News

दैनिक पाँच लाख ३१ हजार थान नोट झुत्रा

August 02, 2017

बिष्णु बेल्बासे, नागरिक दैनिक , १७ साउन २०७४

प्रयोगकर्ताले जतनसँग नोट नचलाउँदा दैनिक पाँच लाख ३० हजार ६ सय ९० थान नोट झुत्रो हुने गरेको पाइएको छ। केन्द्रीय बैंकले सुरक्षित किसिमले नोटको कारोबार गर्न बारम्बार आग्रह गरे पनि त्यसमा कसैले वास्ता गरेको पाइँदैन।

गत आर्थिक वर्ष ०७३/७४ मा १९ करोड ३७ लाख दुई हजार थान नोट झुत्रो भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यसको अर्थ दैनिक करिब पाँच लाख ३१ हजार थान नोट कामै नलाग्ने गरी थोत्रिने गरेको छ।

विगतको तुलनामा नोट थोत्रिने क्रम पछिल्लो समय केही घटेको राष्ट्र बैंकको अनुभव छ। झुत्रा नोट साट्न आउनेको संख्या तीन वर्षअघिको तुलनामा अहिले घटेको छ।

आव ०७१/७२ मा भन्दा आव ०७२/७३ मा नोट थोत्रिने क्रम घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। आव ०७१/७२ मा २२ करोड ६३ लाख ७७ हजार थान पुराना नोट केन्द्रीय बैंकमा आएका थिए। आव ०७२/७३ मा २० करोड १२ लाख १९ हजार थान झुत्रा नोट जम्मा भए।

राष्ट्र बैंकले सर्वसाधारणबाट झुत्रा नोट संकलन गरेर जलाउने गरेको छ। महँगो खर्च गरेर छापिएका नोट जतनले उपयोग नगर्दा यस्तो अवस्था आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए।

आव ०७१/७२ मा ४० अर्ब ५४ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरका नोट झुत्रा भएर जलाइएको थियो। आव ०७२/७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४४ हजार रुपैयाँ बराबरका पुराना नोट जलाइएको थियो।

पछिल्लोपटक गत आव ०७३/७४ मा २५ अर्ब ७५ करोड ४२ लाख १० हजार रुपैयाँका नोट जलाइएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकले ७२ वर्षयता तीन खर्ब ६१ अर्ब ४० करोड ४१ लाख ९४ हजार बराबरका नोट (कागजी रुपैयाँ) जलाएर नष्ट गरेको छ।

नेपालले २००२ देखि कागजी नोट चल्तीमा ल्याएको थियो। यस अवधिमा विभिन्न दरका नोट छापिएका छन्। चलनचल्तीमा रहेका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्‍याएर नष्ट गर्छ।

उपभोक्ताले जतन नगर्दा पाँच र १० का नोट छिटो च्यातिने गरेका छन्। ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गर्दा ती नोट च्यातिने गरेका हुन्।

हजार र पाँच सयका नोटको बढी जतन हुने भएकाले तिनको आयु सानाको भन्दा बढी हुने गरेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने गरेको जानकारी दिएको छ।

हजार र पाँच सय दरका नोटको तुलनामा पाँच, १०, २०, ५० र सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने कँडेलले बताए। 'साना नोटको जतन भएको देखिँदैन,' उनले भने, 'जतन नहुँदा छिटो थोत्रिन्छन्।'

साना दरका नोट बढी चलन चल्तीमा छन्। 'जुन बढी नोट चल्छ, त्यही बढी थोत्रो हुन्छ,' उनले भने, 'बढी चल्ने नोट नै बढी जल्ने गरेका छन्।'

