कृञ्जला पुलामी, कारोबार, सोमवार, फाल्गुन २८, २०७४
गरिबी निवारण कोषले सिन्धुलीका गरिब तथा विपन्न समुदायका लागि ७७ करोड रुपैयाँ लगानी गरेको छ ।
आयआर्जन सम्बन्धी परियोजना र भौतिक पूर्वाधारका योजना मार्फत हालसम्म ७७ करोड ३८ लाख ४ हजार ५२० रुपैयाँ रकम लगानी गरेको कोषले जनाएको छ । यसमा आयआर्जन सम्बन्धी परियोजनामा ५१ करोड ७२ लाख १० हजार ९९६ रुपैयाँ घुम्ती कोषको रूपमा लगानी भएको र भौतिक परियोजना निर्माणका लागि २५ करोड ६५ लाख ९३ हजार ५२३ रुपैयाँ लगानी भएको कोषले जनाएको छ ।
कोषले वि.सं. २०६३ सालदेखि गरिब तथा विपन्न समुदायलाई तरकारी खेती, भैंसीपालन, राँगापालन, गाईपालन, गोरुपालन, बाख्रापालन, बंगुरपालन, सिलाईबुनाई, जुनार तथा अम्रिसो खेती अलैंची खेतीलगायत आयआर्जनका क्षेत्रमा सहयोग गर्दै आएको छ । व्यवसाय सञ्चालन गर्नेले मासिक ५ देखि ३० हजारसम्म आम्दानी गर्न सक्षम भएको गरिबी निवारण कोष सिन्धुलीका जिल्ला कार्य प्रबन्धक रमला भण्डारीले जानकारी दिइन् ।
कोषले भौतिक पूर्वाधार अन्तर्गत लघु जलविद्युत् आयोजना, हाट बजार निर्माण, विद्यालय निर्माण, कृषिजन्य वस्तुको संकलन केन्द्र, सिञ्चाइ कुलो निर्माणको काम गरेको छ । सिञ्चाइ कुलो निर्माणमा कोषले समुदायको आवश्यकता र मागका आधारमा ४ देखि २० लाखसम्म लगानी गरेको छ ।
यस्तै, सामुदायिक संस्थामा पशु बिमा अन्तक्र्रिया, पकेट क्षेत्र विकास तालिम, विषयगत सहकारी व्यवस्थापन तालिम, घुम्तीकोष तथा लेखा व्यवस्थापन तालिम पनि सञ्चालन गर्दै आएको छ ।
सिन्धुलीका १० वटा साझेदार संस्थाहरूसंगको सहकार्यमा १ हजार २ सय १२ आयआर्जन सम्बन्धी परियोजना र २ सय ४२ भौतिक पूर्वाधारका योजनाहरू सम्पन्न भएको र ती योजनाहरू स्थानीय तहलाई छिट्टै हस्तान्तरण गरिने प्रबन्धक भण्डारीले बताइन् । उनले भनिन्, “कोषमार्फत सञ्चालन भएका सबै आयोजनाहरू नगरपालिका तथा गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।”
उनका अनुसार कोषले साझेदार संस्थामार्फत संचालन गरिएका आयआर्जन सम्बन्धी र भौतिक पूर्वाधारका योजनाबाट जिल्लाका ३४ हजार ३६ घर परिवार लाभान्वित भएका छन् ।
जिल्लामा दलित सेवा संघ, स्थानीय विकास कोष, सिड्स सिन्धुली, ग्रामीण महिला चेतना केन्द्र, आस्था नेपाल, सिन्धुलीगढी सेवा प्रतिष्ठान, दियालो परिवार, ग्रामीण विकास समाज, सामुदायिक विकास कार्यक्रम, ग्रामीण विकास सेवा गरी दश संस्थाले जिल्लाभर गरिबी न्युनीकरण गर्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग र सहजीकरण गर्दै आएका छन् ।
स्रोत: https://karobardaily.com/news/country/3058