News

दैनिक ४ हजार लिटर दूधको छुर्पी

February 11, 2018

माधव अर्याल, कान्तिपुर दैनिक, माघ २८, २०७४

पाल्पा — छुर्पी भनेपछि इलाम, पाँचथरलगायत पूर्वी नेपालका जिल्लाको भन्ने मानसिकता छ । केही वर्षयता भने यहाँको छुर्पीले बजार लिएको छ । उनीहरूले ४ वर्षयता पूर्वी नेपालको सीपलाई यहाँ लागू गरी छुर्पी उत्पादन गरे पनि व्यावसायिक रुपमा भने २ वर्षदेखि काम सुरु भएको हो ।

जिल्लामा दूध उत्पादन बढेपछि छुर्पी उत्पादन थालिएको हो । यहाँका गोरस घर र श्रीनगर डेरी उद्योगले छुर्पी उत्पादन थालेका हुन् । गोरस घरका टीकाराम खरालले डुम्रे गाउँमा र श्रीनगर डेरीका रोमकान्त न्यौपानेले काजीपौवामा छुर्पी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले दैनिक ४ हजार लिटर दूधबाट छुर्पी उत्पादन गरेको बताए । मासिक १ लाख लिटरभन्दा बढी छुर्पीमा दूध खपत भएको छ । पछिल्ला वर्षमा पशुपालन बढेसँगै दूध उत्पादनमा वृद्धि भएको छ । ‘पोखरा, चितवन र बुटवलमा दूध पठाएर हामीले धेरै घाटा सहनुपर्‍यो,’ खरालले भने, ‘त्यसपछि वैकल्पिक उपाय अपनाएका हौं ।’ गाउँमा उत्पादन भएको दूध बिक्रीमा समस्या छ । त्यसैले वैकल्पिक उत्पादनमा जोड दिइएको उनले बताए । पहिला गाउँमा गएर दूध उत्पादनमा जोड दिएकाले अहिले खेर फाल्न र मिल्ड होलिडे नगर्नलाई विविधीकरण गर्ने सोचअनुसार छुर्पी उत्पादन थालिएको अर्का व्यवसायीन्यौपाने बताउँछन् ।

जिल्लाका ग्रामीण भेकका युवा पनि पशुपालनमा आकर्षित छन् । जसले गर्दा दूध उत्पादन बढेको हो । वार्षिक ४५ हजार ४ सय १७ मेट्रिकटन दूध जिल्लालाई आवश्यक पर्छ । अहिले २ हजार ४ सय ४१ मेट्रिकटन दूध जिल्लामै बढी देखिने पशु सेवा कार्यालयले जनाएको छ । न्यौपानको उद्योगमा १ करोड २५ लाख बराबरको छुर्पी स्टक छ । काठमाडौ, पोखरा, चितवन र बुटवलमा छुर्पीको माग बढेको छ । ‘बनाएर राखिएको छ,’ उनले भने, ‘माग आउनासाथ हामी पठाउँछौं ।’ गोरस घरका सञ्चालक खरालले भने दूधको परिकारलाई बढी जोड दिएका छन् । उनले पैसा आएपछि मात्र छुर्पी पठाउने गरेको बताए । ‘बढी भएको दूधलाई खेर फाल्नेभन्दा विभिन्न सामग्रीका साथै छुर्पी उत्पादन थालिएको छ,’ उनले भने, ‘छुर्पी बिक्रीमा पनि कुनै समस्या छैन ।’ व्यवसायीले बढी भएको दूधबाट घिउ, आइसक्रिम, पनिरलाई पनि जोड दिएका छन् । छुर्पी बनाएर बिक्री गर्दा नाफा पनि राम्रै हुने एसोसिएसनका अध्यक्षसमेत रहेको व्यवसायी न्यौपानेले बताए । अब चीज बनाउने योजनामा उद्योगीहरू छन् ।

‘छुर्पी उत्पादनले दूधको बजार बिस्तार गर्न सहयोग पुगेको छ,’ उनले भने । पशुपालन क्षेत्रमा लागेका युवालाई दूधको अतिक्ति उत्पादनले उत्साह थप्ने वरिष्ठ पशु विकास अधिकृत प्रदीप शर्माले बताए । दुवै उद्योगले वार्षिक २० मेट्रिकटन छुर्पी उत्पादन गर्ने लक्ष्य लिएका छन् । अघिल्लो वर्ष १० मेट्रिकटन उत्पादन भएको छ । विदेशबाट फर्किएका युवा र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राख्नेले गाईपालनलाई जोड दिएका छन् । डेरीका ६९ वटा फार्म दर्ता भएका छन् ।

