News

देखिन थाले गिद्ध

May 21, 2018

कृष्ण अोली, नागरिक दैनिक, ६ जेठ २०७५

 केही वर्ष हराए पनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेका छन् । बाजुराका विभिन्न जंगल र गाउँको छेउमा गिद्ध फेरि देखिन थालेका हुन् । वातावरण र मौसमको प्रतिकूलताले हराएको गिद्ध गाउँतिर फेरि देखिन थालेको पाण्डूसैनका दीपक बोहराले बताए । ‘गिद्ध बाजुरामा पनि थिए भन्ने लागिरहेको थियो, फेरि देखिन थालेका छन्,’ बोहराले भने । सींगो बथान सहीत एकसाथ देखिने गरेको उनको भनाइ छ । गिद्ध जिल्लाबाट हराइसकेको स्थानीयको बुझाइ थियो ।

५/७ वर्षयता बाजुरामा गिद्ध देखिएका थिएनन् । सिनो हराएसँगै गिद्ध पनि हराएका थिए । गाउँलेहरुले गाई गोरु मर्दा पनि गाड्न थालेपछि आहार नपाउने भएपछि गिद्ध हराएका थिए । गएको दुई महिना यता फेरि देखिन थालेका छन् । तर, पहिलेको जस्तो हजारौं गिद्धहरु भने देखिएका छैनन् ।  वनमा छाडारुपमा छाडेका गाई गोरु, भैँसी मरेको स्थान र खोला खोल्साहरुमा गिद्ध देखिन थालेका छन् । यसै साता पोरखे लेकको जंगलमा तीन दर्जन बढी गिद्ध एकसाथ सिनो खाँदै गरेको भेटिएका थिए । ठूलोदेखि सानोसम्म संयुक्त परिवारजस्तै गरी गिद्ध बथानमा भेटिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

फेरि बथानका साथ देखिन थालेपछि स्थानीय वातावारण सन्तुलन हुनेमा आशावादी छन् । गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीकका रुपमा लिने गर्छन् । गिद्धले गाउँसमाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रुपमा खाने गर्छ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रुपमा लिने गरिन्छ । राज्यले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधिले गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि उक्त अभियान नै सञ्चालन गरिएको छ ।

बाजुरा ५ वर्ष पहिले ‘डाइक्लोफेनिक’ जिल्ला घोषणा गरिएको छ । सींगो देशलाई नै घोषणा गर्ने अभियानमा पशुपंक्षी संरक्षकहरु सक्रिय छन् । पाँच÷सात वर्षपहिलेसम्म गाउँनजिकै सिनो गाड्ने ठाउँमा प्रशस्त गिद्धहरु भेटिने गरेका थिए । ठूलाठूला पहाडको भीरमा गुँड लगाएका देखिथ्ये । तर, बीचमा हराए पनि फेरि देखिन थालेको भानबहादुर ओलीले बताए ।

वातावरणीय प्रदूषणबाट मानव जातिलाई पर्ने असरबाट बचाउन सहयोग गर्ने गिद्धको संरक्षणमा सरोकारवाला कम चिन्तित छन् । जिल्लामा फेरि गिद्ध भेटिए पनि संरक्षणमा वन, पशुलगायतका सरोकार राख्ने कार्यालय बेखबरजस्तै छन् । दिनमा गाउँ बस्तीमा भेटिए पनि साँझ र अधिकांश समय घनघोर जंगल र चट्टानमा बस्ने गरेको पाइन्छ । आहार र बासका लागि अनुकूल ठाउँ नभएकाले गिद्ध लोप हुँदै गएका हुन् । जिल्लालाई डाइक्लोफेनिकमुक्त जिल्ला घोषणा गरिएको छ । तर, नाममा मात्र घोषणा सीमित छ ।

वातावरण प्रदूषण हुन नदिई मानव जातिलाई सन्तुलित वातावरण निर्माण गर्नु गिद्धको प्रमुख भूमिका रहने विज्ञहरू बताउँछन् । सामान्यतया गिद्धले तीन दिनमा एक किलो र वर्षमा एक सय २० किलो सिनो अर्थात् फोहर खाने गर्छ । जसकारण वातावरण स्वच्छ र सफा राख्न मद्दत पुग्ने गरेको नेपाल पंक्षि संरक्षण संघका गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुषालले बताए ।

बढ्दो वन विनाश र रासायनिक औषधिको प्रयोगले गिद्धलगायतका पशुपंक्षीको अस्तित्व संकटमा परिरहेको छ, जसको मारमा मानव जाति पनि छ । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेका छन् । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डंगर, सुन र गोब्रे हुन् ।

गिद्धले धेरै चिसो न धेरै गर्मी मौसममा बसोबास गर्ने पंक्षी हो । यसलाई बच्चा जन्माउन, फूल पार्न बढी गर्मी मौसम चाहिन्छ । उसो त वन विनाश, ठूला जातका रुखहरुको संख्यामा कमी र जथाभाबी जंगल फँडानी पनि गिद्ध लोप हुनुको अर्को कारण रहेको पंक्षीका जानकारी बताउँछन् ।

मान्छेले पनि गिद्धको प्रमुख आहाराका रुपमा रहेको पशु चौपायाको सिनोमा किटनाशक औÈधि प्रयोग गर्दा गिद्ध लोप भएको बताइन्छ । नेपाल सरकारले गिद्ध संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरे पनि तराई केन्द्रित बनाएको छ । पहाडी क्षेत्रका स्थानीयले सचेतना कमीका कारण गिद्धको महत्व र संरक्षणका बारेमा केही पनि जानकारी छैन । नवौँ राष्ट्रिय गिद्ध सर्वेक्षणअनुसार नेपालमा हाल बर्सेनि १४ प्रतिशतका दरले गिद्धको संख्या घटिरहेको छ ।

स्रोत: https://www.nagariknews.com/news/47300/