News

दुई लाख थारू सिकलसेल एनिमियाको जोखिममा

March 05, 2018

भूपेन्द्र वली, नयाँ पत्रिका , फागुन २१, २०७४ 

बिरामीबीचको विवाह रोक्न सके मात्र सिकलसेल एनिमिया नियन्त्रण हुने
सिकलसेल एनिमियाबाट थारू समुदायका दुई लाख मानिस जोखिममा रहेको पाइएको छ । नवलपरासीदेखि  कञ्चनपुरसम्म बसोवास रहेका थारू समुदायमध्ये १० प्रतिशतमा सिकलसेल एनिमियाका बिरामी देखिएको छ ।

सिकलसेल नेपालले गरेको अध्ययनअनुसार दाङको देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र सुर्खेतका थारूहरू यो रोगबाट बढी पीडित छन् ।

भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख चिकित्सक तथा अनुसन्धानकर्ता डा. राजन पाण्डेले कूल जनसंख्याको १० प्रतिशत थारू समुदाय सिकलसेल रोगबाट पीडित रहेको बताए । उनकाअनुसार २ लाख थारू समुदायका मानिस सिकलसेल रोगका बिरामी छन् ।

बिरामीबीचको विवाह रोके रोग नियन्त्रण

पश्चिम नेपालका थारू समुदायमा देखिएको सिकलसेल एनिमियाबाट आँउदो पुस्तालाई जोगाउन बिरामीबीचको विवाह रोक्नुपर्ने चिकित्सकहरूको सुझाव छ । सिकलसेलका बिमारीले अर्को बिरामीसँग विवाह गर्दा फस्टाउन पाउने र उनीहरूबाट जन्म लिने बच्चामा यो रोग सर्ने उनीहरूले बताएका छन् ।

अनुसन्धानकर्ता डा. पाण्डेले सिकलसेल वंशाणुगत जिनबाट सर्ने भएकाले दुई बिरामीबीचको विवाह नहुनु नै रोकथामको राम्रो उपाय भएको उनको भनाइ छ ।

दुई थरी सिकलसेल
सिकलसेल दुई थरीको हुन्छ । एउटा स्पष्ट महसुस हुने र अर्को लुकेर रहेको अवस्थामा हुने चिकित्सकले बताएका छन् । डा. पाण्डेका अनुसार स्पष्ट महसुस हुने सिकलसेल बिरामीले थाहा पाइसकेर सावधानी अपनाउँछ ।

तर, लुकेर रहेका दुई बिरामीबीच विवाह हुँदा जन्मने बच्चामा यो रोग सर्छ । यसका लागि जोखिममा रहेको थारू समुदाय र अन्य मानिसले पनि आफ्नो सिकलसेल भए/नभएकोबारे अनिवार्य रूपमा चेक गराउनुपर्ने उनले बताए ।

बिरामी भइसकेको व्यक्तिले नियमित औषधि सेवन गरे सामान्य अवस्थामा बाँच्न सक्ने चिकित्सकहरूले बताएका छन् ।

के हो सिकलसेल एनिमिया ? 
सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग भएको चिकित्सकहरूले बताएका छन् ।

रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । क्रोमोजोममा ३० हजार प्रकारका जिन हुन्छन् ।

जिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुने वीर अस्पातलकी वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले बताइन् ।

उनका अनुसार यो रोग आमा–बाबु दुबैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर, आमा वा बाबु कुनै एकजनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग हो ।

रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ ।

स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ । नेपालीमा त्यसलाई कालो जन्डिस भन्ने गरिएको छ ।

यस्तो हुन्छ असर
यसले लिभर बढ्नुका साथै इन्फेक्सन हुन्छ । रगतको कमी हुने र हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एक आपसमा टाँसिने हुन्छ ।

त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ ।

सामान्यतया सेलको आयु १२० दिनको हुन्छ । तर, सिकल भएको हँसिया आकारको सेल २१/२२ दिनको हुन्छ ।

बिरामीको शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्र्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ । विदेशमा सिकलसेलबारे बच्चा अवस्थामा नै अनिवार्य रूपमा जाँच हुन्छ ।

औषधि नपाएको बिरामीको गुनासो
सिकलसेल रोगका बिरामीले भने सरकारले स्वास्थ्य सुविधा उपलब्ध गराउने बताए पनि आफूहरूले सामान्य औषधिसम्म नपाएको बताएका छन् ।

राप्ती गाउँपालिका ६ का सिकलसेलका बिरामी दीपक चौधरीले जिल्ला जनस्वास्थ्य कार्यालयमा पुग्दा आफूले औषधि नपाएको बताए ।

‘सामान्य अवस्थामा पनि मैले मासिक २ हजारबराबरको औषधि खानुपर्छ ।’ उनले भने, ‘जनस्वास्थ्य कार्यालयमा सस्तो खालको फोरिक एसिड पाइन्छ ।

तर, महँगो खालको औषधि पाइएन । महँगो पर्ने औषधि नदिएपछि महिनामा ३५ रुपैयाँले पुग्ने औषधि म आफैँ किन्न सक्छु भनेर लिएको छैन ।’

नियमित उपचार गर्ने १५ सय मात्र
सिकलसेलका बिरामी धेरै भए पनि नियमित उपचार गराउनेको संख्या निकै कम छ । बिरामीलाई सरकारले १ लाख रुपैयाँबराबरको स्वास्थ्य सुुविधा प्रदान गरिरहेको छ ।

तर, जोखिममा रहेका २ लाखमध्ये १५ सयले मात्र नियमित उपचार गराइरहेका छन् । रोगबारे सचेतना नहुनु, बिरामी भएकोबारे थाहा नपाउनु, थाहा पाएर पनि उपचार गर्न लजाउनुलगायतका कारणले बिरामीहरू सरकारले दिएको सुविधाबाट वञ्चित रहेको डा. पाण्डेले बताए ।

‘अहिले पनि ठूलो समुदाय अस्पतालसम्म आइपुगेको छैन । यसका लागि समुदायस्तरमा नै समूहहरू गठन गरेर जोखिम न्यूनीकरणका अभ्यास गर्नुपर्छ,’ उनले भने ।

स्रोत: www.enayapatrika.com/2018/03/05/29229/