देश–विदेशमा धानको महिमा

June 29, 2018

भोलामानसिंह बस्नेत, कारोबार दैनिक, १५ असार २०७५

आर्थिक दृष्टिकोणले भन्ने हो भने यस वर्ष करिब १ खर्ब ४ अर्ब रुपैयाँबराबरको ऐतिहासिक धान उत्पादन भएको छ ।

नेपालमा पनि संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ (२०६१) मनाउने सिलसिलामा कृषिक्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरिएको थियो । यस लेखकको विशेष पहलमा नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अब आइन्दा प्रत्येक वर्षको असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ का रूपमा मनाउने घोषणा पनि भएको थियो । सोही अनुसार २०७५ साल असार १५ गते पन्ध्रौं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ देशभर भव्य रूपमा मनाइँदैछ । संयुक्त राष्ट्रसंघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष निरन्तर रूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो । 

आर्थिक वर्ष ०७४/७५ मा नेपालमा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा धानखेती भई ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ५ सय ६ किलोग्राम प्रतिहेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन १.४९ प्रतिशतले न्यून हुन आएको देखिन्छ । आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा १ खर्ब रुपैयाँभन्दा बढीको धान उत्पादन हुन्छ । आर्थिक वर्ष ०७३/७४ अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रतिहेक्टर थियो । 

‘द क्युमाटिस्टिकल पोर्टल’ अनलाइनमा प्रकाशित तथ्यांकबमोजिम आर्थिक वर्ष ०७४/७५ र ०७३/७४ मा विश्वभर चामल उत्पादन क्रमशः ४ सय ८५ मिलियन टन र ४ सय ८४ मिलियन टन उत्पादन भएको देखिन्छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने १० देशमा क्रमशः चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान पर्छन् । 

आर्थिक वर्ष ०७३/७४ अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टक उत्पादन भएको थियो भने उत्पादकत्व ३ हजार ३ सय ६९ किलोग्राम प्रतिहेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र उत्पादकत्व क्रमशः करिब २२ र ७ प्रतिशतले वृद्धि भएको थाहा हुन आएको छ । आर्थिक दृष्टिकोणले भन्ने हो भने यस वर्ष करिब १ खर्ब ४ अर्ब रुपैयाँबराबरको ऐतिहासिक धान उत्पादन भएको छ । धानको उत्पादन उत्साहजनक वृद्धि भएकाले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने जानकारी विश्व बैंकले हालसालै दिएको छ । गत आर्थिक वर्ष ०७२/७३ को वास्तविक आर्थिक वृद्धिदर ०.०१ प्रतिशत भएको र चालू अर्थिक वर्षमा ६.९४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसका साथै यस वर्षको धान उत्पादन एवं उत्पादकत्वलाई ऐतिहासिक रेकर्ड पनि भन्न सकिन्छ । 

विश्वका आधाभन्दा बढी जनसंख्या अर्थात् ३ अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार धान हो । अझ धानले एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको काम गरिरहेको छ, किनकि ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत एसियाली देशहरूमा हुने गरेको छ । धानजन्य उत्पादन प्रणाली र यससँग सम्बन्धित उत्पादनोपरान्त क्रियाकलापहरूले विकासोन्मुख देशका ग्रामीण क्षेत्रका करिब १ अर्ब मानिसलाई रोजगारी दिँदै आएको छ ।

फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था इरीले सन् १९६६ मा विकास गरी सिफारिस गरेको आईआर–८ धानको जातले विश्वभर चमत्कार नै ल्यायो । विगतमा मद्रासका एक कृषकले आफ्नो जमिनमा धेरै धान फलेको देख्दा छोराको नाम नै आईआर–८ राखेका छन् । भियतनाममा यसजातको धानलाई होन्डा भनिन्थ्यो, किनकि त्यतिबेला राम्रो धान उत्पादन हुँदा एउटा मोटरसाइकल किन्न सक्थे । संयुक्त राष्ट्र संघअन्तर्गत रहेको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०१३ मा विश्वको चामल उत्पादन ४ सय ९४ मिलियन टन थियो । यदि कृषिमा हरितक्रान्ति नआएको भए यति चामल उत्पादन गर्न हाल खेती गरिएको जमिन नै दोव्बर गर्नुपर्ने हुन्थ्यो, जुन कुरा सम्भव नै छैन र वनजंगल पनि हालको भन्दा आधा क्षेत्रफलमा मात्र रहने थियो । 

