नवीनराज कुइँकेल, अन्नपुर्ण पोस्ट, आइतवार, फागुन २७, २०७४
बेंसीसहर : दैलोअगाडि विद्युत् उत्पादन भएको नौ वर्ष भइसक्यो। ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युतको बाँधगृहमा बालिएको बिजुलीको उज्यालो दैलोसम्म आइपुग्छ। तर, बेंसीसहर नगरपालिका–११ चितीको बरबोटमा रहेका चेपाङबस्तीमा उज्यालो छाउन सकेको छैन। मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले ०६५ सालबाट विद्युत् उत्पादन सुरु गरेको हो।
मध्यमस्र्याङ्दीको बाँधस्थल चितीमै पर्छ। बाँधस्थलबाट सबभन्दा नजिकको गाउँ चिती बरबोट हो। लमजुङमा ०५३ सालबाट सामुदायिक विद्युतीकरण सुरु गरिएको हो। सो समयमा स्थापना भएको लमजुङ विद्युत् उपभोक्ता संस्थाले हाल लमजुङ र तनहुँका गरी २८ हजार बढी ग्राहकलाई विद्युत् वितरण गरेको छ। विद्युतीकरणमा नेपाल विद्युत् प्राधिकरण, तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समितिले करोडौं खर्च गरेका छन्।
चितीको बरबोटमा रहेको चेपाङ बस्तीमा भने कसैको आँखा पुगेको छैन। विद्युतीकरण नहुँदा चेपाङ बस्ती अन्धकारमा छ। बस्तीका नौ घरमा विद्युत् सेवा छैन। चिती र हिलेटक्सार गाविसमा गरी लोपोन्मुख चेपाङको १२ घर छन्।
७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत्को बाँधगृहमा बालिएको बिजुलीको उज्यालो दैलोसम्म आइपुग्छ। तर, बेंसीसहर नगरपालिका–११ चितीको बरबोटमा रहेका चेपाङबस्तीमा उज्यालो छाउन सकेको छैन।
चिती बरबोटफाँटमा बस्ने नौ घरपरिवार चेपाङको अवस्था बिहान खाए बेलुका के खाऊँ, बेलुका खाए बिहान के खाऊँको छ। जेनतेन बस्न खाबो गाड्ने जमिनसम्म जोडेका चेपाङको त्यसबाहेक उब्जनीका लागि कुनै जमिन छैन। बाह्रै महिना निमेकको भरमा बाँच्ने गरेका चेपाङ बिरामी परेका बेला मुखमा माडसमेत नलाग्ने अवस्थामा बाँच्न विवश छन्।
चेपाङ संघ लमजुङकी अध्यक्ष अमृता चेपाङले गाउँमा विद्युत् सेवा नहुँदा समस्या परेको बताइन्। ‘हिजोआज बजारमा मट्टीतेल किन्न पाइँदैन। मैनबत्ती महँगो पर्छ’, चेपाङले भनिन्, ‘धेरै पटक धेरैलाई भन्यौं खै बत्ती अझै पाइएन।’ घरै अगाडि ठूलो जलविद्युत् आयोजना बन्दा पनि अँध्यारोमा बस्नुपरेको भन्दै उनले दुखेसो पोखिन्। ‘सरकार पनि टाठाबाठालाई मात्र हेर्दोरहेछ’, स्थानीय राजु चेपाङले भने, ‘जति हारगुहार गर्दा पनि कसैले गाउँमा बत्ती ल्याइदिएनन्।’ उनले बत्ती नहुँदा केटाकेटीलाई पढ्न लेख्न, रेडियो, टिभी चलाउन समस्या भएको बताए। लमजुङ विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले छिट्टै चेपाङ बस्तीमा विद्युत् सेवा प्रदान गरिने बताए। ‘यसअघि विविध कारणले ढिला भएको उनको भनाइ छ।
स्रोत: http://annapurnapost.com/news-details/92998