देशकै आकर्षक आयोजना माथिल्लो तामाकोसी

November 01, 2018

पुष्प कोइराला,नयाँ पत्रिका, कार्तिक १५,२०७५ 

३५ अर्बको आयोजना ७० अर्ब

 ७० अर्ब लगानीबाहेक साढे चार वर्ष ढिलो हुँदा दैनिक चार करोडका दरले ६६ अर्ब घाटा

स्वदेशी लगानीमै बनिरहेको र मुलुककै सबैभन्दा आकर्षक मानिएको माथिल्लो तामाकोसी परियोजनालाई पनि अन्ततः सेतो हात्ती बनाइएको छ । असार ०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न गर्ने नयाँ लक्ष्य कात्तिक ०७६ मा सारिएको छ । आयोजना साढे ४ वर्ष ढिला हुँदा लागत दोब्बर करिब ७० अर्ब रुपैयाँ पुगेको छ । ०६७ मा आयोजना सुरु गर्दा लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो । यसरी विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडलाई ६५ अर्ब ७० करोड रुपैयाँ घाटा लागेको छ ।

भूकम्पपछि साढे ४ वर्ष थप
१२ वैशाख ०७२ मा मुलुकमा ठूलो भूकम्प गयो । सुरुमा तय गरिएको लक्ष्यअनुसार त्यसको २ महिनापछि अर्थात् असार ०७२ मा आयोजना सम्पन्न हुनुपर्ने थियो । तर, त्यही भूकम्पको निहुँ बनाएर आयोजना सम्पन्न हुने मिति साढे ४ वर्ष धकेलियो । आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणले भूकम्पको असर र ठेकेदार कम्पनीको गैरजिम्मेवारीलगायत कारण आयोजना अवधि कात्तिक ०७६ सम्म लम्बिएको दाबी गरेको छ । ‘आयोजनामा हालसम्म ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ लगानी पुग्ने भएको छ,’ अयोजना प्रमुख विज्ञान श्रेष्ठले भने, ‘करिब २० अर्ब रुपैयाँ ब्याज थप हुने अनुमान गरिएको छ ।’

दैनिक ४ करोड घाटा
आयोजना सम्पन्न हुँदा आयोजनाबाट वार्षिक २३ सय गिगावाट आवर विद्युत् उत्पादन हुन्छ । त्यो विद्युत् बेचेर करिब २ करोड ५५ लाख २० हजार रुपैयाँ दैनिक आम्दानी आयोजनालाई हुन्थ्यो । त्यो रकम प्राधिकरणलाई घाटा भइरहेको छ । त्यस्तै, ब्याजबापत मात्रै आयोजनाको सबै ऋण लिएको अवस्थामा १ करोड रुपैयाँ खर्च हुन्छ । औसतमा यस्तो खर्च दैनिक करिब ७५ लाखजति हुन आउँछ । त्यस्तै, आयोजना ढिलाइ हुँदा प्रशासनिक खर्च, दाबीलगायतको खर्च दैनिक ७५ लाखदेखि १ करोड रुपैयाँसम्म हुने जानकारी पनि प्राधिकरण स्रोतले दिएको छ । यसरी दैनिक ४ करोड रुपैयाँभन्दा बढी घाटा आयोजनाले खाइरहेको छ ।

ब्याज मात्रै २० अर्ब
आयोजनाले ब्याजबापत मात्रै २० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । खासमा आयोजना सम्पन्न हुन ढिला भएकाले ब्याजबापतको लागत पनि बढेको हो । आयोजनाको खास लागत ४९ अर्ब २९ करोड हुने भए पनि ब्याज २० अर्ब तिर्नुपर्ने भएपछि लागत ६९ अर्ब २९ करोड पुग्ने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । यो आयोजनाको कुल लागतको ४० प्रतिशत हो । संसारका कुनै पनि आयोजनामा ब्याज लागत १५ देखि २० प्रतिशतभन्दा बढी हुँदैन । आयोजनामा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले १२ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेका छन् । तर, ३–३ महिनामा यो ब्याज चक्रीय रुपमा साउँमा गणना हुने भएकाले दर १४ प्रतिशत पुग्ने प्राधिकरणको उच्च स्रोतले जानकारी दियो ।

