सरस्वती ढकाल, कारोबार दैनिक, २५ असार २०७५
नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड नजिक पुगेको छ । दोहोरो सेवा लिनेको सख्या बढ्दै गएको र सेवा प्रदायक कम्पनीहरूले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नुले दूरसञ्चार सेवाग्राहीको संख्या बढेको हो । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३१.६९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ । प्रविधिमा नवीनता र चलायमानमा सहजताले गर्दा मोबाइल फोन प्रयोगकर्ता दिनानुदिन बढेका छन् । प्राधिकरणले सार्वजनिक गर्ने तथ्यांकअनुसार मासिक २ देखि ३ लाखको हाराहारीमा मोबाइल प्रयोगकर्ता थपिएको देखिएको छ ।
पछिल्लो म्यानेजमेन्ट इन्फमेसन सिस्मट (एमआईएस) अनुसार कुल दूरसञ्चार सेवाग्राहीमध्ये ३ करोड ७७ लाख १६ हजार अर्थात १२८.७६ प्रतिशतले मोवाइल प्रयोग गर्छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दूरसञ्चार सेवामा सिमकार्ड तथा टेलिफोन लाइन खरिद गर्ने ग्राहकसंख्याका आधारमा तथ्यांक लिने गरिएको बताए । एमआईएसअनुसार ३ करोड ८५ लाख ७५ १ सय १४ सेवा प्रयोगकर्ता छन् ।
जसमध्ये साधारण टेलिफोन (ल्याण्डलाइन) प्रयोगकर्ता ८ लाख ५८ हजार ९१४ अर्थात ३.२० प्रतिशत र अन्य सेवा प्रयोगकर्ताहरू ८ लाख ५६ हजार ३ सय छन् । कुल दूरसञ्चार पहुँचमा यो २.९३ प्रतिशत हो । “विश्वव्यापी रूपमा दूरसञ्चार क्षेत्रमा भएको व्यापक विकास र विस्तारसँगै नेपालमा पनि दूरसञ्चार क्षेत्र छोटो समयमा छिटो र धेरै जनतासम्म पहुँच पुग्न सफल भएको क्षेत्र हो,” प्राधिकरणका प्रवक्ता अर्यालले भने, “अहिलेसम्म ग्राहकले सिमकार्ड कतिवटासम्म लिन पाउने भन्ने स्पष्ट व्यवस्था छैन, त्यसैले अब हामी ग्राहकलाई अनिवार्य नो योर कस्टोमर (केवाईसी) अनिवार्य गर्दै छौँ ।” प्रतिवेदनअनुसार नेपाल टेलिकम १ करोड ९५ लाख, एनसेल १ करोड ६३ लाख, ९५ हजार, स्मार्ट टेलिकम १८ लाख, युनाइटेड टेलिकम लिमिडेट (यूटीएल) ५ लाख २६ हजार, नेपाल स्याटेलाइट टेलिकम ३ लाख ग्राहक छन् ।
एमआइएस रिपोर्टअनुसार टेलिकमको भ्वाइस सेवामा ५१ र एनसेलको ४२ प्रतिशत बजार हिस्सा छ । बाँकी अन्य साना कम्पनीहरू स्मार्ट टेलिकम, युनाइटेड टेलिकम लिमिटेड (यूटिएल), नेपाल स्याटेलाइट टेलिकम र एसटीएम टेलिकमको छ । पछिल्लो समयमा स्मार्ट टेलिकमको बजार विस्तार बढेपनि अरु साना कम्पनीले भने बजारीकरण गर्न सकेका छैनन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्ष्ति वर्गको संख्यात्मक वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । एमआइएसअनुसार १ करोड ५५ लाख अर्थात कुल जनसंख्याको ५८.७२ प्रतिशत नेपाली इन्टरनेट पहुँचमा छन् । मोवाइल, ल्याण्डलाइन, डायलअप, केबल मोडेम, एडीएसएल, जीपीआरएस, थ्रिजी तथा फोरजीमार्फत इन्टरनेटको प्रयोग हुन्छ । सरकारले सन् २०२० सम्म देशभर ब्रोडव्याण्ड इन्टरनेट सुविधा पुर्याउने तयारी गरेको छ ।
सूचना सञ्चार प्रविधि (आइसीटी) मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोवाइल प्रयोगकर्ताको वृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडब्यान्ड इन्टरनेट पहुँचमा ध्यान दिएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए । गाउँमा ब्रोडव्याड सेवा पुर्याउने लक्ष्यबमोजिम प्राधिकरणले पहिलो चरणमा भूकम्पबाट अतिप्रभावित ११ जिल्लाबाट काम सुरु गरेको छ ।
भ्वाइस सेवाका ग्राहक संख्या
नेपाल टेलिकम– १ करोड ९५ लाख एनसेल – १ करोड ६३ लाख स्मार्ट टेलिकम – १८ लाख नेपाल स्याटेलाइट ३ लाख यूटीएल – ५ हजार
स्रोत– नेपाल दूरसञ्चार प्राधिकरण
स्रोत: https://karobardaily.com/news/information_technology/7568