केन्द्रीय बैंकले वर्षको दुईपटक ठूलो मात्रामा नयाँ नोट बजार पठाउँछ। राष्ट्र बैंकले सबैभन्दा बढी परिमाणमा दसैंको बेला नयाँ नोट बजार पठाउने गरेको छ। आर्थिक वर्षको अन्तिमतिर (वैशाखदेखि असारसम्म) पनि नयाँ नोट उपभोक्तामाझ बढी पठाइछ। 'यसरी गएका नोटहरू पुनः बैकिङ च्यानलमा पहिलोपटक फर्कंदा १५ प्रतिशत काम नलाग्ने अवस्थामा पुग्ने कँडेल बताउँछन्। 'त्यस्तो नोट उपभोक्तामाझ गएर दोस्रो चरणमा पुनः फर्कंदा अधिकांश काम नलाग्ने हुन्छन्,' उनले भने। तेस्रो चरण पार गरिसकेर फर्किंदा १५ प्रतिशत मात्र नोट काम लाग्ने गरेको उनले बताए।

केरमेट र स्टिच लगाएका नोटको आयु ज्यादै कम हुने गरेको छ। त्यस्तो परम्परालाई प्रतिस्थापन गर्ने नीति केन्द्रीय बैंकले ल्याए पनि कार्यान्वयन फितलो छ।

नोटको आयु लम्ब्याउन राष्ट्र बैंकले अनेक उपाय अपाउँदै आएको कँडेलले बताए। 'सफा नोट प्रयोगमा ल्याउने अभिप्रायले दुईपटक निर्देशन जारी गरिसकेका छौं,' उनले भने, 'यति हुँदाहुँदै पनि नोट जतनतर्फ बैंक, वित्तीय संस्था र उपभोक्ताले ध्यान दिएका छैनन्।'

गत हप्तामात्र केन्द्रीय बैंकले बैक, वित्तीय संस्थालाई नोटको बन्डलमा स्टिच नगर्न निर्देशन जारी गरेको थियो। 'बैंक, वित्तीय संस्थालाई नयाँ नोटमा स्टिच लगाउन प्रतिबन्ध लगाएका छौं,' उनले भने, 'उनीहरूलाई केरमेट र स्टिच लगाएका नोट संकलन नगर्न पनि भनेका छौं।'

छिमेकी भारतमा नोटमा स्टिच र केरमेट गर्न पाइँदैन। त्यस्तो गरिएको नोट चलनचल्तीमा आउँदैन। नेपालमा नोटमा स्टिच र केरमेट गर्नु लापरबाहीको पराकाष्टा भएको केन्द्रीय बैंकको भनाइ छ।

राष्ट्र बैंकले स्टिच लगाएर राख्ने चलन अन्त्य गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। स्टिचको सट्टा रबर प्लास्टिक पेपर ब्यान्ड प्रयोग गर्न उसले सुझाएको छ। स्टिच लगाइएका पुराना नोट बैंक, वित्तीय संस्थाबाट खिच्ने र नयाँमा स्टिच नलगाउन सबैलाई अनुरोध गरेको कँडेलले बताए। यस्तो निर्देशनलाई अटेर गरे कडा कानुनी कारबाही गरिने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ।

केन्द्रीय बैंकले २०७१ जेठ २३ गते पनि यस्तै निर्देशन दिएको थियो। त्यसबेला बैंक तथा वित्तीय संस्थालाई एउटासम्म स्टिच लगाउन अनुमति दिएको थियो।

सर्वोच्च अदालतले नेपाली रुपैयाँको नोट फोहोर नगर्न अन्तरिम आदेश समेत दिइसकेको छ। उसले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारका नाममा बैंक नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न भनेको छ।

राष्ट्र बैंकले पछिल्लो समय कागजी ५, १०, २०, ५०, सय र हजारका नोट छापिरहेको छ। केही वर्ष अघिसम्म एक र दुई रुपैयाँका नोट छाप्ने गरे पनि ती नोटको आयु लामो नभएको भन्दै छाप्न बन्द गरेको छ। अहिले १ र २ रुपैयाँ दरका सिक्का निकाल्ने गरेको छ।

पछिल्लो समय केन्द्रीय बैंकले नगदरहित (क्यास लेस) कारोबारलाई जोड दिन थालेको छ।

साउनदेखि १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अनिवार्य चेक प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। नगद कारोबारभन्दा चेक प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने भएकाले यस्तो गरिएको केन्द्रीय बैंकको भनाइ छ। यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेकमार्फत गर्नुपर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो।

स्रोत: http://www.nagariknews.com/news/24590/