कृष्णा शर्मा, आर्थिक अभियान, फागुन ८, २०७४
काठमाडौं । सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यानमा राख्दै दूधमा नयाँ मापदण्ड निर्धारण गरेको छ । खाद्य ऐन २०२३ अनुसार दूधको मापदण्ड तोकी कार्यान्वयनमा ल्याइएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको हो । सोसम्बन्धी सूचना सरकारले केही दिनअघि राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । यसअघि पाश्चराइज्ड दूधको मात्रै मापदण्ड कार्यान्वयनमा थियो । अब भने प्रशोधित दूधको पूर्ण फ्याटयुक्त, फ्याटरहित, कम फ्याटयुक्त र सुगन्धित गरी चार प्रकारका मापदण्ड कार्यान्वयनमा ल्याइएको छ ।
नेपालमा हालसम्म पाश्चराइज्ड दूधबाहेक अन्यको हकमा मापदण्ड तयार गरिएको थिएन । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले दूधका चारथरीका मापदण्ड तयार भई कार्यान्वयनमा आइसकेकाले तोकिएको मापदण्ड नपुगेका दूध विक्री गर्न प्रतिबन्ध लगाइने बताए । प्रत्येक देशमा विभिन्न प्रकारका गुण समावेश भएको दूध उत्पादन र बजारीकरण गर्ने अभ्यास छ । उनका अनुसार नेपालको सन्दर्भमा मापदण्ड नै नभएकाले उत्पादन, बजारीकरण र आयात प्रक्रियामा समस्या हुने गरेको थियो । यस्ता समस्याको दीर्घकालीन समाधान गर्न दूधको चार फरक मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याइएको वस्तीले स्पष्ट पारे ।
मापदण्डअनुसार पूर्ण फ्याट भएको प्रशोधित दूधमा फ्याट कम्तीमा ५ प्रतिशत र दूधको चिल्लोबाहेक ठोसको मात्रा (एसएनएफ) घटीमा ८ प्रतिशत हुनुपर्ने छ । यस्तो दूधमा कोलिफर्मको उपस्थिति शून्य र जीवाणुरहित हुनुपर्ने व्यवस्था छ । कम फ्याटयुक्त प्रशोधित दूधमा फ्याट झिकेर पाश्चराइज्ड गरिएको दूध राखिएको छ । यसमा फ्याट घटीमा १ दशमलव ५ प्रतिशत र फ्याटबाहेक ठोस दूधको मात्रा ८ प्रतिशत हुनुपर्ने व्यवस्था छ । साथै, कोलिफर्म शून्य र जीवाणुरहित भएको हुनुपर्छ । फ्याटरहित प्रशोधित दूधको हकमा पनि कोलिफर्मको उपस्थिति र जीवाणु शून्य हुनुपर्ने छ । दूधमा फ्याटको मात्रा बढीमा शून्य दशमलव ५ प्रतिशत र फ्याटबाहेक ठोसको मात्रा ८ प्रतिशत हुनुपर्ने छ ।
प्रशोधित सुगन्धित दूधको हकमा दूध वा दुग्धजन्य पदार्थ वा दुवैको मिश्रणमा चिनी मिसाएर तयार पारिएको पेयपदार्थलाई समावेश गरिएको छ । दुग्धजन्य पदार्थ र चिनीबाहेक नट्सको टुक्रा र धूलो, कोका, चकलेट, कफी, फलफूल तथा तरकारी र त्यसबाट बनेका जूस, पल्प, प्रिजर्भ, नून वा अन्य खानयोग्य कृत्रिम वा प्राकृतिक सुगन्धित खाद्यपदार्थबाट तयार पारेको पेयपदार्थलाई यस समूहभित्र राखिएको छ । त्यसबाहेक सबै समूहका दूधको प्याकेट वा बट्टामा पनि उपभोक्ताले बुझ्ने भाषामा सन्देश सामग्री प्रकाशित गर्नुपर्ने व्यवस्था लागू गरिएको विभागले बताएको छ ।
विभागले सबै क्षेत्रीय खाद्य कार्यालय, चार खाद्य क्वारेण्टाइन कार्यालय र त्रिभुवन विमानस्थलसहित सबै खाद्य एकाइलाई पत्राचार गरी दूध तथा दुग्धजन्य पदार्थको नियमन गर्न निर्देशन जारी गरिसकेको पनि बताएको छ । विभागका अनुसार नयाँ मापदण्डका आधारमा स्वदेशी डेरी उद्योगलाई पनि चार प्रकारका दूध उत्पादन र बजारीकरण गर्न बाटो खुलेको छ ।
स्रोत: www.abhiyan.com.np/2018/02/20/181736