News

देशभर नौ प्रतिशत रोपाइँ: आज राष्ट्रिय धान दिवस

June 29, 2017

अन्नपुर्ण पोस्ट दैनिक, १५, असार २०७४

मुलुकभर असार १३ गतेसम्म नौ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा साढे नौ प्रतिशत कम हो । 

कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले असारमा नै स्थानीय निर्वाचन परेका कारण रोपाइँ ढिला भएको जानकारी दिनुभयो । प्रदेश नम्बर १, ५ र ७ मा बुधबार स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

‘अधिकांश किसान निर्वाचनमै व्यस्त भएकाले गत वर्षको तुलनामा रोपाइँ कम भएको हो’, सहप्रवक्ता सापकोटाले भन्नुभयो, ‘निर्वाचन सकिएलगत्तै रोपाइँको अवस्थामा सुधार हुन्छ । यो वर्ष समयमै वर्षा भएकाले राम्रै परिमाणमा रोपाइँ हुने अपेक्षा छ ।’ गत आर्थिक वर्षको असार १३ गतेसम्ममा देशभर १८.४१ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो । यही अवधिमा अहिले ८.९९ प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म सबैभन्दा कम तराईमा र सबैभन्दा बढी उच्च पहाडी क्षेत्रमा रोपाइँ भएको छ ।

तराईमा धानको क्षेत्रफल १० लाख ७२ हजार सात सय ५६ हेक्टरमध्ये ४८ हजार नौ सय ७९ हेक्टरमा रोपाइँ गरिएको छ । असार १३ गतेसम्ममा उच्च पहाडी क्षेत्रमा ६३ हजार ६ सय ५१ हेक्टरमध्ये १३ हजार चार सय ६५ हेक्टरमा रोपाइँ भएको छ । यस्तै मध्यपहाडी क्षेत्रमा चार लाख १६ हजार ६१ हेक्टरमध्ये ७७ हजार एक २० हेक्टरमा रोपाइँ भएको छ ।

अघिल्लो वर्षयही अवधिमा तराईमा १४.०३, मध्य पहाडी क्षेत्रमा २८.३२ र उच्च पहाडी क्षेत्रमा २७.५७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । नेपालमा धानखेती हुने कुल क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टर छ । 

आगामी वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष २०७३÷७४ मा भने हालसम्मका सबैभन्दा बढी करिब एक खर्ब २५ करोड मूल्य बराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयले चालू आर्थिक वर्षलाई गणना गर्दै आगामी तीन वर्षमा मुलुकलाई धानमा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखि योजना कार्यान्वयनमा ल्याएको छ । यसका लागि सरकारले चालू आर्थिक वर्षमा तीन हजार मेट्रिक टन उन्नत जातका धानको बिउ अनुदानमा वितरण गरेको छ ।

उनका अनुसार धानमा नेपाललाई आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०७१÷७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि तराईका १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रम अहिले ३५ जिल्लामा विस्तार गरिएको छ । आगामी आर्थिक वर्ष २०७४÷७५ देखि यो कार्यक्रम स्थानीय तहलाई जिम्मा लगाइएको छ । 

धानमा आत्मनिर्भर हुन आर्थिक वर्ष २०७३÷७४ देखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालनमा ल्याइएको छ । यो परियोजनाअन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबालीलाई समावेश गरिएको छ । यो कार्यक्रमअन्तर्गत झापामा धानको सुपर जोन स्थापना गरिएको छ ।

यस्तै कञ्चनपुर, कपिलवस्तु, प्युठान, बर्दिया र सर्लाहीलाई धानको जोन क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइएको छ । यस्तै २४ जिल्लामा धानको ब्लक पनि घोषणा गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि कार्यान्वयनमा ल्याउने भनेर सिरहा जिल्लालाई पनि जोनअन्तर्गत समावेश गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ अधिकृत तिलक चौंलागाईले जानकारी दिनुभयो । एक हजार हेक्टरलाई सुपरजोन, पाँच सय हेक्टर क्षेत्रफललाई जोन र एक सय हेक्टर क्षेत्रफललाई ब्लकअन्तर्गत राखिएको छ ।  

चौलागाईका अनुसार हालको प्रतिहेक्टर धानको उत्पादकत्व ३.१५ मेट्रिक टन प्रतिहेक्टरलाई वृद्धि गरी ४.५ मेट्रिक टनमा पु¥याएर आत्मनिर्भर हुने सरकारको लक्ष्य छ । आत्मनिर्भरकै लागि सरकारले चैते धान प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरेको छ । अहिले एक लाख १८ हजार हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पु¥याउने लक्ष्य मन्त्रालयको छ ।

नार्कका पूर्वधान वैज्ञानिक भोला मानसिंह बस्नेतका अनुसार नार्कले विकास गरी सूचीकृत गरेका ६३ प्रकारका धान उत्पादन भइरहेकोे छ । नेपालमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र हिउँदे धान उत्पादन हुन्छ ।  

नेपालको खेती हुने कुल क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानखेती हुन्छ । यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४.१ प्रतिशत हेक्टरमा धानखेती हुन्छ । यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहनेछ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ ।

धानको विश्व परिवेश
अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) का नेपाल प्रमुख डा.भव त्रिपाठीका अनुसार विश्वका एक सय १४ मुलुकमा धानखेती हुन्छ । विश्वभर ३.५ अर्ब सर्वसाधारणको प्रमुख खाद्यान्न हो । विश्वभर १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । यसमध्ये ९० प्रतिशत उत्पादन र उपभोग एसियामै हुन्छ । 

धान उत्पादन गर्नेमा चीन पहिलो स्थानमा आउँछ । त्यसपछि क्रमशः भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापानमा धानको उत्पादन हुन्छ ।

 

स्रोत: http://annapurnapost.com/news/74271