News

धरहरा पुनर्निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान

June 30, 2017

दामोदर न्यौपाने, कान्तिपुर दैनिक, असार १६, २०७४

भुइँचालोले भत्काएको धरहरा पुनर्निर्माणका लागि ‘ड्रइङ डिजाइन’ र लागत अनुमान (कस्ट इस्टिमेट) तयार भएको छ । पुरातत्त्व विभागका अनुसार धरहरा पुनर्निर्माणको जिम्मा टेलिकमलाई दिन पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय र सूचना तथा संचार मन्त्रलायबीच सम्झौता पत्र तयार हुँदैछ । 

धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गा दिएको छ । पहिला धरहरा भएको ५ रोपनी जग्गामा मात्रै पुनर्निर्माण गर्दा राम्रो नहुने भन्दै पुरातत्त्व विभागले सरकारसँग जग्गा माग्दै आएको थियो । धरहरा पुनर्निर्माणको जिम्मेवारी नेपाल टेलिकमलाई दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । यसको निर्माण लागत ३ अर्ब लाग्ने अनुमान रहेको पुरातत्त्व महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । 

सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धरहरा बनाउन दिने निर्णय केपी ओली नेतृत्वको सरकारले गरिसकेको छ । सरकारले ती दुई कार्यालयलाई अन्यत्र जग्गा उपलब्ध गराइदिनेछ । जग्गा पाएपछि पुरातत्व विभागले पूरै क्षेत्रफलमा संरचना बनाउने गरि विस्तृत डिजाइन गरेको महानिर्देशक दाहालले जानकारी दिए । धरहरा पुरानै स्वरुपको हुने भएपनि विशेष सुविधाजनक हुनेछ । 

भुइचालोले भत्काएको धरहरालाई जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन गरिएको हो । पहिलो चरणमा भने भत्केको धरहराको क्षेत्रलाई सफा गरिनेछ । भत्केको ठाउँ रातो देखिएको छ । रातो ठाउँलाई रंगरोगन गरेर संरक्षण गरिनेछ । गोस्वारा हुलाक कार्यालयअगाडिको आकासे पुलबाटै धरहराको क्षेत्र सुरु हुनेछ । धरहराको विस्तृत डिजाइन गरेका इन्जिनियर विष्णु पन्थीले भने, ‘प्रवेशद्वारबाट सुन्धारा गार्डेन सुरु हुनेछ । गोस्वारा हुलाक कार्यालयदेखि कर्मचारी सञ्चयकोष भवन छेउसम्मको क्षेत्रलाई सुन्धारा गार्डेनभित्र समेटिनेछ ।’ धरहरा पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एसोसियट्स जेभीलाई पुरातत्त्वले जिम्मा दिएको थियो । दुई महिनाभित्र काम सक्ने गरी गत वर्षको असार २६ गते ती दुई कन्सल्टेन्सीलाई जिम्मा दिइएको थियो । तर काम सक्न भने झन्डै एक वर्ष लागेको थियो । 

तयार पारिएको डिजाइनअनुसार गार्डेनको छेउमा तीनतले पार्किङ स्थल बन्नेछ । सुन्धारालाई धरहरा क्षेत्रभित्रै राखिनेछ भने यसको पुनर्निर्माण गरी भर्‍याङ बनाइनेछ । भर्‍याङ तीन सय जनासम्म हिंड्न सक्ने क्षमताको हुनेछ । यहाँ राखिने पानीको फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायत सामान संग्रहालयमा राखिनेछ । यसबाहेक गिफ्ट सप, सानो थिएटरलगायत पूर्वाधारसमेत बनाइने डिजाइनमा उल्लेख छ । यसलाई अपांगमैत्री पनि बनाइनेछ । 

नयाँ बनाइने धरहरा पहिलेको जत्ति नै २ सय ४५ फिटको हुनेछ । यहाँको माटोमा यति उचाइको बनाउन उपयुक्त छ कि छैन भनेर माटो परीक्षण भइरहेको विभागका महानिर्देशक दाहालले जानकारी दिए । 

धरहरा भीमसेन थापाले बनाउन लगाएका हुन् । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार थापाले धरहरा बनाएर पहिलोपल्ट पाश्च्यात्य शैलीको संरचना नेपाल भित्र्याएका थिए । थापाले आफ्नो निवास बागदरबार छेउमै विसं १८८१ सालमा धरहरा बनाउन लगाएका थिए । उनले यो धरहरा बनाएपछि रानी ललित त्रिपुरासुन्दरीले १८८२ मा अर्काे धरहरा बनाउन लगाइन् । बज्राचार्यका अनुसार यी दुईमध्ये थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा १९९० सालको भूकम्पले ढल्यो । अहिलेको धरहरामा चाहिं आंशिक क्षति मात्रै पुगेको थियो । ९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहराको क्षति भइसकेको थियो । ११ तले धरहरालाई १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलामा झारेर पुनर्निर्माण गर्न लगाएका थिए । 

धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इटाको गाह्रो थियो । यसको डिजाइन मुगल कालिगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज बनाई सुनको जलप लगाइएको धातुको गजुर राखिएको थियो । यसको निर्माणमा मुस्लिम धर्मको प्रभाव परेको बज्राचार्य बताउँछन् । ‘के हिन्दु, के मुस्लिम, के इसाइ,’ पन्थी भन्छन्, ‘अब धरहरा सबैको भइसक्यो ।

यो राष्ट्रिय सम्पत्ति हो । अब बन्ने धरहरा पनि मुगल आर्टिटेक्टले गरेको डिजाइनमा आधारित हुनेछ । ’

अब ८ रेक्टरसम्मको भुइँचालोले भत्काउन नसक्ने गरी यसको पुनर्निर्माण गरिने महानिर्देशक दाहालले दाबी गरे । दैवी प्रकोपलाई ध्यान दिएर अब भन्ने धरहरासम्म उद्धार साम्रग्री पुग्न सक्ने व्यवस्था हुनेछ । ‘अब पुनर्निर्माण हुँदा पहिलाको संरचनाका बारेमा विस्तृत अध्ययन हुन जरुरी हुन्छ,’ दाहाल भन्छन्, ‘अब पनि वैज्ञानिक संरचनागत अध्ययन अनुसन्धान गरिएन भने भविष्यमा फेरि प्रकोपमा पर्न सक्छ ।’

स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-30/20170630080205.html