेला मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ। दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक कच्चा पदार्थसम्म विदेशबाट आयात गर्दै आइरहेको बेला आयात थोरै घटेको छ भने निर्यातमा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिनामा आयात १.२२ प्रतिशतले घटेको र निर्यात २५.८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। मुलुकको व्यापार घाटा ३.०५ प्रतिशतले घटेको छ। यो अर्थतन्त्रका लागि सकरात्मक संकेत हो। दुई महिनाको तथ्यांकले वर्षभरको तुलना गर्न भने सकिँदैन। अझै मासिक एक खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको व्यापार घाटा दुई खर्ब ११ अर्ब १८ लाख रुपैयाँ पुगेको छ। विभागको तथ्यांक अनुसार गत आवको सोही अवधिमा दुई खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो।

चालु आवको भदौसम्ममा सवा दुई खर्ब रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ। कुल दुई खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। गत आवको तुलनामा आयात १.२२ प्रतिशतले घटेको छ। गत आवमा दुई खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

 

मुलुकको कुल व्यापारमा आयातको हिस्सा ९२.५ प्रतिशत र निर्यात ७.२ प्रतिशत छ। निर्यात २५.८७ प्रतिशतले बढेको छ भने आयात १.२२ प्रतिशत र व्यापार घाटा ३.०५ प्रतिशतले घटेको छ।

सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएकै बेला निर्यात व्यापारमा उल्लेख्य सुधार भएको छ। चालु आवको पहिलो दुई महिनामा गत वर्षको तुलनामा निर्यात २५.८७ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष १८ अर्ब ५० करोड १८ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा गत वर्षको सोही अवधिमा निर्यात बढेर १४ अर्ब ६९ करोड ९० लाख रुपैयाँ पुगेको छ। गत वर्ष निर्यातको हिस्सा ५.९ प्रतिशत रहेकोमा यो वर्ष ७.५ प्रतिशत पुगेको छ।

नेपालको कुल वैदेशिक व्यापार भने ०.३९ प्रतिशतले बढेको छ। यो वर्षको दुई महिनामा दुई खर्ब ८० अर्बको व्यापार भएको छ। गत वर्षको सोही अवधिमा दुई खर्ब ४७ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो। नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा छ। सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। भारतसँगको व्यापार घाटा एक खर्ब ३१ अर्ब रुपैयाँ छ। भारतबाट एक खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात भएको छ भने १२ अर्ब रुपैयाँको निर्यात भएको छ। भारतपछि दोस्रो ठूलो व्यापार घाटा चीनसँग छ। चीनसँग ४० अर्ब २७ करोड रुपैयाँ व्यापार घाटा छ। ४० अर्ब ५६ करोड रुपैयाँको सामान आयात भएको छ भने २९ करोड रुपैयाँको निर्यात भएको छ।

वैदेशिक व्यापार गरेका मुख्य देशमा भारत, चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, युएईलगायत छन्। उद्योगधन्दाका लागि कच्चा पदार्थ, पेट्रोलियम पदार्थलगायत सामग्री आयात हुन स्वाभाविक भए पनि यहाँ किसानले फलाउन सक्ने तरकारी, फलफूल, खाद्यान्नलगायत वस्तुमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था छ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका अनुसार स्वदेशी उद्योग फस्टाउन नसक्दा विदेशबाट आयात बढेको छ। ‘मुलुकमा औद्योगिकीकरण नभएकोले व्यापार घाटाको खाडल बढेको हो,’ राणाले भनिन्, ‘सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गरेर उत्पादन बढाउनु पर्छ।’

सरकारले स्वदेशी उद्योगीलाई संरक्षण गर्ने बताए पनि औद्योगिक क्षेत्रमा अपेक्षित रुपमा लगानी बढ्न सकेको छैन। औद्योगिक विकासका लागि चाहिने कच्चा पदार्थ वा मेसिनरी पार्टपुर्जा आयात गर्दा व्यापार घाटा बढे पनि मुलुकको अर्थतन्त्रलाई असर नपर्ने भए पनि स्वदेशमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको समेत आयात बढ्नुलाई राम्रो मानिदैन। यो अर्थतन्त्रका लागि राम्रो नहुने अर्थ क्षेत्रका जानाकार बताउँछन्।

व्यापार घाटा न्यूनीकरण गर्न सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उत्पादन बढाउन चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वदेशमा उत्पादन हुने वस्तुको आयातमा कडाइ गरेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए। स्वदेशी उद्योगको संरक्षण गर्न यहाँ उत्पादन भएका वस्तुको प्रयोग अनिवार्य गराउने प्रयास गरेको सरकारी भनाइ छ। मुलुक आत्मनिर्भर भएका चिया, कफी, दुग्ध पदार्थ, घिउ, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाल लगायत कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाएको छ। निर्माण सामग्री प्रयोग गर्दा सिमेन्ट, काठ, छड, रङ लगायत स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/96843/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More