कारोबार आर्थिक दैनिक, ०४ माघ २०७४
चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ । गत आर्थिक वर्षमा इतिहासकै अत्यधिक धान उत्पादन भए पनि यस वर्ष भने परिमाण केही घटेको छ । कृषि मन्त्रालयका अनुसार गत वर्ष ५२ लाख ३० हजार टन धान फलेकोमा यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेको हो ।
धान उत्पादनको प्रमुख क्षेत्र मानिने पूर्वी तराईमा आएको डुबानका कारण धानखेत प्रभावित भए पनि धानको उत्पादकत्वमा वृद्धि भएका कारण समग्र उत्पादनमा न्यून मात्रमा कमी आएको कृषि विकास मन्त्रालयले जनाएको छ । “यो वर्ष बाढी, पहिरो र डुबानका कारण धान उत्पादनमा भारी मात्रामा कमी आउने अनुमान गरिएको थियो तर उत्पादकत्व बढेका कारण उत्पादन धेरै घट्न पाएन,” कृषिसचिव डा. सुरोज पोखरेलले भने, “बीउ, मलको समयमै उपलब्धता र समयमा पानी परेकाले पनि धानको उत्पादनकत्वमा वृद्धि भएको हो ।” उनले रोपाइ कम हुनु, कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुनु र डुबानका क्रममा बालुवाले धान पुरेका क्षेत्रमा उत्पादन घटेका कारण समग्र उत्पादनमा वृद्धि हुन नसकेको बताए ।
मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धान रोपाइँको क्षेत्र भने ५.३४ प्रतिशतले घटेको तथ्यांक छ भने उत्पादकत्व ४.०६ प्रतिशतले बढेको छ । गत आवमा धानको उत्पादकत्व प्रतिहेक्टर ३ हजार ३ सय ६९ रहेकोमा यो वर्ष उत्पादकत्व ३ हजार ५ सय ६ टन पुगेको छ । मौसमको अनुकुलताका कारण गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष ०७२-७३ को तुलनामा २१.६६ प्रतिशत बढी धान फलेको हो । धान उत्पादनमा १० प्रतिशतले कमी वा वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले वृद्धि वा घटी हुँदै आएको तथ्यांक छ । यस हिसावले गत वर्ष कुल ग्रार्हस्थ्य उत्पादनमा धान उत्पादन वृद्धिका कारण २ प्रतिशत योगदान पुगेको थियो । पछिल्लो २७ वर्षमा धान उत्पादनको दर वार्षिक ४ प्रतिशतले बढ्दो क्रममा रहेको मन्त्रालय वरिष्ठ तथ्यांकविज्ञ रामकृष्ण रेग्मीले बताए ।
चालू आवमा पनि सवैभन्दा बढी धान साविक पूर्वाञ्चलमा १४ लाख ५४ हजार टन धान फलेको छ । यो उत्पादन गत वर्षको भन्दा ०.७५ प्रतिशतले बढी हो । गत वर्ष धान पहिलो क्षेत्रका रुपमा रहेको साविक मध्यमाञ्चल क्षेत्रको उत्पादनमा भने ७.२३ प्रतिशतले कमी आएको छ । गत वर्ष १४ लाख ९८ हजार टन धान फलेकोमा यो वर्ष १३ लाख ९० हजार टन मात्र फलेको छ । यो वर्ष पश्चिमाञ्चल क्षेत्रमा १० लाख ८८ हजार टन धान फलेको छ भने मध्यपश्चिममा ६ लाख १८ हजार टन धान उत्पादन भएको छ । यी दुवै क्षेत्रको उत्पादनमा गत वर्षभन्दा झिनो वृद्धि भएको हो । सुदुरपश्चिममा ६ लाख टन धान फलेको छ, जुन गत वर्ष भन्दा १.२० प्रतिशतले बढी हो ।
नेपालमा धानको उत्पादन ४० लाख टनदेखि ५० लाख टनसम्म रहने गरेकोमा हालसम्म चारवटा आवमा मात्र ५० लाख टनमाथि पुगेको देखिन्छ । मन्त्रालयका अनुसार आव ०७०-७१ मा ५० लाख ४७ हजार टन र ०६८-६९ मा ५० लाख ७२ हजार टन धान फलेको थियो । गत आवबाट भने निरन्तर ५० लाख टनभन्दा माथि देखिएको हो । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दशकमा सबैभन्दा कम धान उत्पादन आव ०६६-६७ मा ४० लाख २३ हजार टन उत्पादन भएको थियो । धान उत्पादनमा सबैभन्दा बढी वर्षाको प्रभाव रहने प्रवृत्ति रहेकाले मौसम अनुकुल हुँदा धानको उत्पादन बढ्ने र मौसम प्रतिकुल हुँदा घट्ने देखिएको धानविज्ञ भोलामानसिंह वस्नेतको भनाइ छ । धान मुलुकमै प्रमुख खाद्यान्न बालीसमेत हो ।