अमेरिकी डलरको मूल्य बढ्दा र सुरुको लागत अनुमानमा ब्याज नजोडिएकोले पनि हाल आयोजनाको लागत दोब्बर पुगेको देखिएको श्रेष्ठ बताउँछन् । ‘सुरुमा आयोजनाको लागत अनुमान तयार पार्दा १ डलरको मूल्य ८० रुपैयाँ थियो,’ उनले भने, ‘अहिले त्यो बढेर झण्डै ११८ रुपैयाँ पुगेको छ, यसले पनि लागत बढाएको छ ।’

प्रतिमेगावाट लागत ८ करोडबाट १५ करोड ३५ लाख
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई निकै आकर्षक अयोजना मानिएको थियो । तत्कालीन समयमा यो आयोजनाको लागत प्रतिमेगावाट झण्डै ८ करोड रुपैयाँ देखिएको थियो । जबकी अन्य आयोजनाको औषत लागत प्रतिमेगावाट १५ अर्बभन्दा बढी देखिएको अवस्था थियो । तर, अबको लागत प्रतिमेगावाट १५ करोड ३५ लाख रुपैयाँ पुग्ने भएको छ ।

भारतीय ठेकेदारले काम गरेन
आयोजनाको विभिन्न निर्माणको ठेक्का ४ लटअनुसार प्याकेजिङ गरी लगाइएको थियो । लट १ अन्तर्गत् सभिल निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । हालसम्म ९८ प्रतिशत पूरा गरेको छ । सिभिलतर्फको काम पूरा गर्न अझ एक÷दुई महिनामा लाग्ने श्रेष्ठले बताए । लट ३ अन्तर्गत पावर हाउस निर्माणको काम भारतीय एन्ड्रिज हाइड्रो प्रालिले गरिरहेको छ । ७६ मेगावाटका ६ युनिटमध्ये ५ युनिटका लागि पावर हाउस निर्माण गरिसकेको छ । निर्माणाधिन अर्को एउटा पावर हाउस एक महिनाभित्र बनिसक्ने उनले बताए ।

तर, लट २ अन्तर्गत आयोजनाको हाइड्रो मेकानिकल काम अन्तर्गत जडान गर्नुपर्ने पेनस्टेक पाइपलगायत काम भारतीय उत्पादक तथा आपूर्तिकर्ता कम्पनी टेस्म्याको रेल्वेले धेरै काम गर्न बाँकी रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘पाइप ढुवानी गर्ने र जोड्ने काममध्ये अझै पनि ४० प्रतिशतजति बाँकी छ,’ उनले भने ।

भारतीय ठेकेदार कम्पनी टेस्म्याको रेल्वे इन्जिनियरिङ कम्पनीले हाइड्रो मेकानिकल सामानको आपूर्ति र जडान कार्यमा ढिलाई गरेकोले आयोजना लम्बिएको आयोजना पक्षले बताउँदै आएको छ । ‘अब हामीले हाइड्रो मेकानिकल सामान आपूर्ति र जडानका लागि वैकल्पिक व्यवस्था समेत गरेका छौं,’ उनले भने, ‘हामीले एन्ड्रिज हाइड्रो प्रालि इन्डियालाई हाइड्रो मेकानिकल सामानको आपूर्ति र जडानको जिम्मासमेत दिएका छौं ।’ यद्यपी आउँदो पुसबाट आयोजना सञ्चालनमा ल्याउन हाइड्रो मेकानिकलको काम समयमै सकिएको भए पनि प्रसारण लाइनले बाधा पार्ने थियो ।