तरकारीबाट मासिक ५० हजार

तानसेन नगरपालिका, १४ अर्गलीका अर्जुन राना ४ वर्षअघि रोजगारीका लागि मकाउ गए । भिसामा समस्या आएपछि उनी १० महिनामै घर फर्किए । यसपछि उनलाई विदेश बस्ने मनै लागेन । उनी फर्केर गाउँ आए अनि तरकारी खेती थाले । ‘मेरो बुबाले सामान्य तरकारी खेती गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यसमा कमाई राम्रो भएको सुनाउनुभयो ।’ उनलाई विदेश जानुअघि पनि बुबाले तरकारी खेतीका विषयमा बताए पनि मन लागेको थिएन ।

तरकारी खेतीबाट विदेशमा भन्दा बढी फाइदा हुने उनले देखे । अहिले उनले मासिक ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । उनले मौसमअनुसार र बेमौसमी तरकारी खेती गर्छन् । बिक्रीको समस्या छैन । नजिकको रिडी र तानसेन बजारमा तरकारी पठाउछन् । ‘विदेश जानलाई अहिले १ लाख ५० हजार लगानी लाग्छ,’ उनले भने, ‘यहीं बसेर त्यही पैसा लगानी गर्ने हो भने मासिक ५० हजार परिवारस‘ग बसेर पनि कमाउन सकिन्छ ।’ उनको अनुभवमा १२ घण्टा होइन, ६ घण्टा काम गरेर पनि मासिक ५० हजार कमाइ भएको छ । बन्दा, फुलगोभी, सिमी, धनियॉ, आलुलगायत तरकारी उनले लगाएका छन् । अन्य मौसमी र बेमौसमी पनि तरकारी खेती गर्ने गर्छन् । अर्गली फाँटमा पानीको दु:ख छैन । जग्गा पनि मिलेको र माटो मलिलो छ । जसलेगर्दा उत्पादन पनि राम्रै रहेकोउनी सुनाउँछन् ।

अर्गलीकै निर्मल राना अहिले व्यावसायिक कृषक बनेका छन् । उनले फोटो स्टुडियोको काम छाडेर २ वर्षदेखि तरकारी खेतीमै छन् । उनी पनि विदेश जान भन्दा यहीं तरकारी खेती गर्दा फाइदा हुन्छ भन्ने बुझेका छन् । ‘डेढ लाख लगानी गरी विदेश जानुभन्दा यहीं सजिलो लागेको छ,’ उनले भने, ‘साथीभाइले धेरै कर गरेका थिए तर म विदेश गइनँ ।’ अहिले उनी मल्चिङ प्रविधिबाट तरकारी खेती थालेका छन् । मौसमी र बेमौसमी तरकारी खेती गर्दा मासिक ६० हजार रुपैयाँ खर्च कटाएर बचत भएको उनले सुनाए । उनले ४ जनालाई रोजगार पनि दिएका छन् । ‘मैले निर्देशन दिएर र काम अह्राएर पनि राम्रो आम्दानी गर्न सफल भएको छु,’ उनले भने ।

कृषक ताराबहादुर राना र विष्णु गैरेले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन् । हरियो तरकारीका साथै आलु लगाएर वार्षिक ६ लाख बढी आम्दानी हुने उनीहरू बताउँछन् । जसले गर्दा युवालाई विदेश जानेभन्दा यहीं केही गर्न सकियो भने फाइदा हुने गैरेको भनाइ छ ।

स्थानीय तहबाट कृषिका लागि बजेट नछुट्टिएकामा भने उनीहरू चिन्तित छन् । तर पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनले समूहमा काम गरेको छ । व्यक्तिगत कृषक र समूह साथै सहरकारीमा आवद्ध गराएर आर्थिक सहजिकरण, कृषि यन्त्रलगायत सहयोग गरेको छ । वरिष्ठ कृषि अधिकृत रामप्रसाद पाण्डेयका अनुसार अर्गलीका कृषकलाई स्थानीय तहबाट बजेट नआए पनि परियोजनाले सहयोग गर्ने बताए ।

स्रोत: www.kantipurdaily.com/pradesh-5/2018/02/11/20180211124750.html