दोस्रो चरणको मतदानका लागि पनि खुले निर्वाचन कार्यालय

October 26, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ०९ कार्तिक २०७४ 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दोस्रो चरणमा हुने निर्वाचनका लागि विहिबार ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । 

निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनको तयारी स्वरुप ती कार्यालय स्थापना गरेको हो । आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापनाकै दिनबाट पूर्णरुपमा सञ्चालनमा छन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६  निर्वाचन क्षेत्रमा निर्वाचन हुने छ । 

दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि २०७४ कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने प्रतिनिधिसभा र सबै प्रदेशसभाका लागि दलहरुले यसअघि नै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाइसकेका छन् । 

पहिलो चरणमा हिमाली क्षेत्रमा पर्ने ३२ जिल्लामा (प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि) मंसिर १० मा हुने निर्वाचनका लागि यसअघिनै उम्मेदवारी दर्ता भइसकेको छ ।

स्रोत:http://bit.ly/2ySlrfE

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More