प्रसारण लाइनमा पनि ढिलाई
प्रसारणलाइन निर्माण पूरा गर्न अझै ५ महिना लाग्ने आयोजनाले जनाएको छ । लट ४ अन्तर्गत गोगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभीको प्रशारण लाइन निर्माण गर्नुपर्नेमा हालसम्म २० किलोमिटर मात्र प्रसारणलाइनको काम पूरा भएको छ । भारतीय कम्पनी केईसी इन्टरनेशनलले प्रसारणलाइन निर्माणको काम गरिरहेको छ । हालसम्म प्रसारण लाइनअन्तर्गत १२७ वटा टावर निर्माण गर्नुपर्नेमा १२५ वटा टावरको फाउन्डेशनको काम सकिसकेको छ । ११५ वटा टावरको निर्माण सकिएको छ भने २० किलोमिटर मात्र तार टाँगेको छ ।

भूकम्प, ठेकेदारको अक्षमता र व्यवस्थापकीय कमजोरी जिम्मेवार 
कुलमान घिसिङ
कार्यकारी निर्देशक, विद्युत प्राधिकरण
आयोजना असार ०७२ मै सक्ने लक्ष्य राखिएको थियो । तर, त्यो बेला आयोजना सम्पन्न हुने स्थिति नै थिएन । वैशाख ०७२ मा भूकम्प गएपछि डेढदेखि २ वर्ष आयोजनाको काम रोकियो । जब काम शुरु भयो, त्यसपछि पनि सुचारु रुपमा काम भएको भए एक–डेढ वर्ष अघि नै आयोजना सकिनुपर्ने हो । कात्तिक ०७६ मा आयोजना सकिँदा एकडेढ वर्ष आयोजना ढिलो हुने नै छ । तर, यसमा आयोजनामा व्यवस्थापकीय कमजोरी पनि होला । तर, मुख्यतः पेनस्टक पाइप ल्याउने र जोड्ने जिम्मेवारी पाएको भारतको टेस्म्याको रेल्वे इन्जिनियरिङ कम्पनीले समयमा काम नगरेकाले भएको हो ।

खासमा यो काम गर्न उसको क्षमता नै देखिएन । तर, ऊसँगको ठेक्का तोडेर नयाँ खरीद प्रक्रिया शुरु गर्दा झनै ढिलो हुने भएकाले उसैलाई काम गर्न लगाइरहेका छौं । तर, अब नयाँ लक्ष्यअनुसार अर्को वर्षको कात्तिकमा आयोजना आयोजना कुनै हालतमा सम्पन्न हुन्छ । त्यसले लागत बढाउँछ । त्यति हुँदा पनि तामाकोशी आकर्षक आयोजना नै हुनेछ ।

 तामाकोसीको बिजुली ल्याउने लक्षित मिति असार ०७२, संशोधित मिति पुस ०७५, अब कात्तिक ०७६
०६७ साउनबाट आयोजनाको निर्माण सुरु गरिएको थियो । ०७२ असारसम्ममा आयोजना सक्ने लक्ष्य थियो । तर, ०७२ वैशाख १२ मा भूकम्प गयो । भूकम्पले आयोजनाको सुरुङलगायत संरचनामा खासै असर पारेन । आयोजना स्थलमा जाने सडक भने क्षति पु¥यायो । मानवीय डर र गैरजिम्मेवारीपनका कारण ठेकेदारले झन्डै डेढ वर्ष काम गरेनन् । ०७५ को पुसदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ ०७३ मंसिरबाट काम पुनः सुरु गरियो । तर, यो लक्ष्य पनि पूरा नहुने भएपछि आयोजना थप एक वर्ष ढिलो हुने भएको छ ।

अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले ०७५ को पुसबाट आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखेको भए पनि सो लक्ष्य पूरा नहुने भएको हो । ‘थप जनशक्ति लगाएर भए पनि आउँदो पुससम्म सक्ने भन्ने लक्ष्य थियो,’ आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने, ‘तर, हामीले थप शक्ति लगाएर मात्रै भएन ।’ नयाँ लक्ष्य पूरा गर्न सक्दो प्रयास रहने उनले बताए ।

स्रोत: http://www.nayapatrikadaily.com/2018/11/01/110344/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More