विश्वास रेग्मी, गोरखापत्र,मङ्सिर २७,२०७५
काठमाडौँ: कुनै समय थियो एउटा सिमकार्ड लिन दूरसञ्चार कम्पनीका कार्यालयअघि मान्छेको लाम हुन्थ्यो । सिमकार्ड पाउने नपाउने टुङ्गो नभएको त्यस्तो लाममा उभिन बिहानैदेखि घम्साघम्सी गर्नुपर्ने बाध्यता थियो ।
सिमकार्ड पाउन ठूलै पहुँच लगाउनुपर्ने समय थियो त्यो । १२÷१३ वर्षअघिको त्यो समयको सन्दर्भ र अहिलेको परिस्थिति बिल्कुलै फरक छ । सिमकार्ड खुद्रा सामानजस्तै सजिलै पाइन्छ । दूरसञ्चार कम्पनीहरू पनि सिमकार्ड बिक्रीलाई प्रतिस्पर्धाको आधार बनाइरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्याङ्क अनुसार नेपालको जनसङ्ख्याभन्दा करिब एक करोड सिमकार्ड बिक्री भइसकेको छ । अर्थात दुई करोड ९२ लाख ९२ हजार जनसङ्ख्या भएको देशमा तीन करोड ९० लाख सिमकार्ड बिक्री भएको छ । यस हिसाबले मोबाइलको पहुँच जनसङ्ख्याभन्दा ३३ प्रतिशतभन्दा बढी भइसकेको छ । प्राधिकरणले बिक्री भएको सिमकार्डको सङ्ख्यालाई नै मोबाइल ग्राहकका रूपमा तथ्याङ्क तयार गर्दै आएको छ ।
पछिल्ला वर्ष ग्राहक आधार बढाउने प्रतिस्पर्धामा दूरसञ्चार कम्पनीहरूले सिमकार्ड बिक्रीलाई निकै प्राथमिकतामा राखेको तथ्याङ्कले देखाउँछ । गत वर्षको असोजदेखि यस वर्षको सोही महिनासम्म ३७ लाख ५८ हजार सिमकार्ड थपिएका छन् । अघिल्लो वर्षसम्म तीन करोड ५२ लाख सिमकार्ड बिक्री भएको थियो । बिक्री भएका सिमकार्डको सङ्ख्याका आधारमा हेर्दा पछिल्लो वर्ष दैनिक औसत १० हजार तीन सय थान सिमकार्ड बिक्री भएको पाइन्छ ।
यद्यपि प्राधिकरणले बिक्री भएका सिमकार्डलाई मोबाइल सेवाको पहुँच भने मान्ने गरेको छैन । बिक्री भएका सिमकार्डमध्ये आधाजसो निष्क्रिय अथवा एकै व्यक्तिले एकभन्दा बढी प्रयोग गर्ने भएकाले यसलाई मोबाइल सेवाको वास्तविक पहुँच भने मान्न नसकिने प्राधिकरणको तर्क छ ।
अहिले नेपालमा छवटा दूरसञ्चार सेवा प्रदायक कम्पनी छन् । त्यसमध्ये नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मात्र जीएसएम मोबाइल सेवा सञ्चालन गरिरहेका छन् । यी कम्पनीजस्तै सेवा सञ्चालनको अनुमति पाएको युनाइटेड टेलिकम (यूटीएल)ले भने अहिलेसम्म मोबाइल सेवा सञ्चालनमा ल्याउन सकेको छैन । मोबाइल सेवामा नेपाल टेलिकम र एनसेलको बहुमत बजार हिस्सा छ । नेपाल टेलिकमले जीएसएम र सीडीएमए (रिम) गरी एक करोड ९८ लाख सिमकार्ड बिक्री गरेको छ । एनसेलको एक करोड ६४ लाख थान सिमकार्ड बिक्री भएको छ । त्यस्तै स्मार्ट टेलिकमले १९ लाख तीन हजार सिमकार्ड बिक्री गरेको प्राधिकरणको तथ्याङ्क छ ।
सिमकार्ड बिक्रीको हिसाबले पछिल्लो वर्ष सरकारी लगानीको नेपाल टेलिकम अन्य कम्पनीको तुलनामा निकै अघि रहेको छ । टेलिकमले यो एक वर्षमा करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ । त्यस्तै एनसेलले दुई लाख ५५ हजार सिमकार्ड बिक्री गर्न सफल भएको छ । स्मार्ट टेलिकमले पनि दुई लाख सिमकार्ड बिक्री गरेको छ । एक वर्ष सीडीएमए मोबाइलका प्रयोग हुने सिमकार्ड भने पाँच लाख थपिएका छन् ।