धानले विश्वमा शान्ति ल्याउन पनि सहयोग पुराउँछ । किनकि एसियामा भोकमरी ठूलो कथाका रूपमा रहेकाले संसारभर धानको महत्व झल्काउन संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरीविरुद्धको नारासहित वर्षको बाली र पुनः भोकमरीकोे समस्या देखा परेकाले सन् २००४ लाई ‘धान नै जीवन हो’ भन्ने नारासहित अन्तर्राष्ट्रिय धान वर्ष भनी नेपालसहित ४३ देशको अनुरोधमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको थियो । विश्वभर जताततै भोकमरी, कुपोषण, लडाइँ, झैझगडा, अशान्ति फैलिँदै गएकाले संयुक्त राष्ट्रसंघजस्तो संस्थाले सन् १९६६ र सन् २००४ गरी दुई पटक धानबालीलाई जनचेतना जगाउन अन्तर्राष्ट्रिय मूल्य र मान्यता दिएको हो । संसारका विभिन्न देशहरूले धानबालीलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरेका थिए ।

भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले देशमा ‘सबै कुरा रोकिन सक्छ तर कृषि रोकिँदैन’ भन्ने नारा दिई कार्यक्रम अगाडि बढाएकाले भारतले ५० मिलियन टन खाद्यान्नबाट हाल आएर २ सय ५० मिलियन टनभन्दा बढी खाद्यान्न उत्पादन गर्न सफल भएको छ । फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) सन् १९६० मा स्थापना भएको थियो र सन् २०१० मा ५० वर्ष पूरा गरेकाले विश्वभर स्वर्णजयन्ती मनाइएको थियो । सन् २०१० को नोभेम्बर ८ देखि १२ सम्म भियतनाममा ‘भविष्यका सन्ततिहरूका लागि धान’ भन्ने नाराका साथ इरीले संसारभरका धानबालीसम्बन्धी वैज्ञानिक र सरोकारवालाहरूको भेला गरी भव्य रूपमा स्वर्णजयन्ती मनायो । यस स्तम्भकारको पनि धानबाली सम्बन्धी तीनवटा कार्यपत्र प्रस्तुतिका लागि प्राविधिक समितिले छनोट गरी प्रस्तुतसमेत गरिएको थियो । यस स्तम्भकारले स्नातकोत्तर डिग्री हासिल गर्दा इरीमा नै धानबालीसम्बन्धी शोधकार्य गरेको थियो ।

विश्वभर इरीबाट उन्मोचन भएका ८ सय ६४ वटा धानबालीका जात र सो जात प्रयोग गरी हालसम्म करिब ६० प्रतिशत क्षेत्र धानबालीको उन्नत जातले ओगटेको पाइएको छ । इरीले उन्मोचन गरेको आईआर–३६ ले संंंसारभर ११ मिलियन हेक्टर क्षेत्रफल ढाकेको थियो । विश्वमा सन् १९६६ मा उत्पादित २ सय ५७ मिलियन टनबाट सन् २००९ मा आएर ६ सय ८९ मिलियन टन धान उत्पादन र हाल ४ सय ८२ मिलियन टन चामल उत्पादन भएको छ । नेपालको धानबाली अनुसन्धान र विकासमा इरीले पुराएको सहयोगलाई मध्यनजर राखी हामीले पनि धानबालीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नु अति जरुरी देखिन्छ । नेपालमा उन्मोचन एवं पञ्जीकरण भएका १ सयभन्दा बढी धानका जातमध्ये करिब ५० प्रतिशत इरीको जातसम्बन्धी छन् ।

पहाडमा चाइनुङ– २४२, खुमल–४, खुमल–८, खुमल–११, छोमरोंग, माछापुच्छ«े–३, चन्दननाथ–३, लेकाली–१, लेकाली–३ र तराईमा राधा–४, राधा–१२, मन्सुली, सावित्री र चैतेधानको तराई र भित्री मधेसमा बिन्देश्वरी, चैते–२, चैते–४, चैते–६, हर्दिनाथ–१, सुख्खाधान–३ आदि धानका जात कृषकप्रिय रहेका छन् । हालै चेहरान सब–१ जात उन्मोचन भएको र डीआरआर जातको धान चाँडै उन्मोचन हुनेछ । कुल धानबाली क्षेत्रफलको करिब ९४ प्रतिशत उन्नत धानबीउले ढाकेका छन् । रोग, कीरा आदि समस्या आई उत्पादनसमेत कम दिन थालेकाले उन्मोचित जातहरूमध्ये आईआर–८, आईआर–२०, आईआर–२२, आईआर–२४, परवानीपुर–१, जया, चन्दिना, दुर्गा, लक्ष्मी, खजुरा–२, मल्लिका र वर्षे २ गरी जम्मा १२ वटा धानका जातको बीज वृद्धि आधिकारिक रूपमा नगरिने निर्णय राष्ट्रिय बीउविजन समितिबाट समेत भैसकेको छ ।

बीसवर्षे दीर्घकालीन कृषि योजना (एपीपी) ले धानलाई प्राथमिकतामा राखेको थियो । अब नेपालमा चैते, भदैया, वर्षे, हिउँदे (बोरोे) गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा भर परेको हुन्छ । उदाहरणका लागि आर्थिक वर्ष ०६८/६९ मा धानको उत्पादन बढेकाले देशको आर्थिक वृद्धिदर पनि ४.५६ प्रतिशत पुगेको कुरा केन्द्रीय तथ्यांक विभागले जनाएको थियो ।
मोरङ वा झापाको एउटा जिल्लाको धानको क्षेत्रफल र उत्पादन नेपालको अन्य २२ वटा पहाडी जिल्लाको धानको क्षेत्रफल र उत्पादनभन्दा बढी हुन्छ । त्यसैले मोरङ, झापाको धानखेती बिग्रनु र अरू पहाडी एक जिल्लाको धानखेती बिग्रनु भन्नाले आकाश–जमिनको फरक देखाउँछ । झापा र मोरङ सबैभन्दा बढी धान उत्पादन दिने जिल्ला पनि हुन् । संसारको सबभन्दा उच्चस्थानमा धानखेती हुने स्थान जुम्लाको छुमचौर हो । त्यस्तै नेपालमा सबैभन्दा कमक्षेत्रमा धानखेती हुने जिल्ला डोल्पा हो । मुस्ताङ र मनाङबाहेक नेपालका सबै जिल्लामा धानखेती हुने गरेको छ । विश्वभर करिब १ सय १३ देशमा मात्र धानखेती हुन्छ ।

विश्वभर १ लाख ४० हजार प्रकारका रैथाने धानका जात छन् र यसमध्ये १ लाख १७ हजार जति रैथाने जातहरू संकलन गरी इरीको आनुवांंशिक (जिन) बैंकमा राखिसकिएको छ भने नेपालका ६९ जिल्लाबाट करिब ३ हजारजति धानका रैथाने जातहरू उल्लिखित जिन बैंकमा राखिएको छ । हाल आएर नर्वेको स्भालवार्ड भन्ने स्थानमा संसारका विभिन्न बालीका रैथाने जातहरू संकलन गर्ने जिनबैंक बनाई संकलन गर्ने कार्यसमेत भैरहेको छ । उक्त जिन बैंकमा १ सय वर्षभन्दा बढी समयसम्म बीउ जीवितै राख्न सकिन्छ । ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत एसियाली देशहरूमै हुने गरेको छ । धान उत्पादनका हिसाबले चीन एक नम्बर र भारत दोस्रो नम्बरमा आउँछन् । 
 

(लेखक नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकाशप्राप्त वरिष्ठ धानवाली विशेषज्ञ हुन् ।)

स्रोत: https://karobardaily.com/news/idea/7